सुनशान प्रसुती कक्ष, विशेषज्ञ अभावमा विरामीलाई निजी क्लिनिकमा पठाइँदै !

कुनै बेला सिन्धुली अस्पतालमा विरामीले खचाखच भरिन्थे, प्रसुती कक्षमा विरामी राख्ने ठाउँ नभएर ढोका बाहिर पनि राखिन्थ्यो, तर अहिले त्यही अस्पताल र प्रसुती कक्ष सुनशान बन्न थालेको छ । गत साता मरिण गाउँपालिका ४, वासिङटारकी २९ वर्षिया सिता तामाङको प्रसुती कक्षमैं मृत्यु भएपछि मृतकका आफन्तजनले डाक्टरको लापरवाही मुख्य कारण भएको बताउँदै प्रदर्शन गरेपछि अहिले सिन्धुली अस्पतालको प्रसुती कक्ष मात्रै होइन अस्पतालनैं सुनशान बनेको देखिएको छ । आभर ब्लिडिङका कारणले ती महिलाको मृत्युपछि अस्पताल प्रशासनले प्रहरीको सहारा लिएर प्रसुती कक्ष तोडफोड हुनबाट जोगाएको थियो ।
कपिलाकोट प्राथमिक स्वास्थ्य चौकीमा उपचार संभव नभएपछि तामाङलाई जिल्ला अस्पताल सिन्धुलीमा रिफर गरिएको थियो । अस्पताल प्रशासनका अनुसार गएको माघ १८ गतेको घटनापछि अस्पतालमा डाक्टरहरु बस्नै मानिरहेका छैनन् । किनकी अस्पताल प्रशासनले आफ्नो सुरक्षा गर्छ भन्ने कुरामा डाक्टहरुमा सन्देह पैदा गराएको अस्पतालका एक अधिकारीले बताए ।
महिलाको मृत्युपछि प्रसुती वर्डामा विरामी आएकै छैनन् अहिले वार्डनैं खाली छ, प्रसुती वार्ड इन्चार्ज एलिसा थापाले भन्नुभयो । विरामी नआएको चार दिन भयो, डाक्टर दिनेश नभएकाले पनि विरामीहरु नआएको हुन सक्छ, उहाँको भनाई थियो । विरामीहरुको संख्या बढेपछि पुर्जा प्राप्तिका लागि टोकन प्रणाली लागु गरिएको सिन्धुली अस्पतालमा दरबन्दी अनुसारको डाक्टरको अभाव त छँदै थियो, त्यसमाथि पनि भएका डाक्टरहरु पनि बिदामा बसेपछि उपचारमा आउने विरामीहरुको संख्या ह्वात्तै घटेको छ ।
सिन्धुली अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट उमेश प्रधान सुत्केरी महिलाको मृत्यपछि अस्पतालमा विरामी घटेको स्वीकार्नुहुन्छ । अहिले डाक्टर पनि विदामा हुनुहुन्छ र विरामीहरु पनि पहिलाको जस्तो आउनु भएको छैन, आएका केहीलाई रिफर गरिएको छ, उहाँले सन्देश जनप्रियसँग भन्नुभयो ।
कुनै समय सिन्धुली अस्पतालको मेडिकल जाँच कक्ष र वार्डमा विरामीहरु भरिभराउ थिए, तर अहिले यही अस्पतालमा मंगलवार मध्यान्ह २ जना विरामी डाक्टरको प्रतिक्षामा बसिरहेका देखिन्थे, हेरौं फोटो । सिन्धुली अस्पतालमा एकातिर पुर्ननिर्माणका कामले लथालिङ्ग देखिएको छ भने अर्कातिर दरबन्दी अनुसारका विषेशज्ञहरु नहुँदा समस्यामा जेलिएको देखिएको छ ।
अस्पताल विकास समितिका अध्यक्ष सतिष ढकालसँग यस विषयमा बुझ्दा अस्पतालका सबै सेवाहरु सुचारु रहेको बताउनुभयो । उहाँले प्रसुतीका कन्सल्टेण्ट बिदामा भएपनि आजमात्रै (मंगलवार) तीन जनाको डेलीभरी भएको र कुनै समस्या नभएको बताउनुभयो । उहाँले अगाडि भन्नुभयोः एमडिजिपी र रेडियोलोजिष्ट मात्रै हामीसँग हुनुहुन्न अरु बाँकी सबै हुनुहुन्छ, अस्पतालमा डाक्टर छैनन् भनेर प्रचारवाजी गरियो ।
यसैबीच सिन्धुली अस्पतालमा उपचारका लागि गएका विरामीहरुलाई विषेशज्ञ डाक्टरको अभावमा भिडियो एक्सरे गराउन निजी क्लिनिकहरुमा पठाउन थालिएको छ । हामीकहाँको भिडियो एक्से मेसिनले राम्रो रिपोर्ट दिंदैन भन्दै विरामीलाई निजी क्लिनिकतिर पठाउन थालिएको महिनौं बितेको छ । यसले पनि सिन्धुली अस्पताल प्रतिको जनविश्वास घटाउँदै लगेको देखिएको छ ।

May be an image of 2 people and outdoors

– यो समाचार आजको सन्देश जनप्रिय साप्ताहिकले लेखेको छ ।