किराना पसल सञ्चालकमा कोरोना देखिएपछि छपकैयामा त्रास

शनिबार कोरोना भाइरसको संक्रमण पुष्टि भएका वीरगञ्जको छपकैयाका ६२ वर्षीय पुरुष किराना पसल सञ्चालक रहेको खुलेको छ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर ३ छपकैया निवासी संक्रमित ती पुरुष यसअघि कोरोना संक्रमण पुष्टि भएका छपकैयाकै एकै परिवारका १८ जनाको सम्पर्कमा आएको पाइएको छ।

नारायणी अस्पतालका मेडिकलका सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले ती ६२ वर्षीय पुरुष र यसअघि संक्रमण पुष्टि भएकाहरुको घर नजिकै रहेको खुल्न आएको जानकारी दिए।

‘६२ वर्षिय संक्रमित पुरुष यसअघि संक्रमित भेटिएका एकै परिवारका १८ जनाको सम्पर्कमा आएको व्यक्ति भएको खुलेको छ’, मेसु उपाध्यायले भने, ‘उनी त्यहीँ पसल सञ्चालन गर्दै आएको पनि खुलेको छ।’

उपाध्यायले किराना पसल सञ्चालकमा नै संक्रमणको पुष्टि भएपछि अब भने कन्टयाक्ट ट्रेसिङ तथा परीक्षणको दायरा बढाउनु पर्ने बताए।

किराना पसलमा धेरै मानिसहरु आवतजावत हुने भएकाले अहिलेसम्म संक्रमितको घर परिवारको मात्रै कन्टयाक्ट ट्रेसिङ गरी परीक्षण गर्दै आएको भएपनि अब भने छपकैयाका अरु सर्वसाधारणहरुलाई पनि परीक्षणको दायरामा ल्याउनु पर्ने डा. उपाध्यायको भनाइ छ।

छपकैयामा स्वास्थ्य मन्त्रालयका स्वास्थ्यकर्मी, सामाजिक विकाश मन्त्रालयका स्वास्थ्यकर्मी, स्थानीय स्वास्थ्यकर्मी लगायतको टोलीले कन्टयाक्ट ट्रेसिङको आधारमा स्वाब संकलन गर्ने कार्य गरिरहेको छ।

६२ वर्षिय पुरुषलाई संक्रमण भएको पुष्टि भएसँगै महानगरको वडा नम्बर ३ छपकैया टोलमै मात्र संक्रमितको संख्या २१ पुगेको छ।

संक्रमितमध्ये एक जना ४ महिने शिशु पनि छन्। उनीहरु सबैलाई नारायणी अस्पतालको आइसोलेसनमा राखिएको छ।