नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द)का पोलिव्यूरो सदस्य राजन दाहालले पार्टीमा पुरस्कार र दण्डको व्यवस्था कार्यान्वयन गर्न नसक्दा पार्टी र सरकार राम्रोसँग सञ्चालन गर्न नसकिने बताएका छन् । माओवादी सिन्धुली जिल्ला इन्चार्जसमेत रहेका दाहालले पार्टीका उपमहासचिव हरिवोल गजुरेललाई अध्यक्ष प्रचण्डले राजनैतिक सल्लाहकारमा नियुक्त गरेको केही क्षणमा सामाजिक सञ्जाल मार्फत गरेको कटाक्ष सार्वजनिक भएको हो ।
गएको संघ तथा प्रदेशसभा सदस्य निर्वाचनमा पार्टीको उमेदवारलाई पराजय गराउन भूमिका निर्वाह गरेका उपमहासचिव गजुरेललाई दण्डित गर्नुको साटो पार्टी अध्यक्ष प्रचण्डले राजनैतिक सल्लाहकार नियुक्त गरेर पुरस्कृत गरेको निश्कर्षसहित नेता दाहालले माओवादी पार्टीमा दण्ड र पुरस्कारको व्यवस्थालाई कार्यान्वयन नगर्दा पार्टीनैं कमजोर बनिरहेको निश्कर्ष निकालेका छन् । उनले सामाजिक सञ्जालमा यसरी लेखेकाछन्ः ‘पुरस्कार र दण्डको व्यवस्थालाई व्यवहारिक रुपमा कार्यान्वयन नगर्दासम्म न पार्टी निर्माण गर्न सकिन्छ न सरकार सञ्चालन गर्न सकिन्छ ।’
यस अगाडि नेता गजुरेलले एक टेलिभिजन अन्र्तवार्तामा प्रतिनिधिसभा सदस्य दाहालको चर्को आलोचनागर्दै देखाइदिने बताएका थिए । तर उनले के देखाइदिने भन्ने केही पनि बताएका थिएनन् ।
उनले अगाडि लेखेकाछन्ः पार्टीभित्र दण्ड र पुरस्कारको व्यवस्थालाई कार्यान्वयन नगर्दा न वित्तीय अनुशासन कायम गर्न सकिन्छ न सुशासन प्रदान गर्न सकिन्छ न भ्रष्टाचार नियन्त्रण गर्न सकिन्छ न पारदर्शी नेतृत्व प्रदान गर्न सकिन्छ । नेता गजुरेललाई पुरस्कृत गरिएको निश्कर्षसहित दाहालले अगाडि लेखेकाछन्ः अनुशासनको जगमा मात्र सबैखाले अराजकतामाथि नियन्त्रण गर्न सकिन्छ ।
राजधानी काठमाडौ बसेर नेता दाहालको आलोचनामैं समय खर्चेका गजुरेलले गतहप्ता प्रधानमन्त्री प्रचण्डको राजनैतिक सल्लाहकार नबन्ने उद्घोष गरेका थिए तर गजुरेलको नियुक्ती प्रकरणले उनको द्धैध चरित्र उदांगो भएको माओवादी कार्यकर्ताहरुनैं बताउन थालेकाछन् । यो समाचार आजको सन्देश जनप्रियले लेखेको छ ।