गौशला नगरपालिका महोत्तरीका कर्मचारीहरुले एक प्रेस विज्ञप्ती मार्फत भोलीबाट कुनै पनि काम नगर्ने बताएकाछन् । राजस्व शाखामा कार्यरत कर्मचारी दिपेन्द्र यादवलाई नगरउपप्रमुख रेणुकुमारी महत्तोले हातपात गरेको आरोप लगाउँदै नगरपालिकाको सम्पूर्ण काम कारबाही रोकिएको बताएका हुन् ।
यसैबीच नगरप्रमुख डा. दिपेन्द्र महत्तोसँग यस विषयमा बुझ्न खोज्दा उहाँको फोन ९८५४०२९१८५ बन्द रहेको थियो । घटनामा जोडिएकी नगरउपप्रमुख रेणुकुमारी महत्तोले घटनालाई बढाई चढाई गरेर आफ्नो गलत कामहरु ढाकछोप गर्न खोजिएको बताइन् । उनले राजस्व परामर्श समितिको प्रमुख उपप्रमुख भएको नाताले त्यससँग सम्बन्धित विषयका फाइलहरु आफुले पटक पटक माग गर्दा नदिएको र फोनसमेत गर्दा उठाउन छोडेपछि सोही विषयमा कुरा गर्न जाँदा उल्टै अपशव्द बोलेको बताइन् ।
उनले सेवा ग्राहीको काम नगर्ने र राजस्व सम्बन्धी विषयमा बुझ्न खोज्दा लगातार असहयोग गरिरहेको भन्दै गलत कुरालाई छोप्न हातपातको प्रचारवाजी गरिएको दाबी गरिन् । एक कर्मचारीका अनुसार उपमेयरको कर्मचारीसँगको यस्तो घटना तेस्रो भएको नगरपालिकाका अधिकारीले बताएका छन् । कर्मचारीमाथि कुनै समस्या भए नगरप्रमुख र प्रमुख प्रशासकिय अधिकृत मार्फत काम गराउन वा भन्न लगाउनु पर्दथ्यो तर उहाँ आफैं कर्मचारीको कठालो समाउन जानुभयो, त्यो गलत हो, ती अधिकारीले सोमवार साँझ टेलिफोनमा भने । उपप्रमुखले आजमात्रै डेढ करोडमा लागेको भनिएको गौशाला बजारको ठेक्का संझौताको फाइल माग गरेकी थिइन् ।
विज्ञप्तीमा नगरपालिकाको छाप अनाधिकृत रुपमा लगाएर दुरुपयोग गरिएको देखिएको छ । त्यसैगरी नगरपालिकाको काम काज ठप्प रहेको भनिएको बिज्ञप्ती पालिकाको आधिकारिक फेसवुक पेजबाट शेयर गरिएपछि त्यसले गंभीर प्रश्न उठाएको सोही कार्यालयका एक कर्मचारीले बताए । स्मरणीय छ: जनता समाजवादी पार्टीबाट निर्वाचित प्रमुख र उपप्रमुखका बीचमा शक्ति बाँडफाँड र सेयरिंका विषयलाई लिएर विगत एक वर्ष अगाडिदेखी आन्तरिक बिवाद बढेको स्थानीयको भनाई छ ।
