सिन्धुलीमा किनमेलमै जोखिम, लकडाउनको पूर्ण पालना नहुँदा बढ्यो त्रास

जिल्ला प्रशासन कार्यालय सिन्धुलीले जारी गरेको सवारी पास लिएर न्यूनतम मापदण्डसमेत पुरा नगरी आज तीनपाटनमा नागरिक खचाखच राखेर बोक्दै एक सवारी साधन । फोटो, सामाजिक सञ्जाल

सिन्धुली जिल्लामा बन्दाबन्दीको न्यूनतम सतर्कता समेत नअपनाउदा अत्यावश्यक किनमेलमै जोखिम बढेको छ । सिन्धुलीको सिमाना जोडिएको उदयपुरमा कोरोना भाइरसको सक्रमण बढ्दै गएको भएपनि यहाँका व्यापारी र सेवाग्राहीले न्यूनतम सतर्कता समेत अपनाइएको छैन ।

न्यूनतम सतर्कता नअपनाउदा अत्यावश्यक किनमेलमै जोखिम

जिल्ला प्रशासन कार्यालय सिन्धुलीले बिहान ७ बजेदेखि १० बजेसम्म अत्यावश्यक सामान तथा तरकारी किनमेल गर्नका लागि तीन घण्टाको समय दिएको छ । सोही समयमा किनमेल गर्ने र बिक्री वितरण गर्नेले समेत न्यूनतम सतर्कता तथा दुरी कायम नगर्दा जोखिम बढ्दै गएको छ । किनमेल गर्ने र बिक्री वितरण गर्नेले सामाजिक दुरी कायम गर्ने मास्क सेनिटाइजर प्रयोग गर्ने  गर्नुपर्ने भएपनि त्यस्तो देखिएको छैन ।

जोखिम र त्रास न्यूनीकरण गर्नका लागि प्रहरी प्रशासनले समेत वास्ता नगरेको स्थानीयले स्वयम् बताउँछन् । व्यवसायीले पनि बिक्री वितरण गर्नुसँगै स्वास्थ्यमा ख्याल गरि सामाजिक दुरी कायम गर्न लगाउनुपर्ने हो, कमलामाई नगरपालिका ६ स्टलबजारका फार्मेसी व्यवसायी माधब देवकोटा भन्छन्, न्यूनतम सतर्कता समेत अपनाइएको देखिएन, यसले थप जोखिम बढाउन सक्छ ।

छिमेकी जिल्लामा देखिएको कोरोना भाइरस र राजमार्गको आवतजावतले जोखिम बढाइरहेको भन्दै यस्तो अवस्थामा भिडभाड कम गर्नुपर्ने उनको भनाई छ । कोरोना भाइरसको रेडजोन मानिएको तराईका विभिन्न जिल्लाबाट समेत खाद्यान्न आलु लगायतका सामान ओसारपसार हुँदा कोरोना जोखिम बढेको नेपाल विद्यार्थी संघ सिन्धुलीका अध्यक्ष उत्पल खड्काले सामाजिक सञ्जालमार्फत गुनासो गरेका छन् ।

किनमेलमा मात्रै नभएर यहाँका ठूला खाद्यान्न व्यवसायीले खाद्यान्न आयात गर्ने र खाद्यान्न लोडअनलोड गर्ने मजदुरको स्वास्थ्यमा समेत ध्यान दिएका छैनन् । मजदुरलाई व्यवसायीले बेवास्ता गर्दा उनीहरुबाट कोरोना भाइरसको प्रकोप बढ्न सक्ने भन्दै स्थानीय त्रसिद बनेका छन् । विश्वभर फैलिएको कोरोना भाइरस रोकथामका लागि गत चैत ११ गतेदेखि सरकारले मुलुक लकडाउन गरेको छ ।

तर लकडाउनको समयमा खुल्न पाउने अत्यावश्यक पसल तथा किनमेलमा सामाजिक दुरी कायम नगरि भिडभाड बढ्न थालेको छ । ठूला खाद्यान्न व्यवसायी, औषधि पसल, तरकारी पसलमा जोखिम बढेको देखिएको स्थानीय बताउँछन् । पछिल्लो केहि दिनदेखि सिन्धुलीमा लकडाउनको पूर्ण पालना नहँदा त्रास फैलिएको छ । 

 जिल्ला प्रशासनबाट सहजै सवारी पास पाउन थालेपछि पास लिएर बजार घुम्ने र भिडभाड गर्ने उत्तिकै बढेको देखिएको छ । प्रशासनमा दैनिक पास लिनेको भिड रहेको छ, जिल्ला प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेले भने, निर्माण व्यवसाय र अत्यावश्यक सामग्री ढुवानी खुल्ला गरेसँगै पास लिनेको भिड भएको हो ।

पास लिनेको भिड प्रशासनमा बढेपछि हाल जिल्ला प्रशासनले ई पास(अनलाईन) को समेत व्यवस्था गरेको छ । प्रशासनमा पछिल्लो एक सातादेखि नागरिकता बनाउने भन्दा बढी सवारी पास बनाउनेको भिड लाग्न थालेको छ । चिनजान र आफन्तलाई पास बनाउन कर्मचारी आफैले सहजिकरण गरिदिदा बजारक्षेत्रमा सवारीको थप भिड बढेको भन्दै स्थानीय समेत आक्रोसित भएका छन् ।