ग्वाल्टारः गोलन्जोर गाउँपालिका सिन्धुलीकी अध्यक्ष सुश्रिता श्रेष्ठले आफ्नो पालिकाभित्र बाल बिवाह रोकथाम र न्यूनिकरण पहिलो प्राथमिकता रहेको बताएकी छिन् । गाउँपालिका अध्यक्ष शंकरराज बरालले खादा लगाएर पालिका अध्यक्षमा पदस्थापन गराएपछि श्रेष्ठले सो कुरा बताएकी हुन् ।
उनले समाजमा बाल बिवाहले नराम्ररी जरा गाडेको बताउँदै त्यसको रोकथाम र न्यूनिकरणका लागि जटिलता रहेकोसमेत खुलासा गरिन् । वालबिवाह रोक्नलागि हामीले अभियान थाल्ने छौं, तर केही यस्ता उदारहरणहरु छन्, जसलाई रोक्न खोज्दा आत्महत्या गर्छु, मर्छु भनेर आउँदा रहेछन्, त्यस्ता बिबरणले हामीलाई केही असहजता देखाएपनि सामाजिक कुरिति र अन्धविश्वास मात्रै होइन कानूनले निर्दिष्ट गरेको अपराधलाई रोक्नु आफ्नो पहिलो कर्तव्य भएको बताइन् ।

पदभार ग्रहण गर्ने क्रममा प्रत्येक विद्यालयमा किशोरी मैत्री शिक्षा र एक विद्यालय एक नर्स कार्यक्रम सञ्चालन गर्ने बताउँदै अध्यक्ष श्रेष्ठले प्रत्येक स्वास्थ्य संस्थामा सुरक्षित प्रसुती र महिनावारीका लागि आवश्यक सामाग्रीहरु निःशुल्क रुपमा उपलव्ध गराउने खुलाइन् । त्यसैगरी उनले पालिकाको नीति निर्माण तह र योजनाहरु छनोट प्रक्रियामा किशोर किशोरीहरको संलग्नताको सुनिश्चितता गराउने प्रतिवद्धता जनाउँदै पूर्व अध्यक्षले सञ्चालन गर्नु भएका राम्रा र जनप्रिय योजनाहरुलाई आफुले पनि निरन्तरता दिने उल्लेख गरिन् ।

कार्यक्रममा पूर्व अध्यक्ष शंकर बरालले नवनियुक्त अध्यक्षलाई सफल कार्याकालको शुभकामना दिईरहँदा वर्षिया किशोरी यथार्थमा गोलन्जोर गाउँपालिकाकी अध्यक्षनैं हुन् भन्ने झल्को दिइरहेको थियो । अध्यक्ष श्रेष्ठ अन्र्तराष्ट्रिय गैर सरकारी संस्था प्लान नेपालको ‘गल्र्स टेक ओभर कार्यक्रम’ अन्तर्गत एक दिनका लागि गोलन्जो गाउँपालिकाको अध्यक्ष पद सम्हाल्न पुगेकी थिइन् ।
सो कार्यक्रमले बालिकाहरुलाई नेतृत्वमा पुग्नका लागि हौसला प्रदान गर्ने र आत्मबल बढाउने, प्रेरित गर्ने र जिम्मेवारी लिएपछि सो पद अनुसारको कर्तव्यबारे छलफल गराईदै आएको जनजाति विकास समाजका उज्वल न्यौपानेले बताए ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष ज्वालाप्रसाद न्यौपाने पुकार, वडाध्यक्षहरु र सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो । अन्तर्राष्ट्रिय बालिका दिवसको अवसरमा यो कार्यक्रमको आयोजना गरिएको जेएसडिपीले जनाएको छ ।
प्लान नेपालको साझेदारीमा काम गरिरहेका जनजाती समाज विकास कार्यक्रम, सिड्स नेपाल र मानव तथा राष्ट्रिय विकास समाज सिन्धुलीले यो कार्यक्रम सञ्चालन गर्दै आएका छन् । अन्तर्राष्ट्रिय बालिका दिवसको अवसरमा यो कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएका छन् ।












