नेपालको राजनीतिमा यो पाँच बर्ष अघिल्लो पुस्ताको लागि निकै चुनौतीपूर्ण बन्ने देखिएकोछ । किनकि तीन वटा ठूला दलका शिर्ष नेताहरुको उमेरले नेटो काट्दै छ । यहि अबधीमा उहाँहरुको सही ब्यबस्थापन हुन पनि त्यत्तिकै जरुरी छ । उहाँहरुले देशलाई सहि ढंगले सञ्चालन गरेर सुखी नेपाली र समृद्ध नेपालको राष्ट्रिय आकांक्षालाई पुरा गराउनका लागि स्पष्ट कार्यान्वयनकर्ता गर्नुपर्दछ । नत्र उहाँहरुले देश र जनताका लागि गरेको योगदान वा यस अगाडी जनताबाट पाएको मान सम्मानमा चित्त बुझाएर बस्नु पर्ने निश्चित छ ।
अबको केही समय पछि उहाँहरुले नयाँ दोस्रो लेयर वा नयाँ पुस्ताका नेता कार्यकर्ताहरुलाई सल्लाह सुझाब दिएर बस्दा राम्रो हुन्छ । अब देशको बारेमा दोस्रो पुस्ताले देश विकासको स्पष्ट दृष्टिकोण र जनमुखी एजेन्डासहित अघि बढ्न पर्छ
गएको निर्वाचनमा आफुलाई युवा भन्नेहरु उदाए । उनीहरुप्रति मतदाताले विश्वास गरेको पनि देखियो । तर उनीहरुको ठोस योजना के हो ? कहाँबाट कामको थालनी सुरु गर्ने ? जनताका बीचमा देश विकासको स्पष्ट मार्गचित्र के हो ? उनीहरुको एजेन्डाहरु के के हुन् भन्ने बारेमा जनमानसमा जानकारी गराएर अघि बढनु पर्दथ्यो तर ती कामहरु गरेको देखिएन ।
युवा पुस्तामा मतदाताको अपेक्षा र चासो स्वाभाबिक बढेको देखियो । नेपालीमा एउटा उखान निकै लोकप्रियछः ‘कुराले चिउरा भिज्दैन, चिउरा भिजाउन कि दूध कि दहि चाहिन्छ’ । हो एजेन्डा बिना देशको समृद्धि हुँदैन, मतदाताको महत्वकांक्षाहरु पुरा पनि हुँदैनन् प्रतिनिधीसभा र प्रदेशसभा पुगेका नयाँ अनुहार हेर्ने हो भने उल्लेखित उखान चरितार्थ हुने देखिन्छ । अहिलेको मौजुदा राजनैतिक अबस्थाले जनताको बीचमा चुलिएको बढ्दो निराशालाई आशामा बदल्ने अबस्था आउँदैन । अहिलेकै अबस्थामा स्पष्ट एजेण्डा बिना निर्वाचन जितेका वा मन्त्री बन्न पुगेकाहरुबाट पुरा हुँदैनन् भन्ने यो कुरा जनताले पनि राम्ररी बुझेको हनुपर्छ ।
अबका युबाले देशको अबस्था अनुसारको एजेन्डा लिएर आउन जरुरी छ । पहिलो पुस्ताले यो आफैले ल्याएको यो परिवर्तन आफ्नो पालामै कमजोर बनाउने तिर लाग्नु हुन्न । नेतृत्व त्यो हुन्छ जस्ले असल उत्तराधिकारी तयार पारेर हस्तान्तरण वा पुस्तानतरण गर्ने क्षमता राख्दछ ।
यो पाँच बर्षमा देशलाई स्थायी रुप दिंदै संविधानको सफल कार्यान्वयनगर्दै दोस्रो पुस्तालाई सहज र सरल ढंगले नेतृत्व हस्तान्तरण गरेर सहि ढंगले मुलुकको राजकीय सत्ता चलाउन सुझाब दिदै सक्रिय पार्टी राजनीतिबाट विश्राम लिंदा राम्रो हुन्थ्यो कि ?
यो मेरो नितान्त ब्यक्तिगत बिचार हो । मेरो अघिल्लो पुस्ताप्रति अगाध सम्मान पनि छ । जसले आफ्ना अग्रजहरुलाई सम्मान गर्न जान्दैन वा इतिहास बिर्सन्छ त्यसले कहिल्यै पनि बर्गिय समाजको बनोट र अबस्था वारे बुझ्न पनि सक्तैन । किनकी अहिले भएको राजनैतिक परिवर्तन अग्रजहरुले युबा अवस्थामा बगाएको रगत पसिना बगाएर ल्याएको एजेण्डालेनैं यो परिवर्तन संभव भएको हो । यो कसैले बिर्सनु हुन्न । यसको उच्च सम्मानगर्दै, एजेण्डा सहितका युबाहरुलाई अघि बढाउनु जरुरी छ । र अबको पाँच बर्ष पछाडि, मुलुकको शासन सत्ता दोस्रो पुस्तामा सहज र सरल ढंगले जान जरुरी देखिन्छ । यसतर्फ दलका शिर्ष नेतृत्वले गंभीर भएर मनन गर्नै पर्छ । (लेखकः नेकपा एमाले सिन्धुलीका नेता हुनुहुन्छ ।)