माओवादी केन्द्रका दुई दर्जन बढी नेता कार्यकर्ता एमालेमा समाहित, एमालेनैं कम्युनिष्टहरुको केन्द्र भएको निश्कर्ष

एमाले र माओवादी बीचको सत्ता सहकार्यको प्रक्रिया अगाडि बढेका बेला सिन्धुलीमा भने माओवादी केन्द्र छाडेर एमालेमा समाहित हुनेक्रम बढेर गएको छ । आज शनिवार मात्रै माओवादी केन्द्र कमलामाई नगरपालिका वडा नं. १२ का २ दर्जन भन्दा बढी नेता कार्यकर्ता एमालेमा समाहित भएका हुन् । एक कार्यक्रमका बीच एमाले केन्द्रीय सदस्य मनोजजंग थापाले नेकपाको निरन्तरताको रुपमा एमालेमा समाहित हुनुहुनेहरुलाई अबिर र खादा लगाएर पार्टीमा स्वागत गर्नुभएको हो ।
एमालेनैं नेपाली कम्युनिष्टको मूल प्रवाह भएको तथ्यलाई स्वीकार्दै माओवादी केन्द्रका नेता खिलवहादुर चौहानको नेतृत्वमा तीन दर्जन बढी नेता कार्यकर्ता एमालेमा सामाहित हुनुभएको हो । एमाले जिल्ला कमिटी उपाध्यक्ष कर्ण घिसिङका अनुसार माओवादी केन्द्रका स्थानीय नेता रबिन्द्र खपांगी मगर, कुलवहादुर मगर, दिलवहादुर थिंग, लालवहादुर घिसिङ, कुवेर भुजेल, खेमवहादुर बिक, सन्तवहादुर भुजेल, फडिन्द्र चौहान, प्रेमवहादुर राना, सोमवहादुर सार्की, चन्द्रवहादुर सार्की, डोरवहादुर बुढाथोकी, तिलक हायू, मित्रमायाँ हायू, सितामायाँ हायू, रामवहादुर कार्की, एकलाल विक, भुवन विक, कर्णवहादुर खपांगी चेतवहादुर खपांगी लगायत रहेका छन् ।
एमाले कमलामाई १२ नम्बर वडा कमिटीद्धारा आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै एमाले केन्द्रीय सदस्य मनोजजंग थापाले नेपालमा फेरी बामपन्थी पार्टीहरु बीच ध्रुविकरण बढिरहेको र एमालेलाई नेपाली कम्युनिष्ट आन्दोलनको मूल प्रवाहको रुपमा स्वीकारगर्दै पुरानो नेकपाको निरन्तरताका रुपमा पार्टीमा सामाहित हुनेहरुको संख्या अहिले देशैभर बढिरहेको बताउनु भयो । उहाँले सत्तामा बसेर नाजायज काम गर्ने माओवादी केन्द्रका नेताहरुको कार्यशैलीका कारणले सो पार्टी परित्याग गर्ने क्रम बढेर गएको उल्लेखगर्दै सो पार्टीमा रहनुभएका सम्पूर्णलाई सत्य र न्यायको पक्षमा उभिंदै एमालेमा एकाकार हुन अपीलसमेत गर्नुभयो ।
माओवादी केन्द्र परित्याग गरेर नेकपाको निरन्तरताको रुपमा एमालेमा समाहित हुनुभएका खिलवहादुर चौहानले सिन्धुली माओवादी केन्द्र पार्टीको रुपमा नभई व्यक्तिगत समूहका रुपमा रुपान्तरण भएको र विधि पद्धतिलाई बसाल्ने भन्दा अराजकता बढिरहेकाले सो पार्टीमा बसेर बर्गिय मुक्ति सम्भब नदेखेको बताउनु भयो । माओवादी भित्र अराजकता मौलाएको र त्यसको विरोध गर्नेहरुलाई पाखा लगाउने काम जिल्ला नेतृत्वबाट भएकाले सो पार्टीबाट बिद्रोह गरिएको उल्लेख गर्नुहुँदै उहाँले सिन्धुलीका सम्पूर्ण पार्टी नेता कार्यकर्तालाई नेकपाको निरन्तरको रुपमा एमालेमा संगठित हुन पनि अपील गर्नुभयो । कार्यक्रममा एमाले सिन्धुलीका उपाध्यक्ष कर्ण घिसिङ, नेताहरु खड्गवहादुर खत्री, बिनोद खड्का, नगरअध्यक्ष महेन्द्रद्व श्रेष्ठ, सचिव कृष्णहरी घिमिरे लगायतका लगायतको उपस्थिति रहेको थियो ।
यस अगाडि मोहन बिक्रम सिंह नेतृत्वको नेकपा मसाल (राष्ट्रिय जनमोर्चा) र मोहन बैद्य नेतृत्वको क्रान्तिकारी माओवादीको सिंगो जिल्ला कमिटी एमालेमा समाहित भएको थियो । एमालेका उपमहासचिव विष्णु रिमालले मरिणमा आयोजित कार्यक्रमका बीच पार्टीमा स्वागत गर्नुभएको थियो ।