समाचार प्रभावः विएलइको उत्तरपूस्तिका विद्यालय आफैंले जाँच्न पाउने हेडसरहरूको निर्णय नगरप्रमुख पोखरेलद्धारा खारेज, सबै उत्तर पूस्तिका नगर शिक्षा शाखामा ल्याउन निर्देशन !

सिन्धुली: कमलामाई नगरपालिका नगरशिक्षा समितिको बैठकले ५ गतेदेखी सञ्चालन भएको कक्षा ८ को नगरस्तरिय परिक्षाको उत्तरपूस्तिका विद्यालयको विषय शिक्षकलेनैं जाँच्न पाउने भनि गरेको निर्णयलाई बदर गरिदिएको छ । यस सम्बन्धी समाचार सन्देश जनप्रिय साप्ताहिकले गतांकमा प्रकाशन गरेको थियो । सन्देश जनप्रिय साप्ताहिकसँगको कुराकानीमा नगरप्रमुख पोखरेलले प्रअ बैठकको निर्णय गलत भएकाले त्यसलाई खारेज गरिदिने बताउनु भएको थियो । निर्णयको प्रतिलिपीसहित समाचार प्रकाशन पछि खैलाबैला मच्चिएको थियो ।
नगरप्रमुख उपेन्द्रकुमार पोखरेलको अध्यक्षतामा बसेको शिक्षा समितिको बैठकले सामुदायिक विद्यालयको शिक्षालाई धरासायी बनाउनेगरी दुई साता अगाडि नगरपालिकामा रहेका माध्यमिक विद्यालयमा कार्यरत प्रधानाध्यापकहरुको बैठकले आफ्नो विद्यालयको कापी आफैंले जाँच्न पाउने सम्बन्धी गरेको लिखित निर्णयलाई खारेज गरिदिएको हो ।
नगरशिक्षा अधिकारी शंकरराज लुईटेलले मंगलवार साँझ सन्देश जनप्रियसँग कुराकानीगर्दै नगर प्रमुखकै प्रस्तावमा प्रअ बैठकले गरेको निर्णय खारेज भएको बताए । त्यस बेलाको बैठकको निर्णयनैं गलत थियो, मैंले बैठकमा त्यसो नगरौं है साथीहरु भन्दा उहाँहरु मान्नु भएन अहिले सही निर्णय भएको छ, उनले भने । नगरप्रमुख पोखरेलले भने सामुदायिक विद्यालयको शिक्षालाई धरासायी बनाउने उदेश्यले गरिएका कुनै पनि निर्णयहरु आफुलाई मान्य नहुने बताए । उनले भनेः सामुदायिक विद्यालयमा गुणस्तरिय शिक्षा प्रदान गर्ने सन्दर्भमा कुनै संझौता हुन्न । नगरशिक्षाले गएको चैत्र १९ गते विद्यालयहरुलाई परिक्षाको समय तालिका पठाउँदै दिउँसो १ बजेबाट एकै साथ मर्यादित रुपमा परिक्षा सञ्चालन गर्न भनेको थियो ।

अघिल्लो समाचारः हेडसरबाटै परिक्षामा बेथितीको सुरूवात १ नगरप्रमुख पोखरेल भन्नुहुन्छः निर्णय गलत छ, विएलइको उत्तरपुस्तिका विद्यालय आफैंले जाँच्न मिल्दैन

संवाददाता -२४ फाल्गुन २०७९, बुधबार ००:४७

कमलामाई नगरपालिकाको शिक्षा शाखाले सबैलाई चकित बनाउने अनौठो निर्णय गरेको छ । गत साता नगरभित्रका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुको बैठकले आगामी चैत ५ गतेदेखी सञ्चालन हुने भनिएको कक्षा ८ को नगरस्तरिय परिक्षाको उत्तरपूस्तिका (कापी) विद्यालय आफैंले जाँच्ने र नम्बर मात्रै नगर शिक्षा कार्यालयमा पठाउने बेथितीपूर्ण निर्णय गरेपछि शिक्षा क्षेत्रमा लागेकाहरु आश्चर्य चकित बनेका छन् ।
तत्कालिन नगरप्रमुख खड्गवहादुर खत्रीले नगरभित्रको शिक्षामा एक रुपता कायम गराउने उदेश्यले कक्षा ८ को (वेसिक लेवल एक्जामिनेशन) विएलई परिक्षाको प्रश्नपत्र एकै किसिमको बनाउँदै परिक्षाको उत्तरपुस्तिका नगरशिक्षालेनैं जाँच गरेर नतिजा प्रकाशनगर्दै आएको थियो । त्यस बेला शिक्षा कार्यालयले उत्तरपूस्तिका जाँच गर्न खटाएका शिक्षकलाई प्रतिकापी दश रुपैयाँ दिइएको थियो ।
यस वर्ष सोही प्रयोजनका लागि नगरपालिकाले एउटा कापी जाँच गरेवापत करसहित १५ रुपैयाँ दिन बजेट बिनियोजन गरेपनि केही प्रधानाध्यापकहरुको स्वार्थका कारणले उत्तरपूस्तिका जाँच गर्ने र शिक्षामा एक रुपता कायम गर्ने विगतको कामबाट कमलामाई नगरपालिको शिक्षा शाखा पछाडि हटेको छ ।
बैठकमा केही प्रधानाध्यापकले आफ्नो विद्यार्थीहरुको कापी हामी आफैंले जाँच्न पाउनु पर्छ, नगरशिक्षाले हामी पठाएको नम्बर राखेर लब्धाङ्कपत्र मात्रै बनाए हुन्छ भन्ने प्रस्ताव राखेपछि बैठकमा केही बेर सन्नाटा छाएको थियो । त्यसलाई दुई सामुदायिक विद्यालयका प्रअले समर्थन गरेपनि अन्य विद्यालयका प्रअले स्वीकारेका थिएनन् । तर निजी विद्यालयका सञ्चालकले विद्यार्थीहरुमा पनि मनोबैज्ञानिक असरपर्छ, कापी विद्यालय आफैंले जाच्न पाउनुपर्छ भनेपछि सबै चुपचाप लागेका थिए ।
प्रअको बैठकमा सहभागी हुन आउनु भएका एक सामुदायिक विद्यालयका प्रधानाध्यापकका अनुसार कक्षा ८ को सबै विषयको कोर्ष सकिएकै छैन, यस्तो अबस्थामा कसरी परिक्षामा विद्यार्थीहरु सहभागि हुन्छन् ? विद्यालयमा पठाउन जाने समयमा बैठक बोलाइन्छ, कम्तिमा ४ बजेपछि बैठक बोलाए विद्यालयको पठन पाठन त प्रभावित हुने थिएन ।
ती प्रधानाध्यापकका अनुसार विद्यार्थीहरुलाई अझ उत्सुक र अनुभवी बनाउन कक्षा ८ को परिक्षा फरक फरक विद्यालयमा सञ्चालन गरिनु पर्दथ्यो । त्यसले उनीहरुमा पढ्नै पर्ने रहेछ भन्ने कुराको भावना जागृत गराउँथ्यो तर अहिले त आफ्नो विद्यालयको कापी आफैंले जाँच्न पाउने भनेपछि त नगरस्तरिय परिक्षानैं मान्न सकिएन नि ? आफ्नो विद्यालयको कापी आँफैंले जाँच्ने र आफैंले नम्बर दिएर पठाउने भएपछि नगरस्तरिय परिक्षा भनेर डम्फु बजाउनैं परेन नि ? उनले प्रश्न गरेका छन् ।
अझ रमाईलो कुरा त यदी प्रअ बैठकले गरेको निर्णय कार्यान्वयन भएमा नगरशिक्षा शाखाको काम विद्यालयले पठाएको नम्बरहरु लव्धाङ्क पत्रमा चढाउने, प्रिन्ट गर्ने र हस्ताक्षर गरेर विद्यालयलाई बुझाउने भन्दा फरक नभएको शिक्षा शाखाकै एक अधिकारी स्वीकार गर्छन् ।

नगरप्रमुख उपेन्द्रकुमार पोखरेल भन्नुहुन्छः निर्णय गलत छ, विएलइको उत्तरपुस्तिका विद्यालय आफैंले जाँच्न मिल्दैन

यसैबीच कमलामाई नगरपालिकाका नगरप्रमुख उपेन्द्रकुमार पोखरेलले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर खस्काउनेगरी कुनै पनि काम कारबाही अगाडि नबढाइने बताउनुभएको छ । हिजो साँझ सन्देश जनप्रियसँगको कुराकानीका क्रममा उहाँले सो कुरा बताउनु भएको हो । आउँदो चैत ५ गते हुने कक्षा ८ को नगरस्तरिय बेसिक लेवलको परिक्षाको उत्तरपुस्तिका सम्बन्धित विद्यालयका शिक्षकलेनैं जाँच्ने भन्ने कुरा आफुले भर्खरै मात्र थाहा पाएको र त्यो निर्णय कार्यान्वयन गर्न नसकिने पोखरेलको भनाई छ । आफ्नो विद्यार्थीको काम आफैंले जाँच्ने कार्य हुनै सक्तैन, त्यसले विद्यार्थीको गुणस्तर मापन गर्न सकिंदैन, विगतमा जे जे निर्णय भएका छन् ती निर्णयहरु त्रुटिपूर्ण हो, त्यसलाई नगर शिक्षा समितिको बैठकले करेक्सन गर्नेछ, पोखरेलले अगाडि भन्नुभयो ।
सामुदायिक विद्यालयको शिक्षा अब्बल हुनुपर्छ भन्ने कुरामा आफु दृढ रहेको बताउँदै उहाँले अगाडि भन्नुभयोः विद्यालय र शिक्षकको गुणस्तर बढाउन नगरपालिकाले सक्दो सहयोग गरिरहेको छ, यस्तो अबस्थामा सामुदायिक विद्यालयनैं कमजोर बनाउने भन्ने कुरा कल्पना गर्न पनि सकिन्न ।