मरिणमा ल्होछारको थप १ दिन बिदा

सिन्धुलीको मरिण गाउँपालिकामा तामाङ समुदायको सोनाम ल्होछारको अवसरमा थप १ दिन बिदा दिएको छ ।  ल्होछारको मुख्य दिन ८ गते केन्द्र सरकारले सार्वजनिक बिदा दिएको छ भने मरिणले सोमबार ९ गते थप बिदा दिएको हो । तामाङ समुदायको प्रमुख पर्व सोनाम ल्होछारको उपलक्ष्यमा स्थानीय बिदा दिने निर्णय भएको हो ।

‘संवत् २०७९ साल माघ ९ गते सोमबारका दिन तामाङ समुदायको प्रमुख पर्व सोनाम ल्होसारको उपलक्ष्यमा स्थानीय बिदा दिने मरिण गाउँ कार्यपालिकाको बैठकबाट मिति २०७९/१०/०६ मा निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ,’ सूचनामा भनिएको छ ।

यस्तै कमलामाई नगरमा तामाङ ल्होछारको माघ ८ र ९ गते सार्वजनिक बिदा दिइएको छ  । सोनाम ल्होछार पर्व यस वर्ष मञ्जुश्री सम्वत् २८५९ “ह्योयी / तावार ल्हो” (विरालो वर्ष) हो । तामाङहरुले मान्ने ल्होछार चन्द्र पात्रोको पहिलो महिनाको पहिलो दिन अर्थात् प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदादेखि सुरु हुन्छ । ‘ल्हो’को अर्थ साल, वर्ष र ‘छार’को अर्थ नयाँ अर्थात् नयाँ वर्ष भन्ने हुन्छ ।

विभिन्न पशुपंक्षीहरुको नामबाट १२ वटा ‘ल्हो’को नाम राखिएको हुन्छ । प्रत्येक वर्ष फेरिने दिनलाई समुदायले ल्हो पोबा/दोबा वा ल्होछार भनिन्छ । यस वर्ष ल्होछारको मुख्य दिन माघ ८ गते सोनाम ल्होछारको अवसरमा केन्द्र सरकारले पनि सार्वजनिक बिदा दिएको छ ।