सिन्धुली: अपांग महिला संघ सिन्धुलीकी अध्यक्ष मनिषा कुमारी गौतमले सिन्धुलीमा अपांगता भएका महिलाहरुलाई आत्मनिर्भर बनाउँदै उनीहरुको अधिकार रक्षाका लागि काम गर्ने बताइन् । अध्यक्षको पदभार ग्रहण गर्ने क्रममा १८ वर्षीया गौतमले सिन्धुलीका सञ्चारकर्मीहरु माँझ बुधवार आफ्नो भावी योजनाहरु समेत निर्धक्कसँग सुनाएकी हुन् ।
अध्यक्ष गौतमले अपांगता भएका वालवालिकालाई शिक्षा र बयस्क महिलालाई रोजगारी सिर्जना गर्ने र उनीहरुलाई बदलिंदो प्रविधिसँग जोडेर काम गर्ने बताईन् ।
कमलामाई नगरपालिका वडा नं. ३ की बालिका मनिषा कुमारी आज अपांगता क्षेत्रमा क्रियाशिल गैह्रसरकारी संस्थाको एकदिने अध्यक्ष बनेर पत्रकाहरुमाझ आफ्ना धारणाहरु बताइरहँदा लाग्थ्यो, कलिलै उमेरमा कति छिटो अध्यक्ष भइछन् ?
गौतमलाई सिन्धुली अपांग महिला संघकी अध्यक्ष दिपा देवकोटाले पद हस्तान्तरण गरिरहँदा साधारणसभा पछिको नयाँ कार्यसमिति चयन र पद हस्तान्तरणको झल्को दिइरहेको थियो । वालिका गौतम अन्र्तराष्ट्रिय गैर सरकारी संस्था प्लान नेपालको ‘गल्र्स टेक ओभर कार्यक्रम’ अन्तर्गत सो पदमा पुगेकी थिइन् ।
प्लान फण्डेड सो कार्यक्रममा बालिकाहरुलाई नेतृत्वमा पुग्नका लागि हौसला प्रदान गरिदैं आएको छ । साथै नेतृत्व लिनका लागि आत्मबल प्रदान गर्ने, पद लिन प्रेरित गर्ने र जिम्मेवारी लिएको पद अनुसारको कर्तव्यबारे छलफल गराईदै आएको जनजाति विकास समाजका उज्वल न्यौपानेले प्रदेशखबरलाई जानकारी दिए ।

प्लान नेपालको साझेदारीमा काम गरिरहेका जनजाती समाज विकास कार्यक्रम, सिड्स नेपाल र मानव तथा राष्ट्रिय विकास समाज सिन्धुलीले यो कार्यक्रम सञ्चालन गर्दै आएका छन् । अन्तर्राष्ट्रिय बालिका दिवसको अवसरमा यो कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएका छन् ।
प्लान नेपाल क्षेत्रीय कार्यालय धनुषाका बाल प्रत्याभूत सञ्चार परियोजना प्रमुख अञ्जु शाक्यले मनोवल बढाउने र बालिकालाई सिक्ने सिकाउने अभियान भएको बताइन् । उनले बालिकाहरुलाई नेतृत्व लिन हौसला प्रदान गर्न गल्र्स टेक ओभर कार्यक्रम सञ्चालन गरिएको बताईन् ।











