नेकपा एमालेका स्थायी कमिटि सदस्य शेरबहादुर तामाङले नेपालमा एमाले मात्रै कम्युािष्टहरुको केन्द्र बन्ने बताएकाछन् । उनले जनताको बहुदलीय जनवादको जगमा उभिएको नेकपा एमाले र यसले लिएको राजनैतिक लाइन र आदर्शले नेपाली कम्युनिष्ट आन्दोलनको मूलप्रवाहका रुपमा स्थापित भइसकेको बताए । उनले अगाडि भनेः अब नेपाली कम्युनिष्ट आन्दोलनको केन्द्र नेकपा एमालेनैं हो, अरु कुनै हुन सक्तैन, किनकी त्यो कुरा गएको स्थानीय तथा संघीय एवम् प्रतिनिधीसभा सदस्य निर्वाचनलेसमेत पुष्टि गरिसकेको छ ।
माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालमा एउटै कम्युनिष्ट केन्द्र आवश्यक भएको बताएका बेला एमाले नेता तामाङले अन्य कुनै नामको कम्युनिष्ट केन्द्र होइन, एमालेनैं अब नेपाली कम्युनिष्ट आन्दोलनको केन्द्र भइसकेकाले त्यसैमा समाहित हुनका लागि ढोका खुला राखेको बताएका थिए ।
प्रेस चौतारी नेपाल सिन्धुलीद्धारा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले राजनीतिक दललाई कुनै पद चाहिए बालकोटको बार्दलीमा आउन सुझाव दिए ।
हिजो केपी ओलीलाई बालुवाटारबाट बालकोटको बार्दलीमा पु¥यायौं भन्नेहरूलाई आज त्यही बार्दलीमा नआई पद नमिलेको बताउँदै चाहेको पद लिन च्याखे थापेर बस्नु भन्दा पनि बार्दलीमा आउन नेपाली कांग्रेसका नेताहरुलाई सुझाव दिएका हुन् ।
तामाङले अगाडि भनेका छन्ः नेकपा एमालेको सेरोफेरोमा यो देशको राजनीति अडिएको बताउँदै दुई तिहाइको गठबन्धन गरेर चुनावमा गएका राजनीतिक दलहरूले पाएको मतले सरकार गठन गर्न नसक्नु भनेको नैतिक आधार गुमाई सकेको अवस्था थियो । तसर्थ नेकपा एमालेले तत्कालै छ महिनामा मध्यावधिमा जानु भन्दा एउटा स्थिर सरकार गठन गरेर जाँदा देश र जनताका लागि भलाई हुन्छ भनेरै प्रचण्ड नेतृत्वमा सर्वपक्षीय सरकार निर्माणमा पहल गरेको हो ।
सरकार गठनका सवालमा भएका सहमति अनुसार राज्यका प्रमुख पदका पदहरू कसले जिम्मेवारी लिने भन्ने अनुसार नै हुने र सोही अनुसार प्रक्रियाहरू अघि बढिरहेको उनको दाबी थियो ।
एमाले जनताले रुचाएको पार्टी भएको भनी मत परिणाम बाट प्रस्ट देखाएको बताउँदै, सबै दल फेरी पनि एकजुट भए नेकपा एमाले एक्लै यो देशको विकास र समृद्धिको पक्षमा सतिसाल झैँ उभिने समेत दाबी गरे ।
कार्यक्रममा एमाले बाग्मती प्रदेश कमिटी सदस्य खड्गवहादुर खत्री, बिनोद खड्का, बाग्मती प्रदेशसभा सदस्य सुकुमायाँ तामाङ एमाले सिन्धुलीका उपाध्यक्ष कर्ण घिसिङ, बुद्धकुमार आछामी र प्रेस चौतारीका केन्द्रीय सदस्य प्रेम दाहालले उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन प्रेस चौतारी सिन्धुलीका अध्यक्ष बिनय दाहालले गरेका थिए ।