सिन्धुली एमालेको ८औं जिल्ला अधिवेशन: नेताहरू सक्किने कि सच्चिने !

नेकपा एमालेको सिन्धुलीको ८औं जिल्ला अधिवेशन आउँदो चैत्र २८ र २९ गते सिन्धुलीमा सम्पन्न हुँदैछ । राष्ट्रियता र जनजिविकाका सवालमा चट्टानी अडान लिने एमालेको मजबुत नेतृत्व र व्यवस्थित सांगठनिक ढाँचा नै सबैभन्दा ठूलो पहिचान हो र त्यही पचिहानको जगमा उभिएको सिन्धुली एमालेको ८औं जिल्ला अधिवेशनले समग्र सिन्धुलीको विकास र सम्मृद्धिको नेतृत्व गर्नुपर्दछ ।
अहिलेनैं सिन्धुली एमालेको यो वा त्यो अध्यक्ष बन्छ वा आउँछ भनेर बिभिन्न अड्कलबाजीहरु गर्न थालिएको छ । यसै महिनाको अन्त्यतिर हुने अधिवेशनबाट नेतृत्व सर्वसम्मत छनोटको हुनुपर्छ भनेर कार्यकर्ता वा प्रतिनिधी तहबाट आवाज उठेपनि त्यसलाई जिल्ला नेतृत्वले गंभीरताका साथ लिन्छ भन्ने अबस्था देखिएको छैन ।
पार्टीभित्र मौलाएको स्वार्थ समूहका कारण अधिवेशनपछि सिन्धुली एमाले चिरा चिरा परेर गाउँ पस्छ भन्नेहरूको अनुमान पूर्णतः गलत सावित गराउन पनि जिल्ला नेतृत्वहरुले विगतमा आफुबाट भएका कमी कमजोरीलाई स्वीकार्दै अगाडि बढ्नुपर्ने अबस्था छ ।
जिल्ला अधिवेशनपछि एमालेमा विग्रहको आगो दन्कन्छ र नेताहरू छताछुल्ल भएर खेमा खेमामा विभाजित भएको फाइदा उठाउन सकिन्छ कि भन्नेहरू सिन्धुलीमा प्रशस्तै छन् । अघिल्लो जिल्ला अधिवेशनमा दुई धारमा बिभक्त भएको एकताबद्ध एमालेको पंक्ति देखेर उनीहरु अचम्मित पनि छन् । एमाले सिन्धुलीमा समस्यै समस्या छ, सर्वसहमतिमा नेतृत्व चयन भयो भने त्यो अनौठो हुनेछ किनकी अहिले मैदानमा अध्यक्षको घोषणा गरेकाहरुले एकले अर्कालाई स्वीकार्न नस्कने अबस्थाले त्यही ठाउँमा लैजाने छ । तर एमाले कार्यकर्ताहरुले सार्वजनिक स्थानमा नेता कार्यकर्ताहरुले नेतृत्वको आलोचना गर्दैनन् तर मातहत कमिटीमा उनीहरुमाथि प्रश्न भने निरन्तर उठाउँदै आएका छन् ।
केही समय अगागि जबस मोर्चाको संयुक्त बैठकमा मोर्चाका इन्चार्ज भानुभक्त ढकालले सिन्धुलीको एमाले नेतृत्वलाई भनेका थिएः पहिला तपाईहरु बिधीमा चल्नुस् त्यसपछि सबैकुरा ठिक हुन्छ । उनको त्यो अभिव्यक्ति एमाले सिन्धुलीमा देखिएको स्वार्थ समूहहरु तर्फ इंकित थियो । सिन्धुली एमाले भित्रको स्वार्थ समूहका गतिविधीले अधिवेशनको आन्तरिक तयारीका काम अगाडि बढेको छ नत प्रचारात्मक कामहरुनैं । जिल्ला कमिटीको पूर्ण बैठकले गरेका निर्णयहरु मातहतका तल्ला कमिटीमा सर्कुलरनैं पुग्न नसकेको सत्यलाई स्वीकार्न सक्नु पर्दछ ।
इमानदार र दक्ष कार्यकर्ताहरुको शक्ति नै एमालेको मुख्य शक्ति हो । चलायमान जनसंगठननैं एमालेको ताकत हो । त्यसैले नेकपा एमालेलाई आजको दिनसम्म जनताको पहिलो पार्टी हुने हैसियतमा राखिराख्ने सिन्धुलीका तल्लो तहका जनताको हितका लागि संगठनहरु निर्माण र परिचालित हुनुपर्छ । त्यसका लागि नेकपा एमालेको ८ औं जिल्ला अधिवेशनले सिन्धुलीमा नेकपा एमाले सधैं जितिरहने, भुई मान्छेहरुको पक्षमा लडिरहने, समग्र राजनीति, आर्थिक, भौतिक र सामाजिक विकासमा अगुवाइ गरिरहने पार्टी संगठन निर्माण गर्न परम्परागत होइन जुझारु र सक्षम नेतृत्व चाहिएको छ ।
सिन्धुली एमालेमा संगठनभित्र मौलाएको स्वार्थ समूह र त्यसले उब्जाएको सांगठानिक अराजकतानैं आजको प्रमुख समस्या हो । व्यक्तिगत अवसरवादी चरित्रहरु हावी हुँदा संगठनभित्र लामो समय क्रान्ति, आन्दोलन र लेलिनवादी संगठनात्मक पद्धति छायाँमा परिरहेको छ । कमिटीगत प्रणालीहरु त्यसको शिकार हुँदैछन् र ऊर्जावान नौजवानहरुलाई आफ्नो छत्र छायाँमा घुमाउने संस्कारको विकास हुँदा राजनीतिक निराशा र वितृष्णा जगाउँदैछ ।
कमिटीभित्र बैठक बस्ने तरिका र निर्णय प्रक्रियाहरु फितलो हुँदै गएका छन् । पार्टी संठनका सवालमा फौजी ढाँचाको संगठन, अत्यधिक केन्द्रीकृत कार्यशैली असान्दर्भिक भैसकेका छन् । ‘कडा र अति नै फितलो’ संगठनात्मक शैली सिन्धुली एमालेका सन्दर्भमा अव्यवहारिक मात्र होइन, कार्यकर्ताले नरुचाइरहेको अवस्था छ । त्यसैले सिन्धुलीमा चलेको मिसन ग्रासरुट अभियानका क्रममा देखिएका समस्या एवम् कमजोरीको तथ्यका बीचबाट आगामी नेतृत्व चयन गर्नुपर्ने अबस्थामा अध्यक्ष केपी ओलीले भन्नुभएजस्तै पुरानो एमाले होइन नयाँ एमालेको मार्ग चित्र कोर्न सक्ने क्षमतावान एवम् मध्यमार्गी तरिकाहरु अबलम्मन गर्न सक्ने नेतृत्व चाहिएको छ ।
केही नेताहरुले यदा कदा भन्ने गरेका छन्, म एमाले सिन्धुलीको संस्थापन पक्ष हुँ । तर उहाँहरुले आफूलाई त्यसरी नेता कार्यकर्तामाझ प्रस्तुत गरिरहँदा पुरानो एमाले होइन उनीहरु अहिले (डिजिटल युगको नयाँ एमाले) महाशक्ति सम्पन्न राष्ट्रहरुले चन्द्रमामा आफ्नो स्पेश खोजेजस्तै एमाले सिन्धुलीको भविश्य र आर्थिक, सामाजिक र साँस्कृति रुपान्तरणसहितको सम्बृद्धिको सपना कोर्न सक्ने सार्माथ्य राख्दै पार्टी र संगठनलाई एकाकार बनाएर नयाँ युगको यात्रामा जान जरुरी छ ।
बैचारिक क्षमता, उसको क्रियाशिलता एवम् छनोटका आधारमा राजनीतिक अवसरहरूमा युवा पुस्तालाई आकर्षित गर्ने र अहिलेको डिजिटल युग अनुसारका सांगठनिक ढाँचाहरू निर्माण गर्नुपर्ने अहिलेको आवश्यकता हो । यो कार्यमा पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओली समावेश भइरहँदा सिन्धुली एमालेको नेतृत्वले किन पछ्यनउन सकिरहेको छैन ? अबको नेतृत्व पार्टी अध्यक्षको स्पिडलाई पक्रने र परिणामहरू देखाउन सक्ने हुनुपर्छ । सिन्धुली एमालेको अधिवेशनले सो विषयमा ठोस दिशा निर्देश गर्ने छ ।
त्यसैगरी नेकपा एमालेको संगठन विस्तारको आधार लेलिनवादी संगठनात्मक सिद्धान्त नैं हो । डिजिटल युगले राज गरेको अहिलेको युगमा उक्त सिद्धान्तलाई सिर्जनात्मक प्रयोग गर्दै आफ्नो ठाउँको विशिष्ट स्थिति अनुरुप लागु गर्दै जानुपर्ने चितवन केन्द्रीय महाधिवेशनको दिशा निर्देशलाई पछ्याउन जरुरी छ । सिन्धुली एमालेको सन्दर्भमा जनवादी केन्द्रीयता र काम कारबाहीमा एकरुपताको मर्म र भावना अनुसार नयाँ एमाले बनाउनु पर्नेछ ।

नेकपा एमालेले हालै सम्पन्न गरेको शुद्धीकरण तथा सुदृढीकरण अभियान, मिसन ग्रासरुट अभियान र मध्यपहाडी लोकमार्ग अभियानबाट निस्केको निष्कर्षका आधारमा एमालेको संगठन विस्तारका आधारहरु तय गर्नुपर्छ । पार्टीका तहगत कमिटीहरु कसरी मजबुत र चलायमान हुनसक्छन् भन्ने कुरा अभियानहरुले सिकाएकै छ । त्यसैका आधारमा जनवादी केन्द्रीयताको आधारमा तल्ला कमिटीहरुलाई जिम्मेवारीका साथै दण्ड र पुरस्कारसहितको अधिकारहरु प्रत्यायोजन गर्नसके पार्टीको ग्रासरुट अझ बलियो हुनसक्छ । त्यसैले सिन्धुलीमा पार्टी संगठन विस्तार गर्दा अधिकतम केन्द्रीयता र सीमित जनवादको मनोविज्ञानबाट नेतृत्व पंक्ति रुपान्तरित हुन आवश्यक छ । अहिलेको नयाँ पुस्ताले ‘कामको नतिजा तत्कालै निकाल्नेगरी काम गर्छ र काम गर्नेले निर्णय लिने र अधिकार पनि खोज्ने युगमा छौं । हातहातमा भएको मोवाइलले दिइरहेका सूचना र ज्ञानले प्रत्येक अहिलेका नेता, कार्यकर्ता काम र अधिकार दुवै खोज्ने हैसियतमा छन् । तसर्थ कमिटी निर्माण नयाँ एमाले बनाउने सोचबाट अगाडि बढ्नुपर्छ ।
सिन्धुली समृिद्धको खाका !
एमाले सिन्धुलीले यो अधिवेशनदेखि ‘समृद्ध सिन्धुली, सुखी सिन्धुलीबासी’लाई बहसमा ल्याएको छ । निष्ठाको राजनीति, कुशल सांगठनिक व्यवस्था र जनताका समृद्धिमा आधारित आर्थिक प्रतिवेदनहरू अधिवेशनको हलमा पेश गरिंदै छ । परम्परागत ढाँचालाई त्याग्दै सिन्धुली एमालेले राजनैतिक र सांगठानिक प्रतिवेदनसँगै अलग रुपमा सिन्धुलीको सम्बृद्धिको मार्थ चित्रसहितको अलग दस्तावेज प्रस्तुत गरिंदैछ । यस अर्थमा पनि एमालेको ८ औं जिल्ला अधिवेशन ऐतिहासिक रुपमा सम्पन्न हुँदैछ । परम्परागत प्रतिवेदनहरूमा यस पटकबाट आर्थिक समृद्धिको प्रतिवेदन पनि थप गरिएको छ । अब एमालेले राजनीतिको हरेक एजेन्डामा जनताको समृद्धिका योजना एकै साथ लिएर जाने म्यान्डेट जिल्ला अधिवेशनले दिंदै छ । त्यसैले एमाको राजनीतिमा समृद्धिको दृष्टिकोण अबको लक्ष्य हुनेछ ।
नेपाली बाम राजनीतिमा विगतका काम कारबाहीले सर्वाधिक रूचाइएको दल नेकपा एमाले नै हो भन्ने तथ्य निर्वाचनको परीक्षणले देखाएको छ । सबैभन्दा विश्वास र भरोसा नेकपा एमालेलाई नै गरेको देखाएको छ । समकालीन नेताहरूमध्ये अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई नैं नेपाली जनताले राजनैतिक मियो ठानेको अवस्था छ । त्यसैले सिन्धुली एमालेले त्यही मियो छान्न जरुरी छ, जसले पार्टी केन्द्रको कार्यदेशलाई मिनी ओलीका रुपमा जिल्ला पार्टीको नेतृत्वगर्दै आफु सुधारिने, नेता कार्यकर्तामा सुद्धिकरणको भाव पैदा गराउँदै कार्यान्वयन तहमा लैजाने, परम्परागत कमिटी प्रणालीहरु, पार्टी र नेता सुधार्दै सिन्धुलीको धमिलो राजनीतिलाई सफेद बनाउनु पर्ने महान जिम्मेवारी पनि एमाले सिन्धुलीको काँघमा आएको छ । यो महान जिम्मेवारी पुरा गर्न एमाले जिल्ला नेतृत्वले सक्किने होइन, सच्चिने दर्बिलो शंकल्पको मार्ग चित्रसहित अगाडि बढ्न जरुरी छ ।- –सन्देश जनप्रिय साप्ताहिक