सिन्धुली: स्वास्थ्य बीमा बोर्डले जिल्ला अस्पताल सिन्धुलीको दुई करोड भन्दा बढी रकम भुक्तानी नदिंदा सर्वसाधारणको उपचारमा समस्या सिर्जना भएको छ भने अस्पतालमा कार्यरत डाक्टरहरुको मनोबल कमजोर बन्न थालेको छ ।
सिन्धुली अस्पताल विकास समितिका अध्यक्ष सतिशकुमार ढकालका अनुसार विमा वोर्डले गएको जेष्ठ महिनादेखीको २ करोड ६० लाख रकम भुक्तानी नगर्दा विमा गरिएका विरामीले पर्याप्त मात्रामा औषधीहरु नपाएको खुलासा गरेका हुन् ।
अस्पतालमा उपचार गर्न आएका विरामीले बिमा गरेवापत उपलव्ध गराइने भनिएका औषधीहरु अस्पतालले उपलव्ध नगराएको गुनासो बढेपछि सोधिएको जिज्ञासामा अध्यक्ष ढकालले बिमा बोर्डले बाँकी रकम समयमैं भुक्तानी नदिंदा समस्या सिर्जना भएको र केही दिनभित्रै खरिद गरिएका औषधीहरु आउने र सहज रुपमा वितरण हुने बताए । सरकारले नागरिकको बिमा पनि गर्छ, अस्पताललाई निःशुल्क उपचार र औषधी पनि दे भन्छ तर आफुले भुक्तानी गर्नु पर्ने रकम समयमा उपलव्ध गराउँदैन, उनले भने सन्देश जनप्रियसँगको कुराकानीमा भने ।
हामीले नागरिकले दुःख नपाउन भन्ने उदेश्यले विकास समिति अन्र्तगतको पैसाले औषधी खरिद गरेर निःशुल्क रुपमा वितरण गरेका छौं, तर बिमा बापतको बाँकी भुक्तानी रकम नआए केही समयपछि फेरी बिमा गरेका बिरामीले औषधी नपाउने अबस्था सिर्जना हुने उनको भनाई थियो ।
त्यसैगरी सिन्धुली अस्पतालमा पेड भोलेन्टियरका रुपमा कार्यरत डाक्टरहरुले विगत चार महिनादेखी इन्सेन्टिम नपठाउँदा उनीहरुको मनोबल कमजोर बनेको पनि अध्यक्ष ढकालले खुलासा गरे ।
स्वास्थ्य बीमा बोर्डमा लामो समयदेखि अध्यक्ष खाली थियो । सरकारले समयमै बोर्ड अध्यक्ष नियुक्ति गरेर व्यवस्थित गर्नुपर्ने हो, त्यो पनि गरेको छैन । सरकारले स्वास्थ्य मन्त्रालय बोर्डका कार्यकारी निर्देशक दामोदर बसौलालाई निलम्बन गरेपछि बोर्डका अन्य पाँच जना सदस्यले पनि राजीनामा दिएकाले यो समस्या आएको सरकारी अधिकारीहरुले बताएका छन् । अहिले स्वास्थ्य बीमा बोर्ड सञ्चालक समितिविहीन बनेको छ ।
लामो समयदेखि बोर्ड अध्यक्ष खाली हुनु, कार्यकारी निर्देशक निलम्बनमा पर्नु र आवश्यक जनशक्ति व्यवस्थापन नहुनुलाई स्वास्थ्यका अधिकारीहरु स्वास्थ्य मन्त्री मोहनवहादुर बस्नेतको असक्षमता भएको टिप्पणी गर्छन् । ति अधिकारीले भनेः स्वास्थ्यमन्त्री बस्नेतले निर्देशकलाई हटाएर आफ्नो मान्छे राख्न खोज्दा अहिले बिमा रकम भुक्तानीमा समस्या आएको हो ।
एकातिर बीमा जिल्ला जिल्लामा पु¥याउने, बीमा गर्न सूचना प्रवाह गर्ने अर्कोतिर बीमाको पैसा भुक्तानी नगर्ने सरकारी कार्यशैलीले जनको स्वास्थ्य अधिकारमाथि खेलवाड गरिएको सिन्धुली अस्पताल विकास समितिका पूर्व अध्यक्ष बिनोद खड्काले बताए ।
यो समाचार आजको सन्देश जनप्रिय साप्ताहिकले लेखेको छ ।










