क्रान्ति, परिवर्तन, आन्दोलन, समाजसुधारमा मूलधारकाे नेतृत्व दुम्जाले गरेकै हाे । चाहे त्याे २००७ सालकाे क्रान्ति हाेस् चाहे पिताजी कृष्णप्रसाद काेइरालाकाे समाजसुधार आन्दाेलन हाेस् । या त्यसपछिका आन्दाेलन र परिवर्तनमा दुम्जा र दुम्जालीकाे हरहिस्सा छ । २००७ सालपछि दुम्जाली बाहुनले हलाे जाेते । हलाे जाेत्ने थिए, पानीपाेखरी तलतिरका दुम्जाली । अर्थात तल्ला थाेकवासी । माथिल्ला थाेकवासीले हलेपाटीलाई पानी बहिष्कार गरेका थिए ।
दुम्जामा जनसङ्ख्याकाे महत्वपूर्ण हिस्सा दलित समुदायको छ । माथिल्ला थाेकेलाई पनि दलितले छाेएकाे पानी पिएकाे आराेप लाग्याे । पानीपाेखरी मुनि र माथिका गाउँले एक अर्कालाई पानी बाराबार गर्न थाले । गाउँकाे विभाजनले विकास निर्माण पनि प्रभावित बन्याे । यसरी समाज अघि बढेन । छलफल भयाे । सहमति र सहकार्य बन्याे ।अर्थात् दुम्जाकाे सामाजिक विकास संघर्ष, विवाद, बहिष्कार, छलफल, सहकार्य र सहमतिबाट नै अघि बढ्दै आएको पाइन्छ ।

प्रसङ्ग दुम्जाली भेलाकाे । देशपरदेश पुगेका दुम्जाली दसैँ नवमीकाे दिन पानीपाेखरीमा भेला हुन्थे । देशविदेशका खवर, शहरकाे विकास र गाउँका समस्याका बारेमा छलफल हुन्थे । २०४६ सालपछि गाउँ फेरि राजनीतिक रूपमा विभाजित बन्याे र यस्ता गाउँको विकास निर्माणकाे चिन्ता राख्दै नवमी भेला पानीपाेखरीमा हुन छाड्याे । दलका भेला हुन थाले । हाम्राे राजनीतिले समाज जाेडेन, उल्टै समाज भत्कायाे । विभाजित बनायाे । खासमा राजनीतिले त्यस्ताे नगर्नु पर्ने हाे ।
पानीपाेखरी वरपरका युवा जुर्मुराएका छन् । तीन वर्षदेखि पानीपाेखरी युवा क्लवमा गाेलवन्द भएका छन् । समाज परिवर्तन उनीहरूकाे लक्ष्य, उद्देश्य छ । दुई बर्षदेखि ‘धरणी’ पत्रिका प्रकाशन गरिरहेका छन् । जागरणकवि धरणीधर काेइरालाकाे पुर्ख्याैली घरै मुन्तिर धरणीकाे बिमाेचनमा सहभागी बन्न पाउँदा ज्यादै खुशी समेत लागिरहेकाे थियाे । पाेहाेर पानीले जान सकिन । यस बर्ष अतिथिकाे रूपमा निम्ताे मान्न उक्लिएँ । क्लवका एक सदस्यले पिपलकाे पात तेर्स्याइन् । रैथाने ब्याच रहेछ । पानीपाेखरीकाे खुला चाैरकाे छेउमा चाैतारीकाे आडमा मञ्च रहेछ । सुनकाेशी गाउँपालिका उपाध्यक्ष तथा नेपाली कांग्रेसका नेता कपिल काेइराला, नेपाल रेडक्रस साेसाइटी दुम्जा शाखा सभापति रूपक श्रेष्ठ, नेकपा (एमाले) का युवा नेता कृष्ण माेक्तान, नेकपा (माओवादी केन्द्र) मा वडा नेता सञ्जय लामा, नेपाली कांग्रेस सिन्धुली- काठमाडौं सम्पर्क समितिका सदस्य सुरेश काेइराला, नेकाका युवा नेता सन्ताेष घिमिरे, प्रधानाध्यापक बिनाेद काेइराला, शिक्षक संगठनका नेता बच्चुप्रसाद काेइरालालगायत दुम्जाली समुदायकाे उपस्थिति थियाे । नेकपा माओवादी केन्द्रका सुनकाेशीका नेता प्रमाेद दाहाल नागेडाँडादेखि हान्निएर कार्यक्रममा सहभागी थिए । तथापि, गाउँमा धेरै अनुहार खाेजे मैले तर त्यहाँ भेटिन ।
गाउँमा अझै पुरेततन्त्र हावी छ रे । कार्यक्रममा सहभागी एक ज्येष्ठ सदस्यले मलाई सुनाए । सायद त्यसकै प्रभाव हाे कि ? कसैलाई याे बच्चाहरूकाे खेलाजस्ताे पाे लाग्याे कि ? जे हाेस, मैले साेचेजस्ताे दुम्जाली सहभागिता देखिन ।तर, मलाई पूरा विश्वास छ, दुम्जाकाे भाेलिकाे निर्माण यिनै पुस्ताले गर्ने छ । यिनै पुस्ताले दुम्जाली इतिहासकाे झण्डा उठाउने छ । त्याे जागृतिकाे झण्डा । त्याे बिद्राेहकाे झण्डा । त्याे उन्नतिकाे झण्डा । त्याे विकासकाे झण्डा । लाखलाख बधाई तथा शुभकामना पानीपाेखरीका किशाेरकिशाेरी, नाैजवान युवा पुस्तालाई । -दिपक बिहिन











