लकडाउन पालना र सीमामा कडाइ गर्न गृहमन्त्रीलाई प्रधानमन्त्री ओलीको निर्देशन

प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनको पालना र भारतसँगको सीमामा आवातजावत कडाइ गर्न गृह मन्त्रालयलाई निर्देशन दिएका छन्।

आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले कोरोनाभाइरसको संक्रमण रोक्न र मृत्युदर शुन्यमा झार्ने एउटै विकल्प लकडाउन भएकाले त्यसको कडाइसाथ पालना गराउन गृहमन्त्रीलाई निर्देशन दिएका हुन्।

‘अहिलेसम्म नेपालमा कोरोनाभाइरसबाट कसैको मृत्यु भएको छैन। हामीले संक्रमण शुन्यमा झार्ने पनि लकडाउन पालना गरेरै हो,’ प्रधानमन्त्री कार्यालय स्रोतले भन्यो ।

वैशाख २५ गतेपछि लकडाउनको स्वरुप बदल्ने गरी तयारी गरिरहेको छ। जिल्लाहरुमा देखिएको जोखिमका आधारमा गाढा रातो, रातो, पहेँलो र हरियो गरी चारवटा सूचकमा बाँड्ने र त्यही आधारमा क्रमश: अतिउच्च जोखिम, उच्च जोखिम, सामान्य र न्यून जोखिमयुक्त जिल्ला छुट्ट्याउनेबारे छलफल  चलिरहेको एक मन्त्रीले जानकारी दिए।

यद्यपि सरकारले तत्काललाई अन्तर्राष्ट्रिय सीमा नाका र हवाई उडान भने नखोल्ने पनि ती मन्त्रीले जानकारी दिए।

प्रधानमन्त्री ओलीले भारतसँगको सीमामा आवातजावतमा थप कडा पार्न पनि निर्देशन दिएका छन्।

‘अहिले नाकाहरू सिल गरिएको छ तर लुकिछिपी मान्छेहरू आइरहेका छन् भन्ने कुरा आएको छ। दुबै देशका समकक्षी अधिकारीहरूसँग कुरा गरेर सीमामा थप कडाइ गर्न निर्देशन दिनुभयो,’ ती मन्त्रीले भने।