राष्ट्रिय गौरवको आयोजना सुनकोसी–मरिण डाइभर्सनको सुरुङ खन्ने काम तीब्र गतिमा अगाडि बढेको देखिएको छ । आयोजनाका अनुसार दुई महिनाको अवधिमा ३ हजार मिटर भन्दा बढी खनिसकिएको छ । गएको असोज २८ गतेबाट खन्न सुरु गरिएको यो आयोजनाको निर्माण कार्यको गति नेपालको अन्य राष्ट्रिय आयोजना भन्दै निकै अगाडि रहेको देखिएको छ ।
आयोजनाका अनुसार टनेल बोरिङ मेसिनबाट सुरुङ खन्न सुरु गरिएको उक्त योजनामा दुई महिना भित्रै ३ हजार मिटर भन्दा बढी सुरुङ खनिएको थाहा लागेको छ ।
सुनकोसी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाका प्रमुख मित्र बरालका अनुसार १३ दशमलब तीन किलोमिटर लामो सुरुङ कमलामाई नगरपालिका–२ कुसुमटारबाट खन्न सुरु गरिएको हो ।
सुरुङ निर्माणका लागि ठेक्का पाएको चिनियाँ कम्पनी चाइना ओभरसिज इन्जिनियरिङ (कोभेक)ले टनेल बोरिङ मेसिनबाट एक महिनामा पाँच सय मिटर सुरुङ खन्ने लक्ष्य राखेको भएपनि अहिलेसम्मको काम गराईलाई हेर्दा आफुहरु निकै उत्साहित भएको र लक्ष्य भन्दा प्रगति बढेको उनको भनाइ छ ।
प्रति महिना पाँच सय मिटर सुरुङ खन्ने आयोजनाको लक्ष्य हो, आयोजना प्रमुख बरालले भनेः अहिलेसम्म भौगर्भिक समस्या नआएकाले लक्ष्यभन्दा बढी काम भएको छ, हामी कामप्रति उत्साहित भएका छौं । उनी अगाडि थप्छन्ः कामको गति भौगर्भिक समस्यामा निर्भर हुने गर्छ ,किनकी विगतका सिकाइले पनि त्यही कुरा देखाएको छ ।
बरालका अनुसार चुरे पहाड र महाभारतको संगमस्थलमा पुगेपछि भौगर्भिक समस्या आउन सक्ने तर्फ हामी जानकार छौं, अहिलेकै रफ्तारमा काम भए महिनामा ७ सय मिटरसम्म सुरुङ खन्न सकिने भएकाले निर्धारित लक्ष्य भन्दा २२ महिना अगाडिनैं निर्माण सम्पन्न हुने अनुमान गरिएको छ ।
अहिले दैनिक सामान्यतः १८ मिटर देखी ३८ मिटरसम्म टनेल बोरिङ मेसिनले सुरुङ खनिरहेको छ । मेसिनले १३ दशमलब तीन किलोमिटर सुरुङ खनेपछि सुनकोसी गाउँपालिकाको कानढुंग्री नजिक सुनकोसी नदीमा पुगिने छ ।
यो तामाकोसी र सुनकोसी नदीको संगमस्थल त्रिवेणी भन्दा सात सय मिटर तल पर्ने आयोजनाको भनाई छ । पानी बग्ने ५ दशमलब ५ डायमिटर रहने गरी अहिले ६ दशमबल ६ डायमिटरको सुरुङ मेसिनले खनि रहेको आयोजनाले जानकारी दिएको छ ।
सुरुङ खन्न मात्रै कोभेकले करिब ११ अर्ब रुपयाँमा ठेक्का पाएको थियो । टीबीएमले आठ–आठ घण्टाका दरले तीन सिफ्टमा गरी चौबिसै घण्टा सुरुङ खन्ने काम गरिरहेको स्थलगत रिपोर्टिङ्का क्रममा देखिएको छ । आयोजना प्रमुख बरालका अनुसार गोलन्जोर गाउँपालिकाको खुर्कोट स्थित सुनकोसी नदीमा १२ मिटर उचाइको बाँध निर्माण गरी सुरुङ मार्फत प्रतिसेकेण्ड ६७ क्युसेक पानी कमलामाई नगरपालिका–२ कुसुमटार स्थित मरिणखोलामा खसाल्ने लक्ष्य राखेको छ ।
त्यहाँ ६६ मिटर हेटेडबाट पानी झारेर ३१ दशमलब ०७ मेघावाट विद्युत उत्पादन गरिनेछ । आयोजनाको कुल लागत करिब ४६ अर्ब रहने अनुमान गरिएको छ । आयोजनाको मुख्य उद्देश्य विद्युत उत्पादनसँगै तराइका बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषा जिल्लाका करिव एक लाख २२ हजार हेक्टर क्षेत्रमा सिँचाइ सुविधा पु¥याउने रहेको शिलान्यास कार्यक्रममा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गर्नुभएको थियो ।
बाह्रै महिना सिँचाइ सुविधा पुगेमा वार्षिक २६ अर्ब रुपैयाँ बराबरको कृषि उत्पादन बढ्ने र आयोजना अन्तर्गत उत्पादन हुने बिजुलीबाट वार्षिक एक अर्ब ५५ करोड आम्दानी हुने लक्ष्य नेपाल सरकारले लिएको छ ।
तत्कालिन नेकपा नेतृत्वको सरकारका प्रधानन्त्री ओलीले शिलान्यास गरेको राष्ट्रिय गौरवको आयोजनाको निर्माण गति बढेसँगै सम्मृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकांक्षा साकार हुन समय नलाग्ने एमाले नेता केशव देवकोटाले बताए । उनी अगाडि भन्छन्ः राष्ट्रिय गौरवको आयोजनालाई सफल बनाए मात्रै सिन्धुलीको मात्र नभएर यस क्षेत्रको विकासले नयाँ गति लिनेछ ।

खानेपानी समस्या समाधान गर्छौं: आयोजना प्रमुख मित्र बराल

कुसुमटारमा सुरुङ खन्ने क्रममा खानेपानीको मुहानमा पानी सुकेपछि त्यहाँका स्थानीय वासिन्दाले भोग्दै आएको समस्या आयोजनाका तर्फबाट समाधान गरिदिने आयोजना प्रमुख मित्र बरालले बताएका छन् ।
गताङ्कमा सन्देश जनप्रिय साप्ताहिकले कुसुमटारमा खानेपानीको हाहाकार भन्दै समाचार प्रकाशन गरेपछि आयोजना प्रमुख बरालले आयोजनाको सामाजिक दायित्व अन्र्तगत कुसुमटारमा देखिएको खानेपानी समस्या समाधान गर्न आफुहरु तयार रहेको र त्यसका लागि स्थानीय वासिन्दासँग छलफल भइसकेको बताए । उनले सुरुङ खन्ने क्रममा पानी निस्किएको र त्यस कारणले गाउँको मुहानमा पानी घटेको बताउँदै उनले अगाडि भनेकाछन्ः हामी कुसुमटार आयोजना स्थलका स्थानीय वासिन्दालाई खानेपानी समस्या हुन दिन्नौं ।



पवन राउत/कुसुमटार