नेता ढुङ्गेलको निधनले उब्जाएको यक्ष प्रश्न ?

कमरेड भोजराज ढुङ्गेल जति बेला कार्यालय सचिव हुनुहुन्थ्यो त्यती बेला देखिनैं मैले राम्रो सँग चिन्ने मौका पाएँ । कमरेड ध्रुव देबकोटा पछि उहाँ कार्यालय सचिवको जिम्मेवारीमा आउनु भएको थियो । उहाँ सादगि हुनुहुन्थ्यो । उहाँले आफ्नो सबै सम्पत्ति श्रीमतीको उपचारमा सक्नुभयो । उहाँको एउटा मात्रै खराब बानी थियो उहाँ चुरोटको अम्मली हुनुहुन्थ्यो अन्य कुनै कुराको पनि अम्मल थिएन उहाँमा । तर उहाँ मानौ कुनै रक्सी वा अन्य कुराको सौखिन भएजसरी, भोजराज काम नलाग्ने सबै सम्पत्ति उडायो भनेर आरोप लगाएर खुइल्याउनेहरु हाम्रै पार्टी भित्रैबाट सुनिन्थ्यो । उहाँको निधन पछि अहिले एमाले जनमा एउटा यक्ष प्रश्न अजंग रुपमा खडा भएको छ ।
उहाँ प्राय फणिन्द्र ढुङेल दाइकोमा बस्नु हुन्थ्यो । जिउँदै हुँदा उहाँको बारेमा सोच्ने पनि धेरै हुनुहुन्थ्यो । उहाँका कुरा गहिरा हुन्थे, सुन्ने बित्तिकै प्रभावित बनाउने । तर मलाई लागेको कुरा उहाँको बारेमा खिल्ली उडाउनेहरु अहिले निधनपछि एकाएक प्रसंसक बनेको देख्दा लाज लागेर आयो । त्यसो गर्न अलि सुहाएन ।
भोजराज आम कार्यकर्ताको एउटा प्रतिनिधि पात्र हुनुहुन्थ्यो । आज किशानी गर्ने आम कार्यकर्ता पार्टीको बैठकमा आउन नसक्ने परिस्थिति छ । जुनसुकै पार्टीमा लागेको होस् , महादेवडाँडाको एउटा कार्यकर्ता खाङसाङ बैठकमा आउन कति खर्च लाग्छ ? तिनकन्याको कार्यकर्ता ग्वालटार बैठकमा आउन कति खर्च लाग्छ । एउटा पार्टीमा ५० औं बर्ष दुःख गरेको नेता प्रदेश कमिटीमा गयो, उ काठमाडौं बैठकमा जान कति खर्च लाग्छ ? उल्टै बैठक पिच्छे शुल्क लेबि भनेर पैसा उठाउने धनाढ्य संस्कार बिकास भएको छ । अब एउटा खेती किशानी गर्ने सामान्य आयस्रोत भएको नेता कार्यकर्ताले यो सबै धान्न सक्छ ? कि धनिको मात्रै पार्टी हो भनेर घोषणा गर्नु प¥यो होइन भने सामान्य आयस्रोत भएको मानिसलाई राजनीतिमा टिक्न गाह्रो छैन ?
हाम्रो पार्टी भित्र यस्तो प्रचलन बिकास भएको छ, जिउँदै हुँदा क.भोजराज जस्ता हज्जारौं कार्यकर्ताको अबस्था कस्तो छ ? के हुँदै छ ? सम्मको वास्ता नगर्ने, हो हो रे को भरमा चल्ने, हाकिमी शैलीको बिकास भएको छ । आफुलाई हाकिम कार्यकर्तालाई दास वा आफू मातहतको कर्मचारी जस्तो व्यबहार प्रकट गर्ने, काम पर्दा फोनसम्म न उठाउने, अनि आफ्नो फाइदाको लागि फकाएको फकाई गर्ने, यति मात्रै कहाँ हो र ? उसले गलत व्यबहारको विरुद्ध बोल्यो भने न्याकेको न्याकै गर्नेसम्मको शैली बिकास भएको छ । अब यस्तो अबस्थामा कमरेड भोजराज जस्तै सयौं भोजराजहरु सामु निरिहता बाहेक के नैं बाकी रहन्छ र ?
कार्यकर्ताकै पनि समस्या देखिएको छ, भोजराज जस्ताको वास्ता खोजी कम, ढोके हुक्के र छातेहरु, र अबैध तरिकाले धन आर्जन गर्ने, सम्पत्ति आर्जन गर्न पार्टीको प्लेटफर्म प्रयोग गर्नेहरुलाई सबभन्दा बढी नजिक राख्ने नेतृत्व हामी कहाँ छैनन् र ? जसले महँगो रेस्टुरेन्टमा लगेर महँगो मदिरा, मृग र कालिजको सुकुटी खुवाउन सक्छ उही नैं नेताको प्यारो हुने, भोजराजहरु त डेट एक्पायर कल्चरका नेता भए भनेको पार्टी कार्यालयमैं सुनेको होइन र ?
तपाईं पार्टीको अबसर प्राप्त स्थान हेर्नुस् , चाहे केन्द्रिय निकाय हुन् या स्थानीय तहसम्मको, टाठाबाठाहरुले आफ्नो घरका सबै सन्तान, ससुराली तिर नातेदार सबैलाई सेटल गर्न भ्याएकै हुन्छन् । त्यसमा कुनै न कुनै हिसाबले पार्टी कै प्लेट फर्म प्रयोग गरिएकै हुन्छ ।
तर भोजराज जस्ता सयौं कार्यकर्ता त बिना कुनै अबसर निरन्तर पार्टीमैं लाग्छन्, हेरौ तल्लो तहका एमाले कार्यकर्ता र समर्थकहरु । उनीहरुको जीवनस्तरलाई उकास्न न पार्टीले योजना बनाउछ । न अबसरको समान बितरणनैं । आफ्नै पार्टी भित्र अबसरको समान बितरण गर्न नसकेको, क्षमता अनुसारको काम दिन नसकेको, योग्य र इमानदारहरुको केन्द्रिकरण गर्न नसकेको परिबेशमा बेइमानहरुको मात्रै बोलवाला राखेर अगाडि बढ्दा आम समाजको भलो कसरी गर्न सकिन्छ र ? त्यसैले भोजराज कमरेडको निधनलाई सोचौं, सच्चिऔं र अघि बढौं !
(लेखक एमाले सिन्धुली जिल्ला कमिटी सदस्य हुन् )