नेकपा एमाले सिन्धुलीका उपाध्यक्ष कर्ण घिसिङले पार्टीलाई एक नम्बरको बनाउनेगरी सिन्धुलीमा अभियान सञ्चालन गरिने बताएकाछन् । मंगलवार सन्देश जनप्रिय साप्ताहिकसँगको कुराकाकानीका क्रममा एमालेले सिन्धुलीका दैनिक जीवनसँग जोडिएका समस्या र विकास निर्माणमा भएका अनियमितता एवम् पूर्वाग्रहपुर्ण कामकारबाहीको भण्डाफोरगर्दै अगाडि बढ्ने उनले बताए ।
उनले सिन्धुली मात्रै होइन देशमा बढिरहेको माओवादी अराजकताको अन्त्य गर्ने सामथ्र्य एमालेसँग मात्रै रहेको, विकास र समृद्धिका स्पस्ट खाकासमेत आफुहरूसँग मात्रै भएको जिकिर गर्दै एमालेलाई जनताको बीचमा लोकप्रियताले उचाइ दिन सत्तामा हुँदा होस् या नहँुदा सधैं जनताकै साथमा रहने जिकिर गरे ।
उनले देशलाई बर्बादीतर्फ जान नदिन एमाले थप मजबुत बन्दै जनताका साथ अग्रमोर्चामा हुनैपर्ने उल्लेख उल्लेखगर्दै जनस्तरमा भएका गलत कामको भण्डाफोर गरेर अगाडि बढ्न स्थानीय नेता कार्यकर्तालाई आब्हान पनि गरेकाछन् । एमालेलाई अझै प्रभावकारी भूमिका खेल्नसक्ने र बलियो र एकताबद्ध पार्टीका रूपमा स्थापित गर्न अब सिन्धुलीका सबै नेता कार्यकर्ता एकजुट हुनुको बिकल्प नभएको बताए ।
यसैबीच आगामी भदौं १६ बाट सुरु गरी असोज २२ गतेसम्म सम्पन्न गर्ने गरी एमालेले सवै प्रदेश कमिटीको अधिवेशनको मिति तोकेको छ ।
एमाले सचिव तथा मधेश प्रदेश इञ्चार्ज योगेश भट्टराईले दिएको जानकारी अनुसार लुम्बिनी प्रदशेको अधिवेशन सवैभन्दा पहिला र सुदुरपश्चिम प्रदेशको अधिवेशन सवैभन्दा पछि हुने भएको छ । जसअनुसार भदौं १६ र १७ गते लुम्बिनी प्रदेशको अधिवेशन हुनेछ ।
यस्तै असोज ५ र ६ गते मधेश प्रदेश, असोज ८ र ९ गते बागमति प्रदेश, १० र ११ गते कर्णाली प्रदेशको अधिवेशन हुनेछ । यस्तै अशोज १२ र १३ गते कोशी प्रदेश, १५ र १६ गते गण्डकी प्रदेश, १९ र २० गते उपत्यका बिशेष प्रदेश र असोज २१ र २२ गते सुदुरपश्चिम प्रदेशको अधिवेशन गर्ने निर्णय भएको छ ।
सवै प्रदेश अधिवेशनको उदघाटन अध्यक्ष केपी शर्मा ओलीले गर्नुहुनेछ । एमालेले प्रदेश अधिवेशनमा प्रदेश कमिटीका अध्यक्षदेखि सदस्यसम्म सवै प्रतिनिधि चुनिएर आउनु पर्ने मापदण्ड यसअघि नै तय गरिसकेको छ ।-यो समाचार सन्देश जनप्रिय साप्ताहिकले लेखेको छ ।










