धनुषामा फेला परेकी संक्रमित महिला चैत ९ गते भन्दा पहिले भारतबाट आएको खुलेको छ । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले धनुषामा २० वर्षीया महिला र ४० वर्षीय पुरुषमा कोरोना संक्रमण रहेको पुष्टि गरेको थियो ।
संक्रमित महिला धनुषा जिल्लाको मिथिला नगरपालिकाकी हुन् । धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाका अनुसार ती महिला चैत ९ गते भन्दा पहिला नै भारतबाट आएकी थिइन् । कुनै लक्षण नदेखिएकोले ती महिला आफ्नै घरमा बस्दै आएकी थिइन् ।
त्यस्तै संक्रमित पुरुषको बारेमा अहिले कुनै जानकारी नरहेको प्रमुख जिल्ला अधिकारी निरौलाले बताएका छन् । उनले भने, ‘हामी संक्रमित पुरुषको खोजी गर्दै छौँ । अहिले हाम्रो सम्पर्कमा आएका छैनन् ।’
त्यस्तै महोत्तरीमा फेला परेका संक्रमितहरु पनि प्रशासनको पहुँचभन्दा बाहिर रहेका छन् । महोत्तरीका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले अहिले संक्रमित आफूहरुको सम्पर्कमा नरहेको बताए । उनले भने, ‘संक्रमितको संख्या स्वास्थ्य मन्त्रालयले दिएको हो । हामीलाई यस सम्बन्धमा अहिलेसम्म कुनै जानकारी छैन् ।’
त्यस्तै सर्लाहीमा फेला परेका ४५ वर्षीय संक्रमितको मानसिक स्थिति खराब रहेको खुलेको छ । सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीका अनुसार संक्रमित पुरुषको मान्सिक संतुलन गुमेको र उनको जनकपुरबाटै स्वाब संकलन गरि परीक्षण गरिएको हो ।











