बडादशैंको अबधीभर पनि रोकिएन सुनकोशी-मरिण डाइभर्सन आयोजना निर्माणको काम

नेपालीहरुको महान पर्व बिजया दशमीको टिकाको दिन पनि राष्ट्रिय गौरवको आयोजना सुनकोसी–मरिण डाइभर्सनको सुरुङ खन्ने काम सुचारु रहेको छ ।
राष्ट्रप्रमुख देखी राज्य सञ्चालन गर्ने अधिकारीहरु बिदा लिएर दशैंको टिका, जमरासँगै आर्शिवाद ग्रहण गरिरहेका बेला आयोजना प्रमुख मित्र बराल भने कुसुमटारस्थित आयोजना स्थलमा निर्माण मजदुरहरुसँगै बसिरहनु भएको थियो । आज बिहान अर्थात वडादैंशको टिकाको दिन (मंगलवार बिहान) ९ हजार २ सय ८५ सुरु मिटर भन्दा बढी खनिसकिएको बरालले प्रदेशखबरलाई जानकारी दिए । बरालका अनुसार टनेल बोरिङ मेसिनबाट सुरुङ खन्न सुरु गरिएको उक्त योजनाले लक्ष्यभन्दा बढी सुरुङ खनिएको हो । चाडपर्व नभनि दिन रात काम भइरहँदा यस्तो प्रगति हाँसिल भएको आयोजना प्रमुख बरालको भनाई थियो । गत वर्षको असोज २८ गतेबाट खन्न सुरु गरिएको यो आयोजनाको निर्माण कार्यको गति नेपालको अन्य राष्ट्रिय आयोजना भन्दै निकै अगाडि रहेको देखिएको छ ।
सुनकोसी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाका प्रमुख मित्र बरालका अनुसार १३ दशमलब तीन किलोमिटर लामो सुरुङ कमलामाई नगरपालिका–२ कुसुमटारबाट खन्न सुरु गरिएको र यही अगाडिमा काम अगाडि बढिरहे लक्ष्य भन्दा धेरै अगाडि काम सम्पन्न हुनेछ ।
सुरुङ निर्माणका लागि ठेक्का पाएको चिनियाँ कम्पनी चाइना ओभरसिज इन्जिनियरिङ (कोभेक)ले टनेल बोरिङ मेसिनबाट एक महिनामा पाँच सय मिटर सुरुङ खन्ने लक्ष्य राखेको भएपनि दशैंको चाडबाडमा मजदुरहरुको काम गराईलाई हेर्दा म निकै उत्साहित भएको छु, बरालले अगाडि भने ।
प्रति महिना पाँच सय मिटर सुरुङ खन्ने आयोजनाको लक्ष्य हो, आयोजना प्रमुख बरालले भनेः अहिलेसम्म ठूलो भौगर्भिक समस्या नआएकाले लक्ष्यभन्दा बढी काम भएको छ, हामी कामप्रति उत्साहित भएका छौं । उनी अगाडि थप्छन्ः कामको गति भौगर्भिक समस्यामा निर्भर हुने गर्छ ,किनकी विगतका सिकाइले पनि त्यही कुरा देखाएको छ ।

May be an image of 3 people
सुनकोशी मरिण डाइभर्सन बहुदेश्यीय आयोजना प्रमुख मित्र बराल । फोटोः आयोजना

अहिले दैनिक सामान्यतः १८ मिटर देखी ३८ मिटरसम्म टनेल बोरिङ मेसिनले सुरुङ खनिरहेको छ । यो तामाकोसी र सुनकोसी नदीको संगमस्थल त्रिवेणी भन्दा सात सय मिटर तल पर्ने आयोजनाको भनाई छ । पानी बग्ने ५ दशमलब ५ डायमिटर रहने गरी अहिले ६ दशमबल ६ डायमिटरको सुरुङ मेसिनले खनि रहेको आयोजनाले जानकारी दिएको छ ।
सुरुङ खन्न मात्रै कोभेकले करिब ११ अर्ब रुपयाँमा ठेक्का पाएको थियो । टीबीएमले आठ–आठ घण्टाका दरले तीन सिफ्टमा गरी चौबिसै घण्टा सुरुङ खन्ने काम गरिरहेको विजया दशमीका दिन बिहान स्थलगत रिपोटिर्ङ क्रममा देखिएको छ । आयोजना प्रमुख बरालका अनुसार गोलन्जोर गाउँपालिकाको खुर्कोट स्थित सुनकोसी नदीमा १२ मिटर उचाइको बाँध निर्माण गरी सुरुङ मार्फत प्रतिसेकेण्ड ६७ क्युसेक पानी कमलामाई नगरपालिका–२ कुसुमटार स्थित मरिणखोलामा खसाल्ने लक्ष्य राखिको छ ।
त्यहाँ ६६ मिटर हेटेडबाट पानी झारेर ३१ दशमलब ०७ मेघावाट विद्युत उत्पादन गरिनेछ । आयोजनाको कुल लागत करिब ४६ अर्ब रहने अनुमान गरिएको छ । आयोजनाको मुख्य उद्देश्य विद्युत उत्पादनसँगै तराइका बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषा जिल्लाका करिव एक लाख २२ हजार हेक्टर क्षेत्रमा सिँचाइ सुविधा पु¥याउने रहेको शिलान्यास कार्यक्रममा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गर्नुभएको थियो ।
बाह्रै महिना सिंचाई सुविधा पुगेमा वार्षिक २६ अर्ब रुपैयाँ बराबरको कृषि उत्पादन बढ्ने र आयोजना अन्तर्गत उत्पादन हुने बिजुलीबाट वार्षिक एक अर्ब ५५ करोड आम्दानी हुने लक्ष्य नेपाल सरकारले लिएको छ ।
तत्कालिन नेकपा नेतृत्वको सरकारका प्रधानन्त्री केपी शर्मा ओलीले शिलान्यास गर्नुभएको राष्ट्रिय गौरवको आयोजनाको निर्माण तिब्रगतिमा बढेसँगै सम्मृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकांक्षा साकार हुन समय नलाग्ने एमालेका केन्द्रीय सदस्य मनोजजंग थापाले बताए । उनी अगाडि भन्छन्ः राष्ट्रिय गौरवको आयोजनालाई सफल बनाए मात्रै सिन्धुलीको मात्र नभएर यस क्षेत्रको समग्र विकासले नयाँ गति लिनेछ र यसले सिन्धुलीवासीको जीवनस्तर माथि उकास्न मद्दत पुग्ने छ ।