मानिसको जीवन अस्थायी हो, हामीले प्राप्त गरेका पदहरु करार हो र कामहरु स्थायी हो । मानीसहरु यो सर्बोपरी सत्य किन बुझ्दैनन र स्वीकार्दैनन् ? सदैब ब्यक्तिगत स्वार्थमा मात्र, किन यति धेरै मानिस लालायित भएका होलान् ? कहिले काहीं त सामाजिक स्वार्थको पनि ख्याल गर्दा केही बिग्रने त होइन होला ? हामीले नैं हो यो देश बनाउने । विदेशी आएर हाम्रो देश बनाउँदैनन् । हाम्रो गाउँ, पालिका र जिल्ला बनाउन राजधानीबाट अरु कोही आउँदैनन् हामी नंै हौं भन्ने हेक्का राखेको पनि कहिल्यै देखिएन ।
अमेरिकी बैज्ञानिक अब्राहक मस्लोको एउटा भनाई छः राम्रोको पछाडि कोही जाँदैनन, खराबको पछि सबै जान्छन् । अहिले हाम्रो समाज त्यसरीनैं अगाडि बढेको छ । बिडम्बनानैं मान्नुपर्छ, सल्लाह सुझाब दिनुको सट्टा चोक चौतारो र चिया पसलमा अरुको कुरा काट्यो बस्यो । आफुपनी केही नगर्ने अरुले गरेको पनि राम्रो कामलाई राम्रो र नराम्रो लाई नराम्रो भन्न नसक्नेको जमात हिले समाजमा ह्वात्तै बढदो छ ।
हरेक नेपालीले आआफ्नो ठाउँबाट केहि गरेर देखाउन जरुरी छ । बिशेष गरेर जनप्रतिनिधिले मन वचन र कर्मले जनताका सेवामा तलिन्न भएर लाग्न जरुरी छ । जनताले जिताएर पठाएको जनप्रतिनिधि हुनाले जनताले पाउने सेबा र सुबिधा सरल र सहज तरिकाले पाउनु पर्छ ।
रक्सी बेच्नेहरु कँही धाउनु पर्दैन तर दुध बेच्नेहरु घर घर धाउनु पर्छ भन्ने
तथ्यलाई हाम्रा जनप्रतिनिधीले मनन गर्न जरुरी छ । आम जनताले जनप्रतिनिधी दुध जस्तै सफेद हुनुपर्छ भन्ने अपेक्षा जनताले गरेका हुन्छन् । जनताले खोजेको बेलामा जनप्रतिनिधि भेटिनु प¥यो । नभए फोन मार्फत भनेनी समस्या सुनाउन पाउनु प¥यो ।
समस्या पर्दा जनताको दैलोमा दुध बेच्न पुग्ने किसानझैं पुगुन् भन्ने आम अपेक्षालाई जनप्रतिनिधीले सम्वोधन गर्न सक्नुपर्छ । जनताले आफनो जनप्रतिनिधि भएको अनुभूती गर्न पाउनु प¥यो । म भन्दा माथि जनता जनार्जन छन् र त्यसपछि मात्रै आफ्नो पार्टी वा दल छ भन्ने तथ्यलाई जव स्वीकार्न सकिन्न तबसम्म सफल हुन सकिन्न । जनता नेताको वा जनप्रतिनिधीको बोलिमा होइन ब्यबहार हेर्न चाहान्छन् । काम देख्न चाहान्छन् । समाजसेवा गर्छु भन्ने मानिसले समाज वा समुदायमा आइपरेका समस्यामा साथ दिएको अनुभूति गर्न चाहान्छन् ।
पद पाउन मरिहत्ते गर्ने र पद पाएपछि काम नगर्ने अबसरबादीको जमात अहिले बढदै छ । अबसरबादी र पदलोलुपले निस्वार्थ रुपमा समाजसेवा गर्नै सक्दैन । जुन व्यक्तिले आफैलाई सुन्ने हिम्मत गर्दैन , त्यो व्यक्तिले जीवनमा बुद्धिमानी पूर्वक निर्णय लिन सक्दैन भन्ने उदाहरण नेपाली सत्ता राजनीतिमा प्रशस्त उदाहरणहरु छन् ।
राजनीतिक दलमा निष्ठावान र सैद्धान्तिक ब्यक्तिहरुको अभाब देखियो । थोर बहुत भएका लाई पनि पाखा लगाएर झुन्ड लिएर हिड्नेको बाहुल्यता बढदो छ । राजनीतिमा करारवालाहरुको चुरी फुरिले सङकट निम्त्याइरहेको छ । करारवालाहरु लाई मेरो अनुरोध छः तपाईहरु गम्भीर भएर सोच्नुहोस् देशको अबस्था कस्तो छ ? अबपनि कुरा नबुझेरर आ–आफै डम्फू बजाएर हिड्ने हो भने ठाउँमा पुगिन्न ।
हिजो पञ्चायतमा पञ्चहरु फुट, गलत कृयाकलाप, पार्टी माथिको प्रतिबन्धं र जनतामाथि गरेको थिचोमिचोको विरुद्ध राजनितीक दलहरुले आन्दोलनको नेतृत्व गरेका थिए । आज तिनै नेतृत्वकर्ताहरु सत्तामा छन् । किन उनिहरुसँग जनता सन्तुष्ट छैनन् ? आज गम्भीर प्रश्न्न यहींनेर उठेको छ । नेताहरू यो बारेमा कतिको सम्बेदनशिल हुनुभएको छ । बेलैमा जनताको भावना बुझेर यो ब्यबस्थालाई मजबुद पार्न लाग्न जरुरी छ । अन्यथा देश अस्थिरताको दिशातिर जान थालेको देखिंदैछ । यो अर्थमा नेता कार्यकर्तामा रुपान्तरण हुन जरुरी छ ।
आफ्नालाई होइन, राम्रा बिचार बोकेका कार्यकर्ता लाई अगाडि बढाऔं । देशलाई समृद्धको दिशामा अघि बढाऔं र जनता लाई निराशाबादी होइन आशाबादी बनाऔं । तबमात्र लोकतन्त्र बलियो हुनेछ । लोकतन्त्रमा जनताले बिकाश र न्यायको अनुभूती गर्न पाउनु पर्छ । नेताले कृति राख्ने काम गर्नु प¥यो । करारवाला पद लाई सहि रुपमा प्रयोग गर्नु अति उत्तम देखिन्छ । अन्यथा जनताले न्यायको अनुभूती गर्न पाउने छैनन् । यसले मौजुदा ब्यबस्था कमजोर बनाउने निश्चित छ । (लेखक खत्री कमलामाई नगरपालिका सिन्धुलीका पूर्व मेयर हुन्)










