हिजो गोली हानी हत्या, आज सलामी !

सोमबार दिउँसो सशस्त्र प्रहरी दिवसका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड प्रमुख अतिथि थिए । कार्यक्रम आरम्भ भएलगत्तै दिवंगत सशस्त्र प्रहरीका कर्मचारीमाथि माल्यार्पण गर्ने कार्यक्रम थियो ।
प्रधानमन्त्री प्रचण्डले स्व।सशस्त्र प्रहरी महानिरीक्षक कृष्णमोहन श्रेष्ठको सालिक छेउमा गएर सलाम ठोके । तस्बिर मिडियामा सार्वजनिक भएसँगै सोसल मिडियामा तीव्र चर्चा र परिचर्चा भइरहेको छ । हिजो माओवादीबाटै हत्या गरिएका कृष्णमोहनलाई आज सोही पार्टीका सुप्रिमोले सलाम ठोकेपछि यो सन्दर्भ उठेको हो । श्रेष्ठ माओवादी जनयुद्धमा मारिने सबैभन्दा माथिल्लो श्रेणीका सुरक्षा अधिकृत अर्थात आइजिपी थिए । उनी माओवादीबाट मारिँदा सो पार्टीका सर्वोच्च कमाण्डर प्रचण्ड नैं थिए । आज दौरासुरुवाल लगाएका प्रचण्डले श्रेष्ठको सालिकमा माल्यार्पण गर्दै स्यालुटसमेत ठोकेपछि यो तस्बीरले चर्चा पायो । माओवादी समर्थकले यो दृश्य पटक्कै मन पराएका छैनन् । तर, तटस्थ नागरिकहरुले चाहिँ प्रचण्डको यो रुपान्तरणलाई सुखद रुपमै लिएका छन् । यो दृश्यले विगतको द्वन्द्वको घाउ दुवै पक्षले बिर्सन थालेको सकारात्मक सन्देश दिएको छ ।
ललितपुरको बागडोलमा २०५९ माघ १२ गते मर्निङ वाकमा गइरहेका श्रेष्ठसहित तत्कालीन सशस्त्र प्रहरी महिला संघकी संस्थापक अध्यक्षसमेत रहेकी उनकी श्रीमती नुडुप श्रेष्ठ र श्रेष्ठका अंगरक्षक सशस्त्र प्रहरी नायब निरीक्षक सूर्यप्रसाद रेग्मीलाई माओवादी सेनाले गोली हानेर हत्या गरेका थिए । घटनाको दुई दिनपछि तत्कालीन सरकार र विद्रोही माओवादीबीच दोस्रोपटक युद्धविरामका लागि सहमति भएको थियो ।
माओवादी द्वन्द्व चर्किँदै गएको अवस्थामा दरबारले सेना परिचालनमा सहयोग नगरेपछि सेना र नेपाल प्रहरीबाट केही जनशक्ति ल्याएर २०५७ सालमा तत्कालीन सरकारले सशस्त्र प्रहरी बल गठन गरेको थियो । त्यसबेला बलको उद्देश्य माओवादी द्वन्द्वलाई निस्तेज पार्ने नैं थियो ।
आफ्नै पार्टीको सेनाले मारेको व्यक्तिलाई अहिले सलाम गर्ने कुरा सामान्य भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ । सचिवालयका प्रमुख स्वकीय सचिव रमेश मल्लले हिजो के थियो भन्नु भन्दा पनि अहिले के छ भन्ने विषय प्रमुख रहेको बताएका थिए ।
सरकार प्रमुख भइसकेपछि जुनसुकै पक्षबाट मारिएको भए पनि त्यो सहिद नै हो र ती सहिदलाई सम्मान गर्नुपर्छ । पूर्वसशस्त्र प्रहरी महानिरीक्षक एक पात्रमात्रै हो । उहाँ पनि १० वर्षे द्वन्द्वमा नै मारिएको र सहिद नैं भएकाले उनलाई प्रधानमन्त्रीले सम्मान गर्नु र सलाम गर्नुलाई अस्वाभाविक रुपमा लिन जरुरी छैन ।
माओवादीले भने जस्तो नयाँ जनवादी गणतन्त्रमा भने देश पुगिनसकेको उल्लेख गर्दै मल्लले भनेः माओवादीले भने जस्तो नयाँ जनवादी गणतन्त्रमा हामी पुगिसकेको अवस्था होइन । राजतन्त्र फलिएकोमात्रै हो ।
राजनीतिक विश्लेषक मुमाराम खनाल भन्छन्ः ‘प्रचण्डले कसैको सालिकमा गएर ढोग्नु वा सलाम गर्नु नौलो होइन । माओवादी सत्ता कब्जा गरेर भन्दा पनि नेपाली सेनासँग लड्न नसक्ने भएपछि आत्मसमर्पण गरेर आएकाले उनीहरुको नियन्त्रणमा अहिले केही पनि छैन । दौरा सुरुवाल त राष्ट्रपति भण्डारीले लगाउन भनेपछि प्रचण्डले लगाउनुभयो भनेपछि आफैं सोच्नुस् ।’
माओवादी १० वर्षे जनयुद्ध समाप्त गरेर संसदीय व्यवस्थामा विलीन भएकाले उसलाई नेपाली मिडियाले अझै पनि सत्ता कब्जा गरेको जस्तो देखिरहनु गलत भएको उनको टिप्पणी छ । रवि खड्का