नेकपा एमालेले आगामी आर्थिक वर्षमा सञ्चालित हुने कार्यक्रमहरु किसानमैत्री बनाउन ध्यानाकर्षण गराएको छ । जिल्ला कृषि विकास कार्यालय सिन्धुलीका प्रमुखलाई उनकै कार्यकक्षमा भेटगर्दै विगतमा जस्तो टाठा बाठा किसानलाई नभई तल्लो तहका आधारभूत किसान वर्गलाई माठि उठाउनेगरी कार्यक्रम सञ्चालन गर्न आग्रह गरेको हो ।
छलफलका क्रममा एमाले बागमती प्रदेश कमिटीका सचिवालय सदस्य शान्तिमान कार्कीले किसानहरुलाई अनुदानमुखी भन्दा पनि व्यवसायिक बनाउनेतर्फ अग्रसर बनाउने कार्यक्रमहरु समावेश गर्न सुझाब दिएका छन् । उनले साना अनुदानका कार्यक्रमले किसानहरुको जीवनस्तर माथि उकास्न सक्तैन भन्दै आगामी वर्षको योजनामा व्यवसायिक उत्पादनमा जोड दिनेगरी कार्यक्रम ल्याउन सुझाएका थिए ।
एमालेकै बागमती प्रदेश कमिटी सदस्य प्रल्हाद पोखरेल र बिनोद खड्काले कार्यालयबाट विगतमा दिइने गरिएको अनुदान कार्यक्रममा कमजोरी रहेको र त्यहाँबाट प्रवाह गरिएका सेवाहरु तल्लो तहका आभारभूत किसानहरुका लागि नभएको बताउँदै आउँदो आर्थिक वर्षमा किसान मैत्री कार्यक्रम सञ्चालन गर्न सुझाव दिएका थिए ।
उनीहरुले संघीयतामा गएसँगै स्थानीय तहबाट किसानहरु मर्कामा परेको र कृषि कार्यालयबाट जारी गरिएका सूचनाहरु वास्तबिक किसानहरु समक्ष पुग्नै नसेकेको बताएका थिए । उनीहरुले कृषि विकास कार्यालयबाट वितरण भएका अनुदानका कार्यक्रमहरुको अभिलेख हेर्ने हो भने घुमाई फिराई एउटैले राज्यको अनुदान पाइरहेको तथ्य खुलासा गरेका थिए ।
नेकपा एमाले सिन्धुलीका अध्यक्ष महेन्द्रदेव श्रेष्ठले कृषि विकास कार्यालयबाट आगामी आर्थिक वर्षमा राखिने योजनाहरु कागजी किसानलाई भन्दा वास्तबिक किसानहरु तर्फ लक्षित हुनु पर्ने बताए । उनले सिन्धुलीको पहिचाननैं कृषि उत्पादन भएकाले किसानहरुको सम्बृद्धि बिना सिन्धुलीको सम्बृद्धि सम्भब नहुने कुरामा जोड दिएका थिए ।
नेकपा एमाले जिल्ला सचिव नवराज थिङले विगतमा भएका मेसिनरी अनुदान कार्यक्रमबाट किसानहरु ठगिएको र अनुदानमा भन्दा बाहिर पसलका सामानहरु सस्तो हुने गरेको तथ्य औंल्याउँदै तल्लो तहका किसानहरुले अनुदानका कार्यक्रममा समावेश हुनका लागि आवश्यक कागजपत्र मिलाउनै नसक्ने बताए ।
उनले साना तिना अनुदानका कार्यक्रम भन्दा परिणाममुखी कार्यक्रम सञ्चालन गरेर किसानहरुलाई व्यवसायिक उत्पादन गर्न प्रेरित गर्ने र उत्पादनका आधारमा अनुदानको व्यवस्था मिलाउन सुझाब दिएका थिए ।
कार्यक्रममा एमाले बागमती प्रदेश कमिटी सदस्य निर्मल रम्तेल, सिन्धुलीका उपसचिव दिपेश बराल, हरि अधिकारीलगायतका नेताहरुको उपस्थिति रहेको थियो । यो समाचार आजको सन्देश जनप्रिय साप्ताहिकले लेखेको छ । -पवन राउत