प्रहरीले गरायो चालकको परिक्षण

सिन्धुली: दुर्घटना रोकथाम र न्यूनिकरणका लागि भन्दै सिन्धुली प्रहरीले एक महिनामा १ हजार १ सय ३८ जना चालकहरुको रक्तचाप र आँखा परिक्षण गराएको छ ।
जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी सिन्धुली आँखा अस्पतालको प्राविधिक सहयोगमा गत असोज २३ गतेबाट सवारी चालकहरुको स्वास्थ्य अवस्था परिक्षण गर्न सुरु गरिएको डिएसपी चिरञ्जीवी दाहालले जानकारी दिए । सवारी दुर्घटना न्यूनिकरण गर्ने उद्देश्यले प्रत्येक हप्ताको मंगलबार र शुक्रबार सवारी चालकहरुको रक्तचाप र आँखा परिक्षण सुरु गरिएको र त्यसले दुर्घटना न्यूनिकरणका लागि सचेतिकरणको काम गरेको दाहालको भनाई थियो ।
सो कार्यक्रम अन्तर्गत हाल सम्म १ हजार १ सय ३८ जना चालकहरुको रक्तचाप र आँखा परिक्षण गरिएको उहाँले बताउनु भयो । विपि राजमार्ग अन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका ६ माझिटार चेकपोष्ट र गोलन्जोर गाउँपालिका वडा नम्बर ७ खुर्कोेट चेकपोष्टमा सवारी चालकको स्वास्थ्य परिक्षण गरिंदै आएको छ ।
यसैबीच केही दिन अगाडि सिन्धुली प्रहरीले गरेको एक कार्यक्रममा सर्वसाधारणले प्रहरी प्रमुखको काम गराई वारे प्रश्न उठाएका थिए । उनीहरुले गाँजा फँडानी गर्ने नाममा संरक्षण गरेको संगीन आरोप लगाएका थिए ।