सिन्धुली: सिन्धुली जिल्ला हजारौं बामपंथी योद्धाहरुको उर्वर भूमि हो । जिल्लालाई कम्युनिष्टको उर्वर भूमि बनाउन आफ्नो जिउ ज्यान लगाउने एउटा योद्धा अहिले बीर अस्पतालमा उपचारका लागि कहर गरिरहेका छन् , तर उनको कहर अहिले कसैले पनि सुनिरहेको छैन ।
पूर्वको रोल्पाको रुपमा चिनिएको सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका वाडा नम्बर ४ निबासी रामप्रसाद राई ६४ अहिले आर्थिक अभावसँगै राजधानी काठमाडौको पाटन अस्पतालमा मृत्युसँग लडिरहेका छन् । उनको परिवारजनले सत्तारुढ माओवादी केन्द्रको जिल्ला नेतृत्व र केन्द्रीय नेतृत्वसँग जीवन रक्षाका लागि भिख मागिरहेका छन् तर उनको आवाजलाई आधुनिक कम्युनिष्टहरुले सुनिरहेका छैनन् ।
निरंकुश पञ्चायती व्यवस्था विरुद्धको आन्दोलन होस् वा लोकतान्त्रिक गणतन्त्र स्थापनासम्मका आन्दोलनमा उनको भूमिकालाई नजिकबाट नियाल्नेहरु सक्रियता पूर्वक लडेका राईको स्वास्थ्य उपचारका लागि छोरी अस्मिताले सबैसँग याचना गरेकी छन् तर उनको याचनालाई पार्टीको माथिल्लो निकायबाट सहयोग नभएको गुनासो सुनिन थालेको छ ।
तत्कालिन नेकपा चौथो महाधिवेशन र एकताकेन्द्र सम्बद्ध राइले अहिलेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, गृहमन्त्री नारायणकाजी श्रेष्ठ, गिरिराजमणी पोखरेल, लिलामणी पोखरेललगायतका नेताहरुलाई संरक्षण गर्दै मरिण क्षेत्रलाई कम्युनिष्टको उर्वरभूमि बनाउन ठूलो भूमिका निर्वाह गरेका थिए । तर अहिले उनी मृत्युसँग लडिरहँदा राइले आफ्नो र छोराछोरीको गाँस कटाएर बचाएका नेताहरु बेखबर बनेको देख्दा पिडाले छटपटी हुने गरेको बताउँछन् ।
राईले चौथो महाधिवेशन र एकता केन्द्रका नेता मात्रै होइन तत्कालिन नेकपा मालेका नेता एवम् महान शहिद ऋषि देवकोटा आजाद, दलवहादुर रजनसँग पनि पार्टी काममा हिंडेको अनुभव सुनाएका थिए । मरिण क्षेत्रलाई कम्युनिष्टको उर्वरभूमि बनाउने कार्यमा संलग्न राई स्वर्गीय निर्मल लामाको मुख्य सहयोगी पनि हुन् । लामा पार्टी निर्माण शिलशिलामा सिन्धुली आउँदा मरिणको कपिलाकोट र हरिहरपुरगढी जाँदा राईको घरमैं सेल्टर बनाएर बस्ने गरेका थिए ।
पञ्चायती शासक विरुद्ध संघर्ष गर्ने क्रममा तत्कालीन तत्कालिन सत्ताको क्रुर यातनाबाट पीडित बनेका थिए भने लामो समय जेल जिवन बिताएका थिए ।
उमेर ढल्केसँगै पञ्चायती शासन कालमा पाएको यातनाका कारणले भएको समस्याको लामाले विगत तीन वर्ष अघिबाट निरन्तर उपचार गराइरहेको माओवादी केन्द्र सिन्धुलीका नेता यमकुमार देवकोटाले सन्देश जनप्रिय साप्ताहिकलाई बताए ।
आफ्नो जिबनको उर्जाशील समय पार्टी, आन्दोलन र श्रमजिवी जनताको पक्षमा खर्चेका राई अहिले पेटको –आन्द्राको क्यान्सर) रोगबाट पिडित छन् । लामो समय देखि निरन्तर उपचार गर्नु परेकाले दिनप्रतिदिन रकम अभाव हुँदै गएपछि मात्रै आफुसँग विगतमा जोडिएका कमरेडहरुसँग सहयोगको याचना गरेको राइले बताए ।

यस अगाडि विरामी भएर थलिएपछि राजधानी काठमाडौको अल्का अस्पतालमा नेताहरु गिरिराजमणी पोखरेल र लिलामणी पोखरेल भेट्न आउनु भएको स्मरणगर्दै उनले आफुसँग भएको सबै रकम उपचारका क्रममा सक्किएको र अहिले आफ्नो क्षमताले उपचार गर्न नसक्ने अबस्थामा पुगेको बताए । पछिल्लो पटको १५ दिन लामो अस्पताल बसाईपछि भने आफुलाई सरकारले उपचारमा सहयोग गरे बाँच्न सकिने विश्वास जागेको बताए । सरकारले ठूला बडालाई निकै ठूलो रकम उपचारमा सहयोग गरेको सुनेको छु । राष्ट्रपति रामचन्द्र पौडेललाई लाखौं रकम दिएको हाम्रो सरकारले मलाई पनि उपचारका लागि सहयोग गरिदिए हुन्थ्यो, राइले अस्पतालको शैथ्याबाटै भने ।
राई विरामी भएर अस्पतालमा भर्ना भएको थाहा पाएपछि भेट्न पुगेका माओवादी केन्द्र सिन्धुलीका संयोजक एवम् मरिण गाउँपालिकाका पूर्व अध्यक्ष पानीराज बम्जनले राईको उपचारका लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने र सहयोग जुटाउन वातावरण मिलाउने काममा लागेको बताए । उनले आजै राईलाई भेट्न अस्पतालमा नेता लिलामणी पोखरेल जाने जानकारी पनि दिए ।












