मरिणमा शहिद परिवार सम्मानित

सिन्धुली/२९ औं जनयुद्ध दिवसको अवसरमा मरिण गाउँपालिकाले सहिद परिवार सम्मान एवं नगद हस्तान्तरण र छात्रवृत्ति वितरण गरेको छ । मरिण गाउँपालिका अध्यक्ष विमर्श मोक्तान(प्रख्यात)को अध्यक्षता तथा बागमती प्रदेश सांसद मातृका भट्टराई (बसन्त) को प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सो गाउँपालिकाका ३९ जना सहिद परिवारलाई नगद हस्तान्तरण र ७१ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै बागमती प्रदेशका सांसद भट्टराईले देश र जनताको हित र अधिकारका लागि जनयुद्धमा जिवन त्याग गर्ने सहिद प्रति १ दिन मात्रै नभई हरेक दिन सम्मान गदैँ सहिदहरुले देखाएको बाटोमा अघि बढिरहेको बताउनुभयो ।

संघीय गणतन्त्र प्राप्तिको लागि सहिदको महत्वपूर्ण भूमिका भएको हुँदा शहिदहरुको योगदानको कदरको लागि मरिण गाउँपालिकाले प्रत्येक वर्ष कार्यक्रम गर्दै आइरहेको छ । सो अवसरमा ३९ जना सहिद परिवारलाई सम्मान गर्नुका साथै प्रतिव्यक्ति २० नगद हस्तान्तरण गरिएको हो । अध्यक्ष मुक्तानको कार्यकालभर सहिद परिवारलाई एक लाख रकम पुर्याउने लक्ष्य राखिएको छ ।

यो समाचार आजको सन्देश जनप्रिय साप्ताहिकले लेखेको छ ।