
सिन्धुली: निकै ठूलो प्रचारवाजी र तामझामका साथ सिन्धुलीका किसानलाई वितरण गरिएको ‘कोरियन गाई’ लम्पि स्किन रोगबाट मरेपछि कमलामाई नगरपालिकाका किसानहरु चिन्तित बनेका छन् ।
कमलामाई नगरपालिकाको आर्थिक सहयोग तथा हेफर नेपालको प्राविधिक सहयोगमा दक्षिण कोरियाबाट ल्याइएका भनिएका ८० वटा गाईहरु मध्ये ४ जना किसानले लगेको गाई रोगको संक्रणले थलिएर मरेपछि किसानहरु चिन्तत बनेका हुन् । अहिले पनि दुई दर्जन बढी गाईहरु बिरामीछन् ।
स्थानीय किसान शंभु दाहालका अनुसार अहिलेसम्म राजपानी क्षेत्रमा रहेका कोरियन गाईहरु लम्पि स्किन रोगबाट संक्रमित भइरहेका र ४ जनाले लगेका गाईहरु मरेको र २ दर्जनबढी मृत्युसँग संघर्ष गरिरहेका छन् ।
कमलामाई नगरपालिकाले हेफर प्रोजेक्ट मार्फत कृषि तथा पशपालको क्षेत्रमा काम गर्नका लागि सिड्स नेपाल सिन्धुलीसँग लागत साझेदारीमा काम गर्दै आएको थियो ।
दुग्ध उत्पादनमा लामोसमय देखि क्रियाशिल दाहालले लम्पि स्किन रोगको महामारीले व्यवसायिक रुपमा गाई पालन गरिरहेकाहरु किसानहरुलाई हतोत्साहि बनाएको बताए । उनले भनेः गाईमा रोग बढिरहेको छ, बिमा कम्पनीले नयाँ किनेका गाईको बिमा पनि गरेको छैन र बिमा दावीको भुक्तानी पनि गर्न आनाकानी गरिरहेकाले किसनाहरुमा ठूलो त्रास पैदा गराएको छ ।
सहकारी राजदेवी कृषि तथा पशुपालन दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष यमकुमार देवकोटा कोरियाबाट ल्याइएका दुई गाई मरेको र अन्य केही गाईहरु बिरामी परेपछि किसानहरु त्रसित बनिरहेको बताउँछन् ।
हेफर इन्टरनेशनल मार्फत कोरियाली किसानहरुले सिन्धुलीको कमलामाई नगरपालिकाका गाई पालक किसानहरुलाई उपहार स्वरुप पठाइएका गाईहरु किसानको गोठसम्म आइपुग्दा प्रतिगाई ७ लाख रुपैयाँ लागत परेको हेफर नेपालका अधिकारीले बताएका थिए । कोरियाली स्वास्थ्य प्राविधिकले ति गाईको पटक पटक स्वास्थ्य परिक्षण र आवश्यक औषधीहरु उपलव्ध गराउँदै आएका थिए भने किसानहरुले उनीहरुले भने अनुसारको दाना खुवाउँदै आएका थिए ।
अध्यक्ष देवकोटाका अनुसार एक वर्षको अबधीमा किसानहरुले उक्त गाईको पालन पोषणमा १ लाख खर्च गरेका छन् । गाईले ७० हजार रुपैयाँको दाना खाइसकेको छ ।
कमलामाई नगरपालिकामा हेफरको प्रोजेक्ट सञ्चालन गरिरहेको सिड्स् नेपाल सिन्धुलीका अध्यक्ष दीपक घिमिरेले गाई नेपाल आइपुग्दा कति लागत मूल्य लाग्यो भन्ने वारे हेफरले केही पनि बिबरण उपलव्ध नगराएको बताए । उनले भनेः अहिले गाईहरु मरिरहेका छन्, त्यसले किसानलाई ठूलो घाटा भएको छ ।
लाखौं रुपैयाँको गाई र दानामा गरिएको लगानी एकातिर छ भने अर्कातिर एक वर्षसम्म किसानले गरेको मेहनतको प्रतिफल हात लाग्ने बेलामा लम्पि स्किन रोगबाट गोठका गाईहरु मर्न थालेपछि उन्नत जातको गाई पाल्ने किसानहरुको सपना चकनाचुर बन्न लागेको त होइन ! अहिले किसानहरुका बीचमा यो त्रासदी बढिरहेको छ । यो समाचार बुधवार प्रकाशित हुने सन्देश जनप्रिय साप्ताहिकले प्रमुखताका साथ प्रकाशन गरेको छ । –पवन राउतबाट










