नेपाली कांग्रेस सांसद सुनील शर्माले भने- पार्टीले अझै बोल्न नदिए विद्रोह गर्छु

काठमाडौं-नेपाली कांग्रेसका सांसद सुनिल शर्माले संसदमा बोल्न पटकपटक समय माग्दा पनि पर्याप्त समय नपाएकोले विद्रोह गर्ने चेतावनी दिएका छन्।

नयाँ बानेश्वरथित संसद भवनमा आइतबार बसेको पार्टीको संसदीय दलको बैठकबाट बाहिरीएपछि संचारकर्मीसँग उनले यस्तो बताएका हुन्। संसद बैठकमा बोल्नको लागि पार्टीले पर्याप्त समय नदिएको भन्दै उनले अव पनि बोल्न नपाए विद्रोह गर्ने चेतावनी दिएका हुन्।

आइतबार पार्टी संसदीय दलको बैठकमा सहभागी भएका शर्माले पछिल्लो समय संसदमा बोल्न माग्दा समय नपाएको गुनासो गरेका थिए। सांसद शर्माले बोल्न समय दिए पार्टीले भनेको निर्देशनभन्दा बाहिर नजाने उल्लेख गरे। शर्मा मोरङ क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका हुन्।

उनले पार्टी सभापति शेर बहादुर देउवालाई प्रधानमन्त्री बनाउँछु भनेर बोलेको र त्यस्तो बोल्नु गल्ती भएको भए फिर्ता लिन तयार रहेको बताएका छन्। कांग्रेस संसदीय दलको बैठक सोमबार पनि बस्ने गरी आजको लागि टुंगिएको सांसद कान्तिका सेजुवालले जानकारी दिइन्।