अस्पतालमा उपचारको क्रममा गर्भवती महिलाको मृृत्यु भएपछि पिडित पक्षले अस्पतालमा गरेको आन्दोलनले स्थिति तनाबग्रस्त बनेको छ । उनीहरुले डाक्टरको लापरबाहीका कारणले गर्भवती महिलाले ज्यान गुमाउनु परेको भन्दै मध्यरातसम्म आन्दोलन चर्काएका थिए ।
सिन्धुलीको कमलामाई नगरपालिका ५ को गंगा गुरूङ श्रेष्ठको मृत्यु भएपछि सिन्धुली अस्पतालमा तोडफोड भएको हो भने डाक्टर र चिकित्सकहरुलाई स्थानीय प्रशासनले संरक्षण गरेर राखेको छ । डाक्टरले गलत ओेैषधि पर्योग गर्दा गर्भवती महिलाको मृत्यु भएको आफन्तजनले दाबी गरेका छन् । मृतक महिलालाई सिन्धुली अस्पतालमा उपचारका लागि ल्याइएको र अन्तिम अबस्थामा डाक्टरले भेन्टिलेटरमा राखेर उपचार गर्नु पर्ने भन्दै ढिलो गरेर वर्दिवास रेफर गरिएको थियो । बर्दिवास लैजाने क्रममा विरामीको बाटोमा नै मृत्यु भएको आफन्तजनले सन्देश जनप्रियलाई बताए ।
मृतक गर्भवती उपचारको लागि विहान १० वजे आफैं हिडेर नैं सिन्धुली अस्पलाल आएको मृतकका श्रीमान् लोकबहादुर श्रेष्ठले बुधवारसाँझ सन्देश जनप्रियसँग भने । सिन्धुली अस्पतालका डाक्टरले गलत ओैषधि (ईन्जेक्सन) दिएकोले मृत्यु भएको वर्दिवासका डाक्टरले वताएको मृतकको श्रीमान् लोकबहादुरको आक्रोस थियो ।
आक्रोसित समूहले अस्पतालको झ्यालका सिसाहरु फुटाउनुका साथै उपचारमा संलग्न डाक्टर र स्वास्थ्यकर्मीमाथि कारबाहीको मागगर्दै प्रदर्शन गरेका थिए । आन्दोलनकारीको आक्रमणमा परेर एक जना प्रहरी घाइते भएकाछन् ।
चरम लापरबाहीका कारणले मृत्यु भएको बताएका आन्दोलनकारीले शान्तिनगर चोक र अस्पतालको मुुल गेटलमा टायर बालेर विपी राजमार्ग बन्द गरिरहेका छन् । लापरवाही गर्ने डाक्टरलाई कार्वाही, मृतकका आफन्तलाई उचित क्षतिपुर्तीको माग गर्दै आन्दोलन गरिरहेकाहरुमाथि राती दश बजेपछि प्रहरीले बल प्रयोग गरेर लखेटेको थियो । प्रहरीको बल प्रयोगपछि बन्द राजमार्ग पनि सुचारु भएको छ । आक्रोसित समूहले सिन्धुली अस्पतालको झ्याल तोडफोड गरेको फोटोहरु सामाजिक सञ्जालमा भाइरहल बनिरहेका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी चिरिञ्जीवी दाहालले अस्पताल सुरक्षाकर्मीको नियन्त्रणमा रहेको र त्यहाँ रहेका बिरामीहरु सुरक्षित रहेको जानकारी दिए । उनले भने अब अस्पताल भित्र कुनै पनि समस्या छैन, निर्धक्क भएर स्वास्थ्यकर्मीले विरामीको उपचार गरिरहेकाछन् ।
पिडित पक्ष र सिन्धुली अस्पतालका अध्यक्ष सतिष ढकालवीच जिल्ला प्रहरी कार्यालयमा वार्ता भईरहेको बताइएपनि मध्यरातमा के सहमति भयो भन्ने बिबरण खुलेको छैन ।
स्मरणीयछः गत महिना मात्रै मरिण गाउँपालिकाकी एक सुत्केरी महिलाको पनि अस्पतालको लापरबाहीकै कारणले निधन भएपछि प्रसुती कक्ष तोडफोडको प्रयास भएको थियो । पछि नावालकलाई मरिण गाउँपालिकाले लालन पालन र माध्यमिक शिक्षासम्मको जिम्मेवारी लिने जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा सहमति बनेपति आक्रोसित आफन्तजनहरु चुप लागेका थिए ।
यता अस्पताल प्रशासनले बद्दो जनदबाब थेग्न नसकेपछि आज बुधवारबाट अस्पतालको आकश्मिक उपचार सेवा बन्द गर्ने तयारी गरेको छ । संभवत बुधवार बिहान बन्द गरिएको सम्बन्धी सूचना टाँस गरिने अस्पताल प्रशासनले सन्देश जनप्रियलाई बताएको छ ।-जनप्रिय साप्ताहिकबाट साभार










