नयाँ प्रजिअलाई पत्रकारले भनेः पहिला आफ्नै कार्यालय सुधार गर्नुस्

सिन्धुली/सिन्धुलीमा सरुवा भई आउनुभएकी प्रमुख जिल्ला अधिकारी सुनिता नेपाललाई सिन्धुलीका पत्रकारले गुण दोषका आधारमा सहयोग गर्ने बताएका छन् । जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा आयोजित परिचयात्मक अन्र्तक्रियामा पत्रकारहरुले जिल्ला प्रशासन कार्यालयाटै सेवाग्राहीले सबैभन्दा बढी हैरानी व्यहोरेको बताउँदै प्रमुख जिल्ला अधिकारीलाई सहयोग गर्ने वा नगर्ने भन्ने कुरा तपाईको कामलाई हेरेपछि मात्रै भन्न सकिने प्रष्ट पारेका थिए ।
हामी जिल्ला प्रशासन कार्यालबाट दिइने सेवाहरु नागरिक मैत्री भएको देख्न चाहान्छौं, पहिला अन्यत्र होइन, आफ्नै कार्यालय नागरिक मैंत्री बनाउनुस्, पत्रकार राजकुमार कार्कीले प्रजिअ नेपाललाई भने । नागरिकता, राहदानी र राष्ट्रिय परिचयपत्र बनाउन आउने नागरिकले निकै ठूलो खर्च व्यहोर्नु परिरहेको छ र उनीहरुका लागि सिन्धुलीको एक साता बसाई निकै कष्टकर बन्दै आएको छ, हामी तपाईबाट नागरिकले चुस्त र दुरुस्त सेवा प्रदान भएको थाहा पाउन चाहिरहेका छौं, पत्रकार द्धारिका काफ्लेले भने ।
पत्रकारलाई पनि जिल्ला प्रशासन कार्यालयका कर्मचारीले बिचौलीको व्यवहार गरिरहेका छन् र उनीहरुले नागरिकलाई यो वा त्यो बहानामा दुःख दिइरहेकाछन्, काफ्लले अगाडि भनेः अरु कार्यालयमा होइन पहिला आफ्नै कार्यालय नागरिक मैत्री बनाउनुु्स् त्यसपछि तपाईलाई सहयोग गर्ने वा नगर्ने भन्ने कुरा आउने छ ।
परिचयात्मक कार्यक्रममा सहभागी भएका पत्रकारहरु कृष्ण गौतम, प्रेम दाहाल र अनिल भण्डारीले जिल्ला प्रशासनमा सेवा लिन आएका सेवाग्राहीहरूले पाएको दुःख सास्ती तथा विभिन्न प्राविधिक कमिकमजोरीका विषयहरुमा प्रजिअ नेपाल समक्ष प्रष्ट राखेका थिए ।
चिनापर्ची कार्यक्रममा भएको छलफलका क्रममा सामान्य नागरिकले नागरिकता तथा राहदानी प्राप्त गर्न ठुलो संघर्ष गर्नुपर्ने सहभागि पत्रकारले बताएका थिए ।
कर्मचारीले व्यवहार सुधार गर्नुपर्ने, कार्यालयमा मुस्कान सहितको सेवा प्रदान गर्नुपर्ने, नागरिकतामा आमाको नाम राख्न कर्मचारीले आनाकानी गरेकोमा त्यस तर्फ गम्भीर भएर सोच्नुपर्ने सुझाव पत्रकार बिमला पाण्डेले दिइन् । छलफलका क्रममा उठेका कुराहरुलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी नेपालले कानुनमा भएका कामहरु नागरिकलाई दुःख नदिई सहज रुपमा सेवा प्रदान गर्ने प्रतिवद्धता जनाइन् । सिन्धुलीमा रहुन्जेल सबैसँग समन्वय गरेर काम गर्ने र सबैले सहयोग गरिदिन समेत उनले आग्रह गरेकी थिइन् । यो समाचार सन्देश जनप्रिय साप्ताहिकले लेखेको छ ।