सिन्धुली सम्बृद्धिको खाका प्रस्तुतगर्दै केही समय अगाडि सकिएको ८ औं जिल्ला अधिवेशनपछि अहिले पालिका अधिवेशनको कामहरु अगाडि बढाएको छ । एमाले सिन्धुलीले स्थानीय पालिका कमिटीहरुलाई सर्वसम्मत रुपमा नेतृत्व चयन गर्न सुझाएसँगै जिल्ला अधिवेशनमा देखिएको मतभेदहरु पालिका अधिवेशनसम्म पुग्दा मेटाउने प्रयास गरिरहेको छ ।
आउँदो मिसन ८४ का लागि बलियो कमाण्डर छान्न र पार्टीलाई बिधिसम्मत ढंगले संचालन गर्नका लागि सर्बसम्मत रुपमा पालिका कमिटी चयन गर्नुपर्ने एमाले नेतृत्को प्रमुख दायित्व पनि हो । विगतमा कमिटीगत प्रणालीहरु कमजोर बन्दा वडा तथा पालिका कमिटीको शिफारिश बिनानैं सिधै जिल्ला कार्यालयबाट सदस्यता प्रदान गर्ने परिपाटीलाई सिन्धुली एमालेले करेक्सन गर्दै स्थानीय पालिका कमिटीहरुलाई मजबुत र तल्लोतहबाट आएका सदस्यहरुलाई मात्रै प्रदेश कमिटीमा पठाउन जरुरी छ ।
अहिले एमालेको पदाधिकारी र समितिको आकार जम्बो हुँदा पार्टी चुस्त हुन नसकेको प्रस्ताव केही समय अगाडि ललितपुरको गोदावरीमा भएको प्रतिनिधी परिषद बैठकमा प्रस्तुत भएको थियो । त्यसैले पदाधिकारी संख्या घटाउने, समितिको आकार सानो बनाउनेदेखि पार्टी सदस्य हुन आवश्यक प्रक्रिया पुरा गर्नुपर्ने जस्ता प्रस्तावमाथि छलफल गरिनुपर्ने र आर्थिक अपचलन र सांस्कृतिक रुपान्तरणको समेत खाँचो औल्याइएको थियो । जुन आफैंमा सकारात्मक कदम हो र त्यसलाई मातहत कमिटीले अनुशरण गर्न जरुरी पनि छ ।
पार्टी सदस्यको योग्यतादेखि सिन्धुली सम्बृद्धिको प्रस्ताव पारित गरेको एमालेले आगामी वर्षको योजनामा त्यसलाई जोडेर लैजान र चियावारी खुर्कोट सुरुङ मार्गलाई अगाडि बढाउन सचेत पहल जरुरी देखिएको छ । एमालेले अगाडि सारेको सम्बृद्धिको संकल्प यात्रासँगै अगाडि बढाएको मध्यपहाडी क्षेत्रको विकासका लागि चियावारी खुर्कोट सुरुङमार्गको काम अगाडि बढाउने सन्दर्भमा एमालेको खबरदारी अझ जरुरी छ ।
अहिले सबैजसो दलहरुले उठाएको बिकासका एजेण्डाहरु अलपत्र छन् । यस्तो अबस्थामा एमालेले अगाडि बढाएको यो प्रस्ताव अरु दलहरुका निम्तिसमेत अनुशरण गर्न जरुरी देखिएको छ । एमालेको निरन्तरको खबरदारी बिना जनताको एजेण्डालाई ओझेलमा पर्ने गरेको तथ्य कहीं लुकेको छैन । किनकि मुलुकको मूल एजेण्डा राजनीतिक स्थिरता, विकास र सुशासन हो । तर ठूलो संगठन बनाएर चुनाव जित्ने अनि चुनाव जितेर तिनै कार्यकर्ता संरक्षण गर्नुपर्ने चक्रमा दलहरु फसेका छन् । भ्रष्ट, अपराधी र नैतिक रुपमा पतित भएपनि कार्यकर्ता जोगाउने होडमा नेतृत्व लाग्दैन भन्ने प्रष्ट सन्देश एमालेले दिइसकेको छ ।
आर्थिक र नैतिक रुपमा योग्य एमाले र त्यसका नेता कार्यकर्ताको एजेण्डाले चुनाव जित्न सक्छ भन्ने भाष्य तयार हुँदै गएको छ । त्यसकारण पनि देश र जनताका लागि जिम्मेवार एमाले मात्रै हो भन्ने तथ्यलाई सिन्धुलीको एमाले नेतृत्वले भुल्नु हुँदैन ।