आफ्नो कार्यशैली बदल्छु भनेर जनताका नाममा सम्बोधन गर्नुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बुधवारनैं गोरखा पुग्नुभयो । कार्यशैली बदल्छु र नगई नहुने बाहेकका कार्यक्रम जान्न भनेको भोलिपल्ट गोरखा पुग्नुभएका प्रचण्ड दुईवटा सार्वजनिक कार्यक्रममा सहभागी हुनुभयो ।
पहिलो थियो उनकै निर्वाचन क्षेत्रमा पर्ने बारपाक सुलिकोट गाउँपालिकाको कार्यक्रम । बारपाक सुलिकोट गाउँपालिकाले आयोजना गरेको ‘स्थानीय सरकार र सरोकारवालासँग प्रधानमन्त्री’ कार्यक्रममा उहाँ ११ः४५ बजे पुग्नुभयो। कार्यक्रममा गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, सामाजिक विकासमन्त्री सुशीला शिंखडालगायत पनि सहभागी हुनुभयो ।
त्यसपछि दिउँसो ३ बजे उहाँ गोरखाकै गण्डकी गाउँपालिका–९ स्थित घ्याल्चोक ज्यामिरघाटमा पुग्नुभयो। नेपाली सेनाको हेलिकप्टर चढेर पुगेका माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डलाई नातिनी प्रतिभा, ज्वाइँ विज्ञानबाबु रेग्मी र उनको परिवारले स्वागत गरे ।
प्रचण्डकी जेठी छोरी रेनुकी छोरी प्रतिभा र विज्ञानबाबुबीच २९ मंसिरमा विवाह भएको थियो ।
केही दिनदेखि ज्यामिरघाटमै रहेका प्रतिभा र विज्ञानले आफ्नो गाउँमा आएका हजुरबा प्रचण्डलाई स्वागत गरेका थिए । उनीहरुले प्रचण्ड फर्किने बेलामा नेपाली सेनाको हेलिकप्टर अगाडि फोटो खिचाउनु भएको थियो ।

त्यसपछि उनले ज्यामिरघाटमा माओवादीको रुपान्तरण अभियानको कार्यक्रमलाई सम्बोधन गर्नुभयो । त्यो कार्यक्रममा प्रतिभा र विज्ञानबाबु पनि सहभागी भए । बारपाक आउने कार्यक्रम पूर्वनिर्धारित भए पनि घ्याल्चोक आउने कार्यक्रम आकस्मिक हो’, एक माओवादी नेताले भन्नुभयो । यो समाचार अनलाइन खबरले लेखेको छ ।
