सिन्धुली: केही समयअघि सिन्धुली सदरमुकामकी एक महिला शिक्षिकाले उच्छृंखल भिडियो बनाएर हालेपछि उनको सामाजिक सञ्जालमा आलोचनाभयो । समाजलाई मार्गदर्शन गर्ने शिक्षक आफैंले टिकटकमा विद्यालयको बैठकदेखि अशोभनीय हर्कत गरेको भन्दै मर्यादित बन्न दवाब पनि दिइयो ।
केही समय अगाडि सरकारी पोशाक लगाएर ४ जना महिला कर्मचारीले उच्छृंखल भिडियो टिकटकमा हालेको भन्दै उनीहरुको चौतर्फी आलोचना भएको थियो । तत्पश्चात्, उनीहरुले माफी माग्दै भिडियो टिकटकबाट हटाएका थिए । हरिहरपुरगढी गाउँपालिकाको एक सामुदायि विद्यालयका अभिभावकले विद्यार्थीलाई नपढाएको भन्दै बैठकमा गरेको आलोचना होस् वा काठमाडौंको घटना प्रतिनिधि घटना मात्रै हुन् । पछिल्लो समय सामाजिक सञ्जाल दुरुपयोग गर्नेको संख्या उच्च देखिन थालेको छ ।
सामाजिक सञ्जालमा अपशब्द लेख्ने, व्यक्तिको भिडियो, फोटो काटेर चरित्रहत्या गर्ने, ब्याल्कमेल गर्ने, फेसबुक ह्याक गरेर पैसा माग्ने आदि कार्य बढ्ँदै गएपछि सरकारले पनि यसमा लगाम लगाउने प्रयत्न गरेको छ । जसका लागि सरकारी कार्यालयसँग सम्बन्धी अपवाह फैलाउने फोटो, भिडियो सामाजिक सञ्जालमा नराख्न पनि सरकारले निर्देशन गरेको छ । यो निर्देशनपछि सरकारी कर्मचारीहरुले सामाजिक सञ्जाल प्रयोग गरेका कारणले सास्ती र हाकिमको हप्की खानु परेको छ ।
‘कार्यालयसँग सम्बन्धित कामबारे पनि टिकटक नबनाउन हामीले निर्देशन दिएका छौँ, यदि निजामती कर्मचारीले यस्ता नियम उल्लंघन गरेको पाइएमा अनुशासन नियम अन्तर्गत कारबाही हुनेछ’ संघीय मामिला मन्त्रालयका प्रवक्ता कमलप्रसाद भट्टराईले सन्देश जनप्रियलाई बताए । उनले निजामती कर्मचारी उच्छृंखल भएको भन्दै गुनासो आएकाले उक्त कदम चालिएको बताएका हुन् ।
निजामतीतर्फ मात्रै होइन, प्रहरी प्रधान कार्यालयले पनि विज्ञप्ती जारी जथाभावी सामाजिक सञ्जालको प्रयोग गर्ने कर्मचारीलाई कारबाही गर्ने चेतावनी दिएको छ । ‘सामाजिक सञ्जालको व्यवस्थित प्रयोग गर्ने गाइडलाइन विपरीत फेसबुक, ट्वीटर, यु–ट्युव, टिकटक लगायतमा पोष्ट, सेयर, ट्याग, कमेन्ट, लिंक सेयर, ट्वीट तथा रि–ट्वीट नगर्ने भनी पटकपटक जानकारी गराउँदासमेत हालसम्म पनि केही प्रहरी कर्मचारीले प्रहरी पोशाक प्रयोग गरी कार्यालय, व्यारेक, कार्यकक्ष लगायत क्षेत्रमा यस्ता क्रियाकलाप गरेकाले यस महाशाखाको गम्भीर ध्यानाकर्षण भएको छ ।
गाइडलाइन विपरीतको कार्यमा संलग्न कर्मचारी उपर हदैसम्मको विभागीय कारबाही गर्न÷गराउन निर्देशानुसार अनुरोध गरिएको छ’ जारी निर्देशनमा भनिएको छ । पटकपटक परिपत्र गर्दा पनि प्रहरी कर्मचारीले फेसबुकमा भिडियो पोष्ट गर्ने, टिकटक बनाउने ट्वीटरमा जथाभाबी कमेन्ट गर्ने लगायतका कार्यहरू गरेपछि पदबाटै निलम्बन गर्ने चेतावनी दिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएपी चिरिञ्जीवि दाहालले बताए ।
सामाजिक सञ्जालको बढ्ँदो प्रयोगसँगै फेसबुक, टिकटकमा जथाभावी भिडियो राख्ने, अपशब्द बोलेर कमेन्ट गर्ने क्रम बढिरहेको छ । सो गतिविधिलाई रोक्न सरकारले केही कदम चाल्ने कोशिस गरेपनि सामाजिक सञ्जालको दुरुपयोग भने झनै बढेको छ । (दिपा भण्डारी)
आजको सन्देश जनप्रिय साप्ताहिकले समाचार प्रकाशन गरेको छ ।