पत्रकार महासंघ सिन्धुलीले सार्वजनिक जग्गा दुरूपयोग गर्योः नगरप्रमुख उपेन्द्रकुमार पोखरेल

नेपाली काँग्रेस सम्बद्ध सञ्चार संगठन प्रेस यूनियन सिन्धुलीले सर्वसम्मत रुपमा जिल्ला अध्यक्ष चयन गर्न सकेन । जिल्ला अध्यक्षका लागि बर्तमा बरुण लामिछाने, पुष्कर थापा र अनिल भण्डारीले आफ्नो दावी नछोडेपछि सर्वसम्मत रुपमा अध्यक्ष चयन हुन नसकेको हो । अध्यक्ष चयनमैं सकस भएपछि महासंघका पूर्व सभापति राजकुमार कार्की, श्यामहरी अधिकारी र बाबुराम देवकोटासहितको तीन सदस्यीय टोली गठन गरेर एक जनालाई सर्वसम्मत अध्यक्ष बनाउने प्रयास गरिने बताइएको छ । सो टोलीले भन्दा बढी जिल्ला पार्टी सभापति उपेन्द्रकुमार पोखरेलले चाहेको व्यक्ति मात्रै प्रेस यूनियन सिन्धुलीको सभापति बन्ने निश्चित छ । निकटस्थहरुका अनुसार लामिछाने, भण्डारी र थापा मध्ये एक जना अध्यक्ष बन्नेछन् ।
यसैबीच यूनियनको जिल्ला अधिवेशनलाई सम्बोधनगर्दै सभापति पोख्रेलले लोकतन्त्रको मेरुडण्ड सञ्चार जगत भएको वताए । सातौं जिल्ला अधिवेशनमा सम्बोधनगर्दै उनले लोकतन्त्रको विकास र संरक्षण सञ्चार क्षेत्रको विकासबाट मात्र सम्भव हुने दाबी गरे ।
युनियन सिन्धुलीका अध्यक्ष यम चौलागाईको अध्यक्षता तथा मेयर पोख्रेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा मेयर पोख्रेलले साना लगानिका स्वरोजगारमुलक सञ्चार संस्थाको संरक्षण र सञ्चारकर्मीको क्षमता विकासको लागि स्थानीय सरकार सहकार्य गर्न तयार रहेको प्रतिवद्धता व्यक्त गरेका थिए ।
पोख्रेलले नेपाल पत्रकार महासंघ सिन्धुली कार्यालयको जग्गा देखि अन्य केहि गैरसरकारी संस्थाहरुले सार्वजनिक सम्पत्ति दुरुपयोग गरिरहेकाले कमलामाई नगरपालिकाले नियन्त्रण गर्ने बताए । मेयर पोख्रेलले सर्वजनिक सम्पत्ति संरक्षणको लागि कमलामाई नगरपालिका सक्षम रहेको उद्घोष गरे ।
कार्यक्रममा प्रेस युनियका केन्द्रिय सदस्य कपिल कोईराला, नेपाल पत्रकार महासंघ बागमती प्रदेश सचिव राजन गाउँले, नेपाल पत्रकार महासंघ सिन्धुलीका सभापति कृष्णहरि घिमिरे लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा नगरप्रमुख पोखरेलले पत्रकार महासंघ सिन्धुलीलगायत केही संस्थाले सार्वजनिक जग्गा हिनामिना गरेको भन्दै आक्रोस् पोखेपछि उपस्थित महासंघका पूर्व अध्यक्ष तथा पदाधिकारीहरु चकित परेका थिए ।-सन्देश जनप्रिय साप्ताहिकबाट साभार