गाउँपालिका राष्ट्रिय महासंघको सचिवमा फिक्कल गाउँपालिका सिन्धुलीकी अध्यक्ष पार्वती सुनुवार चयन हुनुभएको छ । काठमाडौमा जारी महासंघको तेस्रो राष्ट्रिय महाधिवेशनबाट दलीय प्रतिनिधिका आधारमा सुनुवार सचिवमा चयन हुनुभएको हो । उहाँ नेकपा एमालेबाट निर्वाचित हुनुहुन्छ ।
त्यसैगरी अध्यक्षमा नवलपरासी पूर्वको हुप्सेकोट गाउँपालिकाकी अध्यक्ष लक्ष्मी पाण्डे चयन हुनुभयो । उहाँ नेपाली कांग्रेसबाट निर्वाचित हुनुहुन्छ । उपाध्यक्ष पनि कांग्रेसबाटै चयन हुने भनिएपनि अहिलेसम्म छनोट भएको छैन । त्यसैगरी महासचिवमा भने स्याङ्जाको कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापा चयन गर्ने सहमति भएको छ । उहाँ नेकपा एमालेबाट गाउँपालिकाको अध्यक्षमा निर्वाचित हुनुभएको थियो ।
स्थानीय तहको निर्वाचनमा दोस्रो ठूलो दल बने एमालेले महासचिव, सचिव र ७ जना सदस्य पाउने सहमति बनेको जनाइएको छ ।
कोषाध्यक्ष पाएको नेकपा माओवादी केन्द्रले भने आन्तरिक सहमति नभएकाले नाम तय गर्न बाँकी रहेको छ । बाँकी सदस्यमा इलामको चुलाचुली गाउँपालिका उपाध्यक्ष दीलकुमारी लिम्बु, मोरङको केराबाी गाउँपालिका अध्यक्ष सुमन मिरिङचिङ मगर, सिरहाको भगवानपुर गाउँपालिकाका अध्यक्ष उग्रनारायण यादव, धादिङको थाक्रे गाउँपालिकाका अध्यक्ष रामकुमार आचार्य रहेका छन् ।
पाल्पाको बगनासकाली गाउँपालिकाका अध्यक्ष सरस्वती चिदी,सल्यानको कालिमाटी गाउँपालिकाका उपाध्यक्ष सनसिल्ता वली र डोटीको जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझा रहेका छन् । गत ३० वैशाखमा भएको स्थानीय तह निर्वाचनबाट जनप्रतिनिधि निर्वाचित भएपछि पहिलो पटक महाअधिवेशन भएको हो ।
यो समाचार सन्देश जनप्रिय साप्ताहिकले लेखेको छ ।











