सिन्धुलीः जिल्ला समन्वय समिति सिन्धुलीकी सभापति झरना बख्रेलले समाजमा अझै पनि छोरीले केही गर्न सक्दैनन् भन्ने मानसिकता रहेको भन्दै छोरीलाई पनि साथ र स्वतन्त्र छोड्ने हो भने नेतृत्वमा आउन सक्ने बताएकी छिन् । जिल्ला समन्वय समिति सिन्धुलीको सभापतिको पदभार ग्रहणगर्दे झरनाले शुक्रवार बिहान सो कुरा बताएकी हुन् । विकास र परिवर्तनका धेरै कुरा गरे पनि किशोरीका सवालमा भने स्थानीय निकायबाट पर्याप्त कामहरू हुन नसकेको उनले खुलाइन् ।
बख्रेल ‘गल्र्स टेक ओभर’ अर्थात् ‘बालिका तथा किशोरीलाई पद हस्तान्तरण’ कार्यक्रम अन्तर्गत जिल्ला समन्वय समिति सिन्धुलीको एक दिने प्रमुख बनेकी हुन् । सञ्चारकर्मी र विभिन्न गैर सरकारी संस्थाका अधिकारीहरु बीच भएको कार्यक्रममा समन्वय प्रमुख कारसाङ लामाले झरनालाई जिल्ला समन्वय समिति सिन्धुलीको प्रमुखको जिम्मेवारी सुम्पेका थिए ।
आफूलाई सो पद हस्तान्तरण गर्नु भएकोमा धन्यवाद दिँदै झरनाले समन्वय प्रमुख लामासँग जिल्ला समन्वय समितिले गरि रहेको काम र आगामी दिनमा गर्ने कामको बिबरण सोधेकी थिइन् । जिल्लामा नै वटा स्थानीय तह भएको र स्थानीय तहमा लक्षित वर्गको कार्यक्रम लक्ष्य अनुरूप विनियोजन हुन नसेको र जिल्लामा भएका विभिन्न गतिविधिको बारेमा समन्वय समितिले अनुगमन गर्दै आएको कारसाङ लामाले नव नियुक्त प्रमुखलाई जानकारी गराएका थिए ।
प्लान नेपालका पूर्व क्षेत्रीय कार्यालयका क्षेत्रीय प्रबन्धक रबिशंखर पण्डितले किशोरीहरूलाई लक्ष्य निर्धारण गर्न टेवा पुर्याउने उद्देश्यले ‘बालिका तथा किशोरीलाई पद हस्तान्तरण गर्ने अभियान संचालन हुँदै आएको बताएका थिए ।
सबै स्थानीय तहमा गैर सरकारी संस्थाको पहलमा विभिन्न किसिमका विकास र परिवर्तनका गतिविधि भएको भन्दै उनले गैर सरकारी संस्थाको सहयोगले जिल्लाको विकासमा टेवा पुगेको दाबी गरेका थिए ।
किशोरीहरूको मनोमल बढाउने र बालिकालाई सिक्ने सिकाउने र नेतृत्व लिन हौसला प्रदान गर्न यो कार्यक्रमको आयोजना गरिएको आयोजक संस्था जेएसडिपीका उज्वल न्यौपानेले बताए कार्यक्रमको समापनपछि नव नियुक्त सभापति झरनाले पुनः कारसाङ लामालाई जिल्ला समन्वय समितिको पद हस्तान्तरण गरेकी थिइन् ।
गल्र्स टेक ओभर बालिका अधिकारका लागि क्रियाशील संस्थाहरू प्लान नेपाल, जनजाति समाज विकास कार्यक्रम सिन्धुली र सिड्स नेपाल सिन्धुलीको साझा अभियान हो । गल्र्स टेक ओभर अभियानले बालिका तथा किशोरीलाई नेतृत्वदायी भूमिका अनुशरण गराउन सहयोग पु¥याएको छ ।