म्याद नाघेका खाद्य सामाग्रीहरू बजारमा पठाउने होलसेल ब्यापारीलाई कारबाही नहुँदा सँधै उनैले गर्छन् जनस्वास्थ्यमाथि खेलवाड

सिन्धुलीको कमलामाई नगरपालिकाले बजारमा म्याद नाघेका खाद्य पदार्थ र औषधीहरु छ्याप्छ्याप्ती बिक्री बितरण भएको जनगुनासोका आधारमा छापामारी गर्दा डरलाग्दो बिबरणहरु सार्वजनिक भएको छ ।
कमलामाई नगरपालिकाको अगुवाईको भएको बजार अनुगमनमा बिक्रीका लागि राखिएको खाद्यान्न, पेय पदार्थ तथा औषधी पसलको अनुगमन गर्दा नगारिकको जनस्वास्थ्यमाथि गंभीर खेलवाड भइरहेको तथ्य खुलेको हो ।
नगरप्रमुख मञ्जु देवकोटाको संयोजकत्वमा बिभिन्न सरोकारवाला निकाय सम्मिलित अनुगमन टोलीले माझिटार स्थित दिनेश किराना सप्लायर्समा छापामारी गर्दा लुकाएर राखिएको चिनी र म्याद नाघेका र खान अयोग्य देखिएका खाद्यान्नहरु बजारमा पठाउन लागिरहेको अबस्थामा फेला पारेको हो ।
कमलामाई नगरपालिकाको उपभोक्ता हित संरक्षण तथा आर्थिक विकास संयोजक रामवहादुर थिङका अनुसार बजारमा सोच्नै नसकिने अबस्थामा व्यवसायीहरुबाट जनस्वास्थ्यमा खेलवाड भइरहेको छ, यस्तो अबस्थामा पालिकाबाट पटक पटक कमजोरी गर्ने व्यवसायीलाई कारबाही गर्नै पर्ने अबस्था देखिएको छ ।
निरन्तर अनुगमनमा खटिएका उनले म्यान नाघेका औषधी र खाद्यान्नहरु होलसेल व्यापारीबाटै खुद्रा व्यापारीलाई सप्लाई भइरहेको र अनुगमनका क्रममा विगत वर्षमा जस्ले गरेका थिए अहिलेपनि उनै व्यापारीहरु सक्रिय रहेको देखिएको बताए ।
विगत वर्षमा केहीलाई सामान्य जरिवाना र सुधार गर्न पत्राचार गरिएको थियो, यस वर्ष पनि उनीहरुको अबस्था बिगतको भन्दा खराब देखियो, यसले पनि ती व्यापारीलाई हदैसम्मको कारबाही किन नगर्ने ? भन्ने गंभीर प्रश्न उठेको थिङले सन्देश जनप्रियलाई बताए ।
अनुगमनमा संलग्न रहेका शुशील बर्माले नागरिकको स्वास्थ्यमा व्यापारीबाट निरन्तर खेलवाड भइरहेको बताउँदै त्यस्ता व्यापारिक फर्म र व्यक्तिलाई कारबाही गरे मात्रै यो समस्याको समाधान हुने निश्कर्ष सुनाएका थिए । त्यस्ता व्यापारीहरु राजनैतिक संरक्षणमा रहेको पनि उनले आशंका गरे ।
बजार अनुगमनका क्रममा फेला परेका औषधी, खाद्यान्न, पेय पदार्थ र डेरी उत्पादन नष्ट गर्ने क्रममा उपस्थित हुनुभएका कमलामाई नगरपालिका वडा नं. ६ का वडाध्यक्ष उज्वलकुमार थापाले सदरमुकामकै अबस्था दनीय भएका बेला नगरपालिका भित्रका अन्य वडाहरुमा कति अखाद्य बस्तु नागरिकले खाइरहेका होलान् ? भन्ने गंभीर प्रश्न उठेको बताउनुभयो । अब चाडवाडका बेला मात्रै होइन नगरपालिकाले अन्य समयमा पनि नियमित बजार अनुगमनको काम गरेर नगरवासीलाई स्थानीय सरकार भएको अनूभूति दिन सक्नुपर्छ, त्यसका लागि हामी सबैले दवाब वा प्रभावमा परेर होइन उपभोक्ताको हितलाई ध्यानमा राखेर काम गर्नुपर्छ ।
कमलामाई नगरपालिकाकी उपप्रमुख मञ्जु देवकोटाले बजार अनुगमनपछि सर्वसाधारणको भान्सामा कस्ता कस्ता अखाद्य बस्तु पुग्छन् भन्ने डरलाग्दो दृश्य देखिएको बताउनुभयो ।
उहाँले अगाडि भन्नुभयोः कमलामाई नगरपालिकाले अब निरन्तर रुपमा बजार अनुगमनलाई प्राथमिकतामा राखेर काम गर्ने बताउनुभयो । राजनैतिक तथा प्रशासनिक दबाबमा कालोबजारी गर्ने, दैनिक उपभोग्य बस्तुको कृतिम अभाव सिर्जना गर्ने र गुणस्तरहिन खाद्य सामाग्री सप्लाई गर्नेलाई कारबाही गर्न सहज होस् भन्ने उदेश्यले नगरकार्यपालिकाको बैठकबाट बजार अनुगमनको निर्णय गरिएको उपप्रमुख देवकोटाले खुलासा गर्नुभयो ।
कमलामाई ४ ढुंग्रेवासमा रहेको जय ट्रेडर्स, कनपा ६ रातमाटा प्लानिङको रानी सप्लायर्स, २ नम्बर बजारको दीपक किराना र कनपा ७ माझीटारमा रहेको दिनेश किरानाले नागरिकको जनस्वास्थ्यमाथि खेलवाड गरिरहेको अनुगमनबाट खुलेको छ । ती पसलहरुको अनुगमनका क्रममा खान अयोग्य मानिएका अर्थात म्याद नाधेका खाद्यान्नहरु, पेय पदार्थहरु फेला परेका थिए ।

No description available.
No description available.