नेपालमा कोरोना संक्रमितको संख्या ७५ पुग्यो, नेपालगन्जमा एकैदिन १५ जनामा देखियो कोरोना

आइतबार नेपालगन्जमा एकैदिन १५ जना व्यक्तिमा कोरोनाभाइरस (कोभिड १९) को संक्रमण देखिएको छ।

सुरुमा ९ जना व्यक्तिमा संक्रमण पुष्टि भएको थियो। थप ६ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। संक्रमितकाे उमेर ७ वर्षदेखि ६० वर्षसम्मकाे छ। 

योसँगै नेपालमा संक्रमितको संख्या ७५ पुगेको छ। आजै वीरगन्जका एकजना पुरुषमा पनि कोरोना संक्रमण देखिएको थियो।

डीएसपी रोडका ६० वर्षीय व्यक्तिमा कोरोना देखिएपछि उनका आसपासका व्यक्तिमा जाँच गर्दा नौ जना संक्रमित थपिएका हुन्। कोरोना संक्रमित व्यक्तिको घरपरिवार, आफन्ती र उनले पढाएका ९० जनाको स्वाब लिइएकोमा ३० जनाको रिपोर्ट आएको हो। त्यसमध्येमा नौ जनामा कोरोना पुष्टि भएको भेरी अस्पताल, नेपालगञ्जका मेडिकल सुपरीटेन्डेन्ट (मेसु) डा. प्रकाश थापाले जानकारी दिए।

संक्रमित व्यक्तिको सम्पर्कमा रहेका ६० जनाको रिपोर्ट आउन बाँकी छ। उनको सम्पर्कमा रहेका अरु केही व्यक्तिको आइतबार पनि स्वाब लिइएको छ। संक्रमित व्यक्तिको सम्पर्कमा रहेका अन्यको खोजी भइरहेको छ। १७ गते फूलबारी मस्जिदमा जाँच गर्दा ६० वर्षीयमा कोरोना देखिएपछि उनको घर, उनी जाने मस्जिद र पढाउने मस्जिदलाई सिल गरिएको छ। वडा नं. ८ को जुलाहनपुरुवामा रहेको मस्जिदमा उनी दैनिक पढाउन जाने गर्थे।

जुलाहनपुरुवा टोललाई नै सिल गरेर क्वारेन्टाइनको रुपमा प्रयोग गरिएको थियो। संक्रमितलाई खजुरास्थित आइसोलेसन कक्षमा राखिएको छ। थप नौ जनालाई पनि त्यही लैजाने तयारी भएको छ।