कमलामाई नगरपालिकामा बढ्दो विषादी प्रयोगसँगै मौरी पालक कृषकहरु चिन्तित बनेकाछन् । नगरपालिकाका वडा नं. ४, ५, ६ र ७ नम्बर वडामा लगाइएको कृषि उपजमा लागेको रोग किरा नियन्त्रण गर्न विषादी प्रयोग गरेपछि फुलको रसमा चर्न गएका मौरीहरु मर्न थालेपछि मौरी पालक कृषकहरु चिन्तित बनेका हुन् ।
कमलामाई नगरपालिका वडा नं. ६ का मौरी पालक कृषक रामप्रसाद दाहालका अनुसार किसानहरुले तोरीमा लागेको रोग किरा नियन्त्रण गर्नका लागि विषादी छिटेपछि मौरी पालन व्यवसायमा ठूलो क्षति पुगेको छ । दाहालसँग रहेको ३५ घार मौरीहरु विषादीका कारण मरेको र मौरी गोलामा ठूलो क्षति पुगेको उनले बताए । मौरी पालन व्यवसायलाई विषादी प्रयोगले समस्या सिर्जना गरेको बताउँदै किसानहरुलाई अग्र्यानिक उत्पादनमा जोड दिनुपर्ने दाहालको भनाई थियो । उनका अनुसार अघिल्लो वर्षको तुलनामा यस वर्ष विषादीको प्रयोग अत्याधिक बढेको मौरीहरु मरेको दृश्यले देखाएको छ ।
त्यसैगरी अर्का मौरी पालक कृषक राजन बराल पनि विषादीको प्रयोगले ठूलो संख्यामा मौरीहरु मरेको र त्यसबाट आफु चिन्तित बनेको बताएका थिए । उनले स्थानीय सेरेना जातको मौरीमा भन्दा मेलिफेरा जातको मौरीमा बढी समस्या दखिएको बताउँदै बरालले भनेः कृषि उत्पादनमा लागेको रोगकिरा नियन्त्रण गर्ने नाममा अत्याधिक रुपमा विषादीको प्रयोग बढेपछि कमलामाई नगरपालिकामा मौरी पालन व्यवसाय संकटमा पर्न सक्ने बताए ।
त्यस्तै कमलामाई नगरपालिका वडा नंं ६ मा परम्परागत रुपमा मौरी पालन गरिरहेका कृषक चन्द्र बानियाँ पनि मौरीहरु मरेको दृश्यले दुखित बनेकाछन् । बिहानको झुल्केघामसँगै फुलको थुंगाहरुमा लुकामारी खेल्न जाने मौरीहरु घरमा आइपुग्नासाथ भुईमा छटपटाउँदै मरिरहेको देख्दा निकै पिडा हुने गरेको बानियाँले बताए । उनले मरेको देखेपछि मौरी पालनमा लाग्न मननैं नभएको उनले दुःखेसो पोखे ।
त्यसैगरी कमलामाई ७ वर्देउटारका अर्का कृषक इन्द्रवहादुर विश्वकर्मा आँगनभरी मौरी मरिरहेको दृश्यले दुखित भएको बताउँछन् । वरी परिका किसानहरुलाई तोरी, तरकारी तथा फलफुलमा विषादी नछिटी दिनुहोला भन्दा पनि आफ्नो कुरालाई कसैले पनि चासो नदिएको उनको गुनासो छ ।
कमलामाई नगरपालिका कृषि शाखा प्रमुख सरोज फुयाँल विषादीको बढ्दो प्रयोगमा न्यूनिकरण नभएसम्म मौरी पालन व्यवसायमा समस्या आइरहने बताउँछन् । उनी अगाडि भन्छन्ः विगत वर्षहरुको तुलनामा किसानहरुलाई अग्र्यानिक उत्पादनमा जोड दिन थालिएको बताउँदै विषादी प्रयोगले मौरीपालन व्यवसायलाई मात्र होइन मानव जीवनमैं समस्या पर्ने कुराको प्रचार प्रसार आवश्यक भएको छ ।
फुयाँलका अनुसार कमलामाईमा किसानहरुले मौरी पालनका लागी आधुनिक घार र मह उत्पादनका आधुनिक तरिकाहरु तर्फ आकर्षित भइरहेको र मह उत्पादन पनि बढेको छ । विषादी प्रयोगले मौरीको चरन क्षेत्र नास हुँदै गएपनि मौरी पालक कृषहरु आफैंले कृषि उपज उत्पादनगरी चरन क्षेत्रको विकास गरिरहेको देखिएको छ ।
पल्लिो समय मौरीहरु सुलसुले र खवटे किराको आक्रमणमा परेको, विषादीको प्रयोग बढेपनि त्यसको रोकथामका लागि सरोकारवाला निकायबाट सहयोग नपाएको गुनासो रामप्रसाद दाहालले गरे । सेरेना जातको लोकल मौरीको महको बजारीकरणमा कुनै पनि समस्या नरहेको र माग अनुसार पु¥याउन नसकिएको उनको भनाई छ । बजारमा विभिन्न ब्राण्डका मह बिक्रीमा राखिएपनि उपभोक्ताहरु भने लोकल मह तर्फनैं आर्कर्षित भएकाले पनि किसानहरु मह उत्पादन बढाउन लागिरहेको उनको भनाई थियो ।
तोरी, फापर, सुन्तलाजात फलफुल, चिउरी, बकाइनो जस्ता बोट विरुवा रोपेको छु र मौरी पाल्छु भनेर आउने इच्छुक युवा किसानहरुका लागी ढुवानी , अनुदान , परामर्श लगायत तालिमको व्यवस्था समेत रहेको कमलामाई नगरपालिकाको कृषि शाखाले जनाएको छ । मह बच्चा देखी बुढा सम्म आयुर्वेदिक औषधी मात्र नभएर यसको सांस्कृर्तिक धार्मीक, र जन्म देखी मृत्युसम्म बहु उपयोगी हुने भएकाले महको उपयोगिता बढिरहेको देखिएको छ ।


