सिन्धुली/नेकपा एमालेका केन्द्रीय सदस्य एवम् वागमती प्रदेशका पूर्व मन्त्रीसमेत रहेका सरेश नेपालले नेपालको सत्ता राजनीतिमा भारतीय हस्तक्षेप अस्वीकार्य भएको बताउनुभएको छ । प्रेस चौतारी नेपाल सिन्धुलीद्धारा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उहाँले नेकपा एमाले र माओवादी केन्द्रका बीचमा भएको सत्ता सञ्चालन सहमतिलाई देखिनेगरी छिमेकी मुलुक भारतबाट गरिएको हस्तक्षेप नेकपा एमालेका लागि अस्वीकार्य भएको बताउनु भएको हो ।
सिन्धुली एमालेद्धारा बुधवारबाट सुरु गरिएको मिशन ग्रासरुट अभियानको थालनी गर्न आइपुग्नु भएका नेता नेपालले आफ्नो देशको सरकार कसरी सञ्चालन गर्ने भन्ने अधिकार नेपाली जनता र दलमा निहित रहेको प्रष्ट पार्दै विदेशी हस्तक्षेपबाट आफु अनुकुल राष्ट्रपति र सरकार बनाउने प्रयत्न भएको बताउँदै त्यसलाई कुनै हालतमा कार्यान्वयन हुन नदिने प्रष्ट पार्नुभयो ।
पार्टी सुद्धिकरण र सुदृढीकरणका लागी मिशन ग्रासरुट अभियानको सुरुवात गरिएको बताउँदै भन्नुभयोः मिशन ग्रासरुट अभियान मुलत पार्टी सुद्धिकरण र सुदृढीकरणका लागी हो, पार्टीलाई कार्यकर्ता र जनतासँग जोड्दै सम्बन्ध सुमुधुर बनाउनका लागी थालिएको हो । अभियान अन्र्तगत बर्तमान राजनैतिक परिस्थितीको बारेमा तल सम्मका बुझाईहरुको केन्द्रिकरणका साथै जनजिविकाका मुद्धा, स्थानीय सरकारका गतिविधी र जनउत्तरदायीत्वका सवाल, सदस्यता विस्तार र नविकरण लगायतका गतिविधी हुने नेपालले बताउनुभयो ।
मिसन ग्रासरुट अभियान केन्द्रीय नेतृत्वलाई आधारभूत तहका कार्यकर्तासँग र आधारभूत तहका कार्यकर्तालाई नेतृत्वसँग जोड़ने अभियान पनि रहेको उहाँले बताउनुभयो । उहाँल अगाडि भन्नुभयोः समग्रतामा सिंगो पार्टीलाई आम जनतासंग जोड्ने अभियान हो, भविष्यमा नेकपा(एमाले)लाई बहुमत प्राप्त बलियो राष्ट्रिय शक्तिका रुपमा स्थापित गर्ने गरी पार्टीको सदस्यतालाई व्यवस्थित गर्ने अभियान हो ।
पत्रकार भेटघाट कार्यक्रममा अभियानको बारेमा आफ्नो भनाई राख्दै नेकपा(एमाले) जिल्ला अध्यक्ष कुमार बहादुर कार्की (रामकुमार)ले अभियानले पार्टीलाई नयाँ उचाईमा विकास गर्ने र जनताका मुद्धाको पहिचान र हल गर्ने उपायहरुको खोजि गर्ने बताउनुभयो ।
एमाले अध्यक्ष कार्कीले अभियानबाट पार्टी सदस्यको वास्तविक अभिलेख, पार्टी सदस्यहरुको विशिष्टकृत क्षमताको पहिचान, नयाँ पुस्तालाई पार्टीमा जोड्ने, स्थानिय तहमा पार्टी एकतावद्ध र सुदृढ गर्ने, जनसरोकारका मुद्दाहरु पहिचान गर्ने लगायतका कामहरु हुने बताउनुभयो ।
बुधवार नेकपा(एमाले) सिन्धुलीले जिल्ला कमिटी, नगर तथा गाउँपालिका कमिटीका पदाधिकारी, वडा कमिटीका अध्यक्ष तथा सचिब लगायतको उपस्थितीमा अभियान बारे अभिमुखीकरण कार्यक्रम सञ्चालन भएको कार्यालय सचिव नवराज थिङले बताउनुभयो ।
सिन्धुलीका विभिन्न स्थानीय तहमा अभियानको नेतृत्व गर्न केन्द्रिय सदस्य सरेश नेपाल, प्रभा बराल र दावा लामालाई केन्द्रिय समितिले जिम्मेवारी तोकेको छ । तर लामा भने यो समाचार तयार पार्दासम्म सिन्धुली आइपग्नुभएको छैन ।










