बिनानिश्कर्ष टुंगियो सरकार-शिक्षक महासंघबीचको बार्ता, देशैभरका सामुदायिक बिद्यालय बन्द, राजधानी केन्द्रीत आन्दोलन जारी

आन्दोलनरत शिक्षकसँग सरकारले गरेको छलफल विनानिष्कर्ष टुंगिएको छ। बिहीबार बिहान ८ बजे गृह मन्त्रालयमा भएको छलफल सकारात्मक भएपनि बार्ता बिनानिश्कर्ष टुंगिएको छ ।

गृह मन्त्रीका प्रेस सल्लाहकार कमल गिरीका अनुसार गृह मन्त्रालयमा बिहान ८ देखि ९ बजे सम्म भएको वार्तामा नेपाल शिक्षक महासंघका अध्यक्ष कमला तुलाधरसहित विभिन्न दलका शिक्षक संगठनका पदाधिकारी उपस्थित हुनुहुन्थ्यो । सरकारका तर्फबाट गृहमन्त्री नारायणकाजी श्रेष्ठ, शिक्षामन्त्री अशोक राई, शिक्षासचिव सुरेश अधिकारी, काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत सहभागी हुनुभएको थियो ।

छलफलमा गृहमन्त्री श्रेष्ठले शिक्षकका समस्या सबैको साझा समस्या भएकाले समाधानका लागि सरकार प्रतिबद्ध भएको बताए। मन्त्री श्रेष्ठले शिक्षकहरूको जायज माग सम्बोधन गर्ने र त्यसका लागि अन्य मन्त्रालयसँग छलफल गर्ने प्रतिबद्धता व्यक्त गरेपनि शिक्षक महासंघका प्रतिनिधिले आफ्नो अडान कायम राखेका छन । सहमति नजुटे पनि अर्को बैठक छिट्टै बस्नेगरी आजको बैठक टुंगिएको छ ।

यसैबीच राजधानी केन्द्रीत आन्दोलनलाई चर्काइरहेका शिक्षकहरुले आजबाट देशैभरका सामुदायिक विद्यालय बन्द गराएका छन् ।

काठमाडौं महानगरपालिकाले विद्यालय बन्द गरे कारबाही गर्ने चेतावनी दिए पनि पठनपाठन ठप्प रहेको छ । संसदमा प्रस्तावित विद्यालय शिक्षा विधेयकको विरोधमा देशभरका शिक्षक आन्दोलित बनेका हुन् ।

महानगरभित्रका विद्यालय बन्द भए कारबाही गर्ने महानगरको चेतावनी र विद्यालयले कुनै सार्वजनिक सूचना नै जारी नगर्दा विद्यार्थी भने मारमा परेका छन् ।

अधिकांश कक्षा १० मा पढ्ने विद्यार्थीहरू सधैँ बिहान साढे ७ बजे कोचिङ कक्षाका लागि हाजिर हुने गरेका थिए ।

सोही अनुसार आज पनि रत्नराज्य लगायतका विद्यालयमा विद्यार्थीहरू बिहानै पुगेका थिए । तर उनीहरू पढ्न भने पाएनन् ।

बानेश्वरस्थित रत्नराज्यको प्रधानाध्यापक रामआशिष यादवले विद्यालय बन्द रहेको र कहिले खुल्छ भनेर अहिले नै भन्न सकिने अवस्था नरहेको बताए ।

त्यसो त महानगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूले भोलिबाट विद्यालय बन्द गराइ माइतीघर मण्डलामा नियमित हाजिर हुने निर्णय गरेका गरेका थिए ।

नेपाल शिक्षक संगठन सिन्धुलीका अध्यक्ष हरिप्रसाद पोखरेलले सिन्धुलीका सबै सामुदायिक विद्यालयहरु बन्द भएको जानकारी दिए । कमलामाई नगरपालिकाका शिक्षा अधिकारी शंकरराज लुईटेलले नगर क्षेत्रभित्रका सामुदायिक विद्यालय बन्द रहेको जानकारी दिए । उनले प्रदेशखबरसँग भनेः हामी पनि बुझ्दै छा,ैंअहिलेसम्म खुलेको जानकारी पाएका छैनौं ।

माइतीघरको आन्दोलनमा सरिक भएका उनले आफ्ना मागहरु पुरा नभएसम्म आन्दोलन नरोकिने बताए । गौमती माध्यमिक विद्यालयका प्रधानाध्यापक दीपक बुढाथोकीले माइतिघर मण्डालामा शिक्षकहरु जम्मा हुन थालेको बताए । उनले सरकारसँगको वार्ता सफल हुने र शिक्षा क्षेत्रको मर्मलाई सरकारले छिट्टै बुझने आशा व्यक्त गरे ।
राजधानी केन्द्रीत शिक्षकहरुको आन्दोलनले उपत्याकाको सवारी आवागमन अस्तव्यस्त बनेको छ ।

May be an image of 1 person and crowd
May be an image of 3 people and crowd
May be an image of 13 people, crowd and text
May be an image of one or more people, crowd and text