सिन्धुली एमालेले थाल्यो ‘मिसन ग्रासरूट’ अभियान

नेकपा एमालेले सिन्धुलीले पार्टी सुदृढीकरण तथा विस्तारका लागि फागुन १० गते बुधवार (आज) जिल्ला कमिटी बैठक डाकेसँगै औपचारिक रुपमा २ महिने ‘मिसन ग्रसरुट’ अभियान सुरु भएको छ । यस अगाडि एमालेका अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट प्रदेश तथा विशेष कमिटीहरूलाई सम्बोधन गर्दै अभियानको सुरुवात गरिसकेका थिए ।
यो अभियानमा एमालेले पार्टी सदस्यता नवीकरण, कमिटीहरूको व्यवस्थापन, प्रशिक्षण, भेला, बैठक, अन्तक्रिया र जिल्ला तथा स्थानीय तहका नेताहरुको कार्यशैली, कार्यकर्ताहरुसँगको व्यवहार, पार्टीभित्रको अन्तरविरोध बुझ्ने र त्यसलाई हल गर्नेसहितको मिसन ग्रासरुट अभियान सञ्चालन गरेको हो ।
एमाले नेता एवम् कार्यालय सचिव नवराज थिङका अनुसार सिन्धुलीमा खटिएका अभियानका तीन जना प्रतिनिधी एवम् केन्द्रीय सदस्यहरु सरेश नेपाल हिजो साँझनैं सिन्धुली आइपुगेकाछन् भने प्रभा बराल ११ बजेको पार्टी प्रशिक्षण कार्यक्रममा आइपुग्नेछिन् भने अर्का केन्द्रीय सदस्य दावा लामा केही दिनपछि अभियानमा जोडिन आइपुग्ने थाहा लागेको छ । सिन्धुली आएका नेताहरुलाई होटलमा बस्न बन्देज लगाइएको छ । पछिल्लो समय पार्टी नेताहरु सुविधाभोगी भएको र कार्यकर्ता र जनताबाट आलोचित बन्नुपरेपछि अभियानमा खटिने नेताहरुलाई कार्यकर्ताकै घरमा बस्न भनिएको पार्टी सर्कुलरमा उल्लेख गरिएको हो ।
अभियानका लागि एमालेले जिल्ला कमिटीका सदस्यहरु, जिल्ला कमिटीका सल्लाहकार, नौं वटै पालका कमिटीका पदाधिकारी तथा सदस्यहरु, वडा कमिटीका अध्यक्ष तथा सचिव, बागमती प्रदेश कमिटीका सदस्य, बागमती प्रदेश कमिटीका सल्लाहकार तथा विभिन्न विभागीय सदस्यहरुलाई अनिवार्य रुपमा बैठकमा डाकिएको सचिव थिङले सन्देश जनप्रियलाई बताए ।
उनका अनुसार पार्टीका केन्द्रीय सदस्य र सांसदहरूलाई गाउँमा केन्द्रीत भएर संगठन गर्न निर्देशनसहित ११ वटा कार्यादेश तोकेर जिम्मेवारी दिइएको छ ।
उनले पार्टीको संगठन सुदृढीकरणको दुई महिने अभियानपछि केन्द्रले पार्टी नयाँ ढंगले अघि बढ्ने विश्वास लिएको बताए ।
पार्टी केन्द्रले सिन्धुली जिल्लाको नौं स्थानीय तहका लागि भन्दै अन्य जिल्लाका केन्द्रीय सदस्यहरुलाई सिन्धुली जिल्लामा कार्यक्षेत्र बनाएर खटाएको हो । जस अनुसार दुधौली नगरपालिका, फिक्कल गाउँपालिका र तीनपाटन गाउँपालिकामा सरेश नेपाल, ध्याङलेख, हरिहरपुरगढी र मरिण गाउँपालिकामा दाबा लामा, कमलामाई नगरपालिका, गोलन्जोर र सुनकोशी गाउँपालिकामा प्रभा बराललाई जिम्मेवारी तोकेको छ । एक जिल्लाको नेतालाई अर्को जिल्लामा पठाएको संगठनको वास्तविक अबस्था र जिल्ला नेताहरुको स्थानीय नेता कार्यकर्ताहरुमा प्रभाव पनि थाहा लाग्ने केन्द्रीय सदस्य सरेश नेपालले सन्देश जनप्रियसँगको कुराकानीमा बताए ।
यता सिन्धुली जिल्लाका केन्द्रीय सदस्यहरु विषमलाल अधिकारी दनुवार, मनोजजंग थापा, कमलजंग राई र निरु दर्लामी र सुवास देवकोटालाई अन्य जिल्लामा खटाइएको छ ।
सात प्रदेशमा उपाध्यक्षको नेतृत्वमा संयोजन तथा अनुगमन टोली गठन गरेको छ । अभियानको क्रममा एमालेले केन्द्रीय नेताहरुलाई पालिकास्तरको कार्यक्रममा सञ्चालन तथा अनुगमनको लागि खटाएको हो ।
जसअनुसार प्रदेश-१ मा उपाध्यक्ष अष्टलक्ष्मी शाक्यको नेतृत्वमा सचिव टोपबहादुर रायमाझी, नेताहरु शेरधन राई, अग्निप्रसाद खरेल, राजेन्द्रप्रसाद गौतम र हिक्मत कार्कीलाई अनुमगनको जिम्मेवारी दिइएको छ ।
यसैगरी मधेस प्रदेशमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको नेतृत्वमा सचिव रघुवीर महासेठ, नेताहरु गुरुप्रसाद बराल, लालबाबु पण्डित र सीता पौडेल, वाग्मती प्रदेशमा उपाध्यक्ष सुरेन्द्र पाण्डेको नेतृत्वमा सचिव गोकणर्राज विष्ट, काशिनाथ अधिकारी, रघुजी पन्त, कृष्णगोपाल श्रेष्ठ र शेरबहादुर तामाङलाई अनुगमनको जिम्मेवारी तोकिएको छ ।
यस्तै गण्डकी प्रदेशमा उपाध्यक्ष युवराज ज्ञवालीको नेतृत्वमा सचिव पद्माकुमारी अर्याल, नेताहरु किरण गुरूङ, खगराज अधिकारी र थममाया थापा, लुम्बिनी प्रदेशमा उपाध्यक्ष रामबहादुर थापा बादलको नेतृत्वमा सचिव छविलाल विश्वकर्मा, नेताहरु भीम आचार्य, राजन भट्टराई र शिवमाया तुम्वाहाङ्फे, कणर्ाली प्रदेशमा उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको नेतृत्वमा सचिव योगेशकुमार भट्टराई, भानुभक्त ढकाल, नेताहरु यामलाल कँडेल र गोरखबहादुर बोगटीलाई अनुगमनको जिम्मेवारी तोकिएको छ ।
यसैगरी सुदूरपश्चिम प्रदेशमा उपाध्यक्ष विष्णुप्रसाद पौडेलको नेतृत्वमा सचिव लेखराज भट्ट, नेताहरु मणिचन्द्र थापा, विन्दा पाण्डे र कणर्बहादुर थापालाई अनुगमनको जिम्मेवारी तोकिएको छ ।
त्यसैगरी विशेष कमिटीहरुको अनुगमन तथा संयोजनको नेतृत्व महासचिव शंकर पोखरेल, उपमहासचिवत्रय प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरूङ, विष्णु रिमाल र केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीलाई तोकिएको छ । महासचिव पोखरेल नेतृत्वको कमिटीले फिल्डमा खटिएका नेताहरुलाई सहजिकरण गर्ने भनिएको छ ।
सिन्धुलीका नेताहरु जिल्ला बाहिर !
सिन्धुली जिल्लाबाट एमाले केन्द्रमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरु विषमलाल अधिकारी ललितपुरको महांकाल र कोन्जोस्योम गाउँपालिका, मनोजजंग थापा सिन्धुपाल्चोकको त्रिपुराशुन्दरी र सुनकोशी गाउँपालिका, गणेश पहाडी काभ्रेको महाभारत र रोशी गाउँपालिका, कमलजंग राई मकवानपुरको वागमती र बकैया गाउँपालिका, निरु दर्लामी रामेछापको मन्थली र रामेछाप नगरपालिका र सुवास देवकोटा दोलखाको बैतेश्वर, तामाकोशी र जिरी नगरपालिकामा खटिएका छन् । त्यसैगरी सिन्धुलीका अर्की केन्द्रीय सदस्य उमा कोइराला भने स्वास्थ्य समस्याका कारणले फिल्डमा नखटिएको थाहा लागेको छ ।