नेकपा एमालेले पार्टीको संगठन सुदृढीकरणका लागि सिन्धुली जिल्लामा ‘मिसन ग्रासरुट’ अभियान सञ्चालन गर्नका लागि केन्द्रीय नेताहरुलाई खटाएको छ । फागुन र चैत महिनामा सञ्चालन हुने अभियानले पार्टीको संगठनमा नयाँ ऊर्जा थप गर्ने नेताहरूको भनाई छ । गतसाता बसेको केन्द्रीय सचिवालय बैठकले फागुन र चैत महिनामा पार्टीको संगठनमा ऊर्जा थप गर्नका लागि मिसन ग्रासरुट अभियान सञ्चालन गर्ने निर्णय भएको कार्यालय सचिव नवराज थिङले जानकारी दिए । उनका अनुसार पार्टीका केन्द्रीय सदस्य र सांसदहरूलाई गाउँमा केन्द्रीत भएर संगठन गर्न निर्देशनसहित ११ वटा कार्यादेश तोकेर जिम्मेवारी दिइएको छ ।
अभियानको फागुन ५ गते सात वटै प्रदेशमा अभियानमा खटिने नेताहरूलाई अभिमुखीकरण गरेर थालनी गरिनेछ । उनले पार्टीको संगठन सुदृढीकरणको दुई महिने अभियानपछि केन्द्रले पार्टी नयाँ ढंगले अघि बढ्ने विश्वास लिएको समेत बताए ।
पार्टी केन्द्रले सिन्धुली जिल्लाको नौं स्थानीय तहका लागि भन्दै अन्य जिल्लाका केन्द्रीय सदस्यहरुलाई सिन्धुली जिल्लामा कार्यक्षेत्र बनाएर खटाएको छ । जस अनुसार दुधौली नगरपालिका, फिक्कल गाउँपालिका र तीनपाटन गाउँपालिकामा सरेश नेपाल, ध्याङलेख, हरिहरपुरगढी र मरिण गाउँपालिकामा दाबा लामा, कमलामाई नगरपालिका, गोलन्जोर र सुनकोशी गाउँपालिकामा प्रभा बराललाई जिम्मेवारी तोकेको छ । एक जिल्लाको नेतालाई अर्को जिल्लामा पठाएको संगठनको वास्तविक अबस्था र जिल्ला नेताहरुको स्थानीय नेता कार्यकर्ताहरुमा प्रभाव पनि थाहा लाग्ने एमालेको बुझाई रहेको छ ।
यता सिन्धुली जिल्लाका केन्द्रीय सदस्यहरु विषमलाल अधिकारी दनुवार, मनोजजंग थापा,कमलजंग राई, उमा कोइराला, निरु दर्लामी र सुवास देवकोटालाई अन्य जिल्लामा खटाइएको छ । यो समाचार आजको सन्देश जनप्रिय साप्ताहिकले लेखेको छ ।










