यो दसैंमा आकाशमा चङ्गा उडेको देख्नु भएन भने अश्चर्य नमान्नुहोला, किनकी सबै युवाहरु जहाजमै उड्दैछन् । नेकपा एमालेको आशा र भरोसा योग्य युवा मिलन भोक्तानको सामाजिक सञ्जालमा लेखिएको यो स्टाटस एक साता नबित्दै चरितार्थ भयो । मोक्तानले नत दशैंमा टिका लगाए, नत चङ्गानैं उडाए । आफ्ना कलिला लालावाला छोडेर उनी आफैं जहाजमा उडिरहे । अर्थात उनी दशैंको मुखमा सिन्धुलीको एमाले राजनीतिमा कुनै पनि आशा र भरोसा नदेखेपछि बिदेशीए ।
त्यसैगरी केहि बर्ष अगाडिसम्म सिन्धुलीको एमालेको राजनीतिमा राम्रै सँग आफुलाई उभ्याएको, कलेजमा पढाएर आफुलाई बौद्धिक जमातमा पनि चिनाएको, बैंक इन्स्योरेन्स क्षेत्रमा पनि आफुलाई सफल नेतृत्व प्रदान गरेको, केही ब्यबसायमा लगानी गरेर मनग्गे पैसा कमाइरहेका टीकाजंग थापा डिभी परेर सपरिवार अमेरिका उडे ।
त्यस अगाडिनैं अखिलको राजनीतिमा सिन्धुली बहुमुखी क्याम्पसमा स्थापित गरेको २२ बर्षे ठिटो शिव पहाडी र नेबि संघको राजनीतिमा चर्चित नाम वसन्त गौतम जस्ता दुई क्षमतावान युवा अहिले अमेरिकी नागरिक बन्ने तरखरमा छन् । केही दिन अगाडि सिन्धुलीको राजनीतिमा आफुलाई अब्बल साबित गर्दै निष्ठाको राजनीति गरिरहेका नेबिसंघ सिन्धुलीका जिल्ला सभापति एबं जिल्ला समन्वय समितिका सदस्य एबं प्रवक्ता पनि अमेरिकी डिभीका नाममा सपरिवार बिदेश उडे ।
विदेशबाट फर्केर आएका युवाहरुलाई संगठित गरेर नेपालमा केही गर्नु पर्छ भन्दै लागिरहेको जोशिला युवा जीवन घिसिङले देह त्याग गरेको कहाली लाग्दो बिबरण सार्वजनिक भयो ।
यी त प्रतिनिधि घटना मात्रै हुन् । बिकसित मुलुक अध्ययनको लागि जाने भनेर हिंडेका हिजो राजनीतिमा आफुलाई स्थापित गरिसकेका र आजको अबस्थामा मुलुक फर्केर आउने चाहाना नभएका त कति छन् कति । यसको मुख्य कारण के होला ? ? आखिर किन सिन्धुलीको राजनीतिमा आशा लाग्दा युवाहरु पलायन हुँदैछन्, बिदेश भासिंदैछन् ? युवाहरु का लागि राजनीति भन्दा किन बिदेशको जीवन प्राथमिकतामा प¥यो त ? यो विषय सिन्धुलीका कुनै पनि राजनैतिक दलका नेताको चिन्तनको विषय किन बन्न सकेन ?
सबैभन्दा पहिला राजनीतिक दलका संरचनाको अध्ययन गरौं । नेपाली कांग्रेस, एमाले वा माओवादी केन्द्रको केन्द्र देखि वडा तहसम्मका कमिटीहरु क्रियाशिल छन् । तर ती कमिटीमा युवा सहभागीता त छ तर निर्णायक स्थानमा युवा सहभागीता नगन्य छ । नेकपा एमाले र माओवादीका अधिकाशं कमिटीका पदाधिकारीमा युवा सहभागीता नगन्य रुपमा देखिन्छ तर कांग्रेसको कमिटी पदाधिकारीमा युवाहरू निर्वाचित भएर आए तैपनि कांग्रेसमा सामुहिक निर्णय भन्दा पनि सभापति पद नैं शक्तिशाली हुने भएकाले निर्वाचित युवाको हबिगत पदमा मात्रै सिमित देखिन्छ । राजनीतिक दलले युवालाई निर्वाचनको बेलामा प्रयोग गरेता पनि संरचना निर्माण गर्दा प्रमुख स्थानमा युवा सहभागीता गराउनैं चाहादैनन् उनीहरु । आफ्नै बलले पुगेता पनि जम्मै बुढा मिलेर असफल बनाउन लागि हाल्छन् । सहयोग गर्दैनन् । बाहिरबाट नियालिरहेका युवाले छर्लङ्ग देखिसकेका छन् कि नेपालको राजनीतिक दलमा युवा मैत्री संरचना नहुनु नैं आजको युवाको चरम निराशाको बिषय हो ।
अहिले जतिपनी युवा सहभागीताको कुरा आएको छ, निति निर्माण तहमा हस्तक्षेपकारी भूमिका प्रदान गर्ने भन्दापनी झारा टार्ने खालको मात्रै देखिन्छ ।
शिक्षित राजनीतिक युवाको चाहना भनेको पार्टीलाई जनतासँग प्रत्यक्ष जोड्नु पर्छ भन्ने हुन्छ । जस्तै गाउँमा खानेपानीको चरम अभाव छ भने खानेपानीको दिगो समाधानका लागि युवाले पहिला अध्ययन गर्दछ , खानेपानीको स्रोत खोज्दछ , न्यायोचित बितरणको प्रणाली बिकास गरेर रिजर्भ ट्याङ्की मार्फत पानी समान बितरण गर्दछ तर बर्षै पिच्छे मन परेका मान्छेलाई मात्रै पाइप बाँडेर भोटको राजनीतिनैं बिकास भन्ने सोचेको पुरानो मानसिकताले खानेपानीको हाहाकार छ पाइप किनेर बाँडिहालौं त भन्ने तर्क गर्दछ ।
बिकास सम्बन्धि दृष्टिकोणको ठूलो ज्ञापलाई पुरानो पुस्ताले आत्मसात नैं गरेको देखिंदैन । सडक बनाएर, कुनै भौतिक संरचना नै बिकास हो भन्ने मानसिकताले बढि घर गरेको देखिन्छ तर यथार्थमा बिकास भनेको जनजिविका सँग जोडिएको आर्थिक, सामाजिक र साँस्कृतिक अबस्था परिवर्तन गर्ने हुनुपर्छ । मानौं कुनै गाउँपालिकाको दुर दराजमा मोटर पुग्यो तर त्यहाँको जनता संग्ग त्यो चढ्न सक्ने पैसा छैन भने लाखौं खर्छ गरेर मोटर पु¥याएको काम छ त ? यो कुरामा हाम्रो राजनीतिको ध्यान नैं गएन । यहि कुराको ठुलो ज्ञाप छ ।
राजनीति आफैंमा समाजसेवा हो । राजनीति गरेपछि मुखमा माड लाग्दैन । लाग्नका लागि छुट्टै कुनै काम गर्नु पर्छ । इमानदार सक्षम युवा, कुनै कामसँग जोडिने युवा क्षमता भएकै हुन्छन् । कालोलाई कालो, सेतोलाई सेतो भन्छन् । नेताले गरेको खराब कामको आलोचना गर्छन् । अहिलेको परिस्थितिमा त्यस्तो आलोचना गर्ने, खबरदारी गर्ने युवा नेताको नजरमा पर्दैनन् ।
आफ्नो प्रसंशा मात्रै गरिदियोस्, भनेको मानिदियोस्, आफू भन्दा माथी कोही पनि नगैदियोस्, गयो भने आफू पछि पर्छु, मेरो राजनीति सकिन्छ , म नैभईनँ भने के को पार्टी ? के को बिचार ? के सिद्धांत ? सबै थोक म र मैंले गरेको भन्ने सोच पुरानो पुस्तामा हावी छ । पुरानो पुस्ताको त्यस्तो सोच बुझेका युवाले परम्परागत जुठोपुरोमा रमाएर बस्नेहरुसँग संघर्ष गर्नु भन्दा उतै गएर आफ्नो भबिस्य बनाउदा उपर्युक्त हुन्छ भन्ने निश्कर्षका साथ पनि देश छोड्न थालेको देखिंदैछ ।
यहि पनि हेर्नुस्, अलिक क्षमतावान युवा छ, उसलाई पार्टीमा घेराबन्दी हुन्छ, उ राजनीतिमा टिक्न नसकेर कुनै न कुनै जागिर तिर पलायन भई रहेकै हुन्छ । जब उ जागिरमा जान्छ अनि नेताहरूको ध्यान, सामाजिक अपराधमा संलग्न, अबैध कारोबारमा संलग्न, ठेक्का पट्टको अबैधानिक कब्जा गर्न, मिटर व्याजमा संलग्न वा आय आर्जनका लागि गलत बाटो प्रयोग गरिरहेका युवाहरूलाई रक्षा कवचको लागि प्रयोग गरिरहेको देखिन्छ । भोलि मन्त्री संसद देखि अन्य जनप्रतिनिधि कै लाइनमा त्यस्तो प्रबृत्ति बोकेका युवा आउने भएपछि इमानदार युवाले आफुलाई राजनीतिमा कसरी सुरक्षित महसुस गर्छ ? अबस्य पनि गर्दैन । त्यसैले बेलैमा पलायनको बाटो रोजिरहेकाछन् ।
हाम्रै छिमेकी राज्यहरू भारत बंगलादेश र भुटानको आर्थिक उन्नतिको कारण भनेको त्यहाँको स्थिर राजनीति हो । नेपालमा् दिनै पिच्छे मन्त्री फेरिन्छन । देशको आर्थिक अबस्था निराशाजनक रहेकै छ । वैदेशिक रोजगारमा गएका लाखौं युवा नेतालाई सरापेर हाम्रो रेमिटेन्सले तिम्रो तलब भत्ताको भुँडी भर भनिरहेकै छन् । तर बैरो बनेर सबै कुरा नेपालका राजनीतिक नेतृत्वले पचाईरहेकै छन् । रोजगारीका अबसर सिर्जना गर्ने कार्यमा दलहरू एकै ठाउँमा बसेर सहकार्य गर्न किन सक्दैनन् ? यो चरम निराशाको परिस्थितिमा देशको राजनीतिमा युवा पुस्ताले संभावना नदेख्नु स्वभाबिक पनि हो ।
राजनीतिक दलले दलाललाई दिएको प्रोत्साहन, पैसा र पहुँचवालालाई दलमा भित्र्याएर इमानदारहरुलाई कार्यकर्तामा मात्रै सिमित राखेको, काममा उपयोग गरेर काम सक्किएपछी रद्दिको टोकरीमा फ्यालेको, पैसाको लागि ¥याल चुहाएको, समाजमा नांगो भइसक्दापनी पार्टी र संरचनाले नेता मानेर पुजा गर्नै पर्ने खालको जकडिएको संरचनामा, क्षमतावान युवाले भबिश्य नदेख्नु स्वभाबिक नैं हो ।










