प्रकृति–मानव केन्द्रित जनअभियान (एनएचसिपिएम) नेपालले एक विज्ञप्ती प्रकाशितगरी इजरायल र प्यालेष्टाइन पक्षलाई तत्काल युद्धबिराम गर्न र विश्व समुदायलाई तत्कालै मानवीय सेवामा जुट्न अपील गरेको छ ।
संयुक्त राष्ट्रसंघीय महासचिव एन्टेनो गुटेरेशको नेपाल भ्रमणको सन्दर्भ पारेर जारी गरिएको विज्ञप्तीमा
विश्वकै सवभन्दा पुरानो द्वन्दको रुपमा चिनिएको इजरायल–प्यलेष्टाइन बिचको युद्ध ७ अक्टोबर २०२३ मा हमासद्वारा इजरायल माथि अप्रत्यासित रुपमा गरिएको हमला पछी इजरायलद्वारा गाजा क्षेत्रमा प्रतिशोधको लागि थालिएको सैन्य अपरेशन अल–अक्सा स्टर्मपछि भएको हिंसात्मक बिबरण र मानव हताहतिप्रति गंम्भीर ध्यानाकर्षण भएको बताइएको छ ।
प्यालेस्टिनी जनताद्वारा शासन गरिएको गाजा क्षेत्रलाई कब्जामा लिने उदेश्यले इजरायलद्धारा थालिएको हिंसात्मक आक्रमणमा हालसम्म ३ हजार भन्दा बढी बालबालिका र १४ सय महिला सहित ८ हजार बढी हिंसामा असंलग्न प्यालेस्टिनीहरु, १ हजार बढी इजरायली र १ सय बढी वेष्ट बैंकका बासिन्दा सहित ९ हजार ८ सय बढीको मृत्यु भएको, २१ हजार भन्दा बढी घाइते, २० हजार बढी व्यक्ति बिस्थापित हुनुका साथै गाजा क्षेत्रमा खाद्यान्न, बिजुली र पिउने पानीको आपूर्तिमा भएको अबरोधले ५० हजार गर्भवती महिलाको जीवन जोखिममा रहेको जस्ता बिबरणले अभियानलाई स्तव्ध पारेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
विज्ञप्तीमा अगाडि भनिएको छ– हामी कुनै पनि नाममा गरिएको हिंसात्मक आक्रमणको भत्र्सना र निन्दा गर्दछौं । साथै क्रुरतापूर्वक हत्या गरिएका नागरिकहरुप्रति श्रद्घाञ्जली अर्पण गर्दै इजरायल र प्यालेष्टाइन पक्षलाई तत्काल युद्धबिराम गर्न र विश्व समुदायलाई तत्कालै मानवीय सेवामा जुट्न अपील पनि गर्दछौं ।
आज विश्व एकातिर ग्लोवल वार्मिङ, जलवायु संकट र पर्यावरणीय गिरावटका बिरुद्ध लडिरहेको छ भने अर्कोतिर शक्ति राष्ट्रका नाममा बिना कारण जैविक अस्त्रको प्रयोग गरेर थोपरिएको युद्धले सामान्य नागरिकको जीवन चरम द्वन्द, लडाई, गरिवी, विभेद तथा असमानताबाट विश्वमा अमानवियकरणको श्रृंखलाहरुमा बृद्धि भएको छ । रुस र युक्रेन युद्घ जारी रहेका वेला हालै इजरायद्वारा गाजा क्षेत्रमा गरिएको आक्रमणबाट प्यालेष्टाइन नागरिकको चिर हरणले नयाँ विश्वयुद्घको खतरालाई समेत सन्निकट ल्याउन थालेको आभाष गराएको छ ।
मानव समाजमा देखिएका यस्ता घटनाक्रमले आर्थिक, राजनीतिक, साँस्कृतिक र सुरक्षा लगायत जनजीवनका हरेक क्षेत्रहरुमा चरम अराजकता, असुरक्षा र अशान्ति वढेको महसुस गरिएको छ । जलवायु परिवर्तनले पृथ्वीमा पिउने पानीको संकट, वन क्षेत्रमा ह्रास, खाद्य तथा कृषी संकट, उर्जा संकट, महामारीजन्य रोगव्याधीको प्रकोप तथा जनसंख्या वृद्घी भइरहेका बेला बढेको यो हिंसाले शरणार्थी समस्या बिकराल रुपमा पैदा गराउने छ । यसर्थ विकसित ज्ञान र वृहत मानव एकता पैदा गरेर आजको हिंसा, ग्लोवल वार्मिङ, जलवायु संकट र पर्यावरणीय गिरावट जस्तो घातक चुनौतीको सामना गर्न जरुरी छ ।
प्रकृति–मानव केन्द्रित जनअभियान, नेपाल संयुक्त राष्टसंघीय महासचिव एन्टेनियो गुटेरेसको नेपाल भ्रमणका सन्दर्भमा इजरायल–प्यालेष्टाइन र रुस–युक्रेनलगायत सवैखाले हिंसा र द्वन्द्वहरुको बार्ताको माध्यमबाट शान्तिपूर्ण समाधानको खोजी गर्न र मानव जातिमाथी आउँदै गरेको जलवायु संकट समाधानका लागि प्रभावकारी कदम चाल्न एनएचसिपिएमका अध्यक्ष कृष्णप्रसाद गौतमद्धारा जारी विज्ञप्तीमा जोडदार माग गरिएको छ ।