हावाहुरीले रुख ढाल्दा कञ्चनपुरमा विद्युत सेवा अवरुद्ध

हावाहुरीका कारण रुख ढल्दा कञ्चनपुरका विभिन्न स्थानमा विद्युत सेवा अवरुद्ध भएको छ।

आइतबार साँझ आएको हावाहुरीले रुख लडाउँदा विद्युतका तार चुँडिनुका साथै पोलहरु ढलेका छन्।  तार चुँडिने र पोल ढलेकाले वेदकोट, शुक्लाफाँटा, कृष्णपुर, बेलौरी नगरपालिका र लालझाडी गाँउपालिकामा विद्युत सेवा अवरद्ध भएको छ। नेपाल विद्युत प्राधिकरण वितरण शाखा महेन्द्रनगरका अनुसार विद्युत लाइन मर्मत गर्न मात्रै दुई दिनभन्दा बढी समय लाग्नेछ।

शुक्लाफाँटा नगरपालिका क्षेत्रमा मात्रै १५ वटाभन्दा बढी पोलमा क्षति पुगेको नगर प्र्रमुख दिलबहादुर ऐरले बता । ‘हावाहुरीका कारण ठाउँ ठाउँमा रुख ढल्दा विद्युतका पोल टुटेका छन्,’ उनले भने, ‘नयाँ पोल राख्न र लाइन मर्मत गर्न समय लाग्ने भएको छ।’ हावाहुरीका कारण मानवयि क्षति नभए पनि ग्रामीण क्षेत्रमा घरका छाना उडाएको खबर आए पनि क्षतिको यकिन नआएको प्रमुख ऐरले बताए। 

भीमदत्तनगर नगरपालिकामा रहेको रेडियो महाकालीको टावर ढल्दा प्रसारण अवरुद्ध भएको छ। वडा नम्बर १० का दुईवटा घरको छाना हावाहुरीले उडाएको छ। यस्तै, वडा नम्बर ७ को एक निजी स्कुलको छत हावाहुरीले उडाएको छ। वडा नम्बर १८ मा एनसेलको टावरमा सामान्य क्षति पुगेको छ।

सोही वडाको सालघारी क्षेत्रमा विद्युतका पोलहरु ढल्दा विद्युत सेवा अवरुद्ध भएको छ।