विरगञ्जः इलाका प्रहरी कार्यालय पोखरियाले नगरपालिका वडा नं. ४ सत्वरियाबाट शुक्रवार बिहान ४ बजे ८१ क्वीन्टर गहुँसहित एक ट्याक्टर बरामद गरेको छ । भारतको कठियामथियाबाट नेपालको सबैठावा नाकाहुँदै अबैध रुपमा ल्याइएको गहुँसहितको ट्याक्टरलाई प्रहरीले चेकजाँचका क्रममा नियन्त्रणमा लिएको हो । भारतले गहुँ निकासीमा रोक लगाएपछि सिमावर्ती विरगञ्जमा प्रति क्वीन्ट १ हजार रुपैयाँको मुल्य अन्तर हुँदा पर्सामा प्रहरीको आँखा छलेर गहुँ नेपाल ल्याइने गरेको विवरणहरु बाहिर आएको हो ।
इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरिक्षक मोहन विक्रम केसीका अनुसार ना. ३ त.२२९५ नम्बरको ट्याक्टरसहित ८० क्वीन्टल गहुँ प्रहरीले नियन्त्रणमा लिएको हो । उनले थप विवरण बुझ्न जिल्ला प्रहरी कार्यालय पर्सामा सम्पर्क राख्न आग्रह गरे ।
उक्त गहुँ कपडा व्यवसायी राजेन्द्र साह कलवारको रहेको र त्यस विषयमा थप अनुसन्धान भइरहेको र व्यवासायी कलवार अहिले उक्त गहुँ छुटाउनका लागि विभिन्न शक्ति केन्द्र धाउन थालेको समाचार स्रोतले बताएको छ ।
