सिन्धुलीः सिन्धुलीको मरिण गाउँपालिकाका जनप्रतिनिधीहरुलाई एक दिने क्षमता विकास तालिम दिइएको छ । उज्यालो नेपाल सिन्धुलीको आयोजना तथा वागमती प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा एक दिने क्षमता विकास तालिम दिइएको हो ।
मरिण गाउँपालिका अध्यक्ष विमर्श मोक्तान प्रख्यातको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पालिकाका ७ वटै वडाका वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु एवम् दलित, महिला तथा वडासदस्यहरुलाई कार्यसम्पादन गर्न सहज होस् भन्ने उदेश्यले एक दिने क्षमता विकास तालिम सञ्चालन गरिएको उज्यालो नेपाल सिन्धुलीका अध्यक्ष धुर्वकुमार बस्नेतले बताए ।
कार्यक्रममा प्रमुख अतिथिका रुपमा बोल्दै अध्यक्ष मोक्तानले पालिकाका जनप्रतिनिधीहरुको क्षमता विकास गर्नका लागि, उनीहरुलाई कानूनी कुराहरु वारे जानकारी गराउने वा कानूनी जटिलता वारे सिकाउने यस्ता कार्यक्रमहरु सुरुवाती वर्षहरुमैं गर्न पाएको भए यसले कार्यसम्पादन गर्ने क्रममा धेरै सहजता ल्याउने थियो भन्दै कार्यक्रमको प्रशंसा गरेका थिए ।
उनले हाम्रो संविधानले स्थानीय तहलाई दिएको अधिकार र जनप्रतिनिधीको क्षमताका कारणले टकराब उत्पन्न भइरहेको बताउँदै अध्यक्ष मोक्तानले पाएजति अधिकार प्रयोग गर्न नसकेको बताए । उनले भनेः कानूनले दिए जति अधिकार मरिण गाउँपालिकाले प्रयोग गर्न पाउने हो भने मरिण सम्मृद्ध हुन समय लाग्ने छैन ।
गाउँ गाउँमा सिंहदरवारसँगै जनताको अधिकारहरु आएको विषयलाई केही मानिसहरुले गलत व्याख्यागर्दै सिंहको हुल आएको जस्ता गलत टिप्पणी भइरहेको अध्यक्ष मोक्तानको भनाई छ ।
निर्वार्चित भएर आएदेखी जनप्रतिनिधीले क्षमता अभिवृद्धि सम्बन्धी कुनै पनि तालिम नलिएको बताउँदै अध्यक्ष मोक्तानले भनेका छन् ः क्षमता नभएकै कारणले हामीले कानूनले दिएको अधिकारलाई कार्यावयन गर्न नसकेको बताए ।
गाउपालिका उपाध्यक्ष बिमला माझीले वडा कार्यालय पालिका तहबाट कार्यसम्पादन हुने कामहरुमा आइपर्ने कानूनी जटिलतालाई एक दिने क्षमता विकास कार्यक्रमले सहयोग पु¥याउने कुरा बताइन् । उनले जनप्रतिनिधीले आफुले पाएका अधिकारहरु पनि थाहा पाउन नसकेको र पाएकाले पनि त्यसलाई व्यवहारमा प्रयोग गर्न नसकेको बताएकी थिइन् ।
दुई जना प्रशिक्षकहरुले जनप्रतिनिधीहरुमाथि आइपरेका कानूनी अस्पष्टताहरु, स्थानीय स्वायत्तशासन ऐन तथा नेपालको संविधानले निर्दिष्ट गरेका विषयहरुमा प्रकाश पार्नुभएको थियो । कार्यक्रममा सहभागीहरुले आफुहरुलाई यस्ता कार्यक्रमले शिफारिश, सर्जमिन लगायतमा महत्वपूर्ण सहयोग पुग्ने बताएका थिए । कार्यक्रममा मरिण गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत र पत्रकारहरुको सहभागिता रहेको थियो ।










