महेन्द्रनगर/कञ्चनपुरमा नेकपा एमालेका उम्मेदवारलाई बदनाम गराउन महेन्द्रनगरको एक होटलमा ‘प्लान’ बनेको खुलासा भएको छ । चुनावी प्रतिस्पर्धामा रहेका प्रमुख दलनिकट सञ्चारकर्मीको भेलामा एमाले उम्मेदवारलाई बदनाम गर्ने प्लान बनेको बताइएको छ ।
भेलामा सहभागी एक व्यक्तिले गरेको खुलासाअनुसार एक पक्षका उम्मेदवारबाट १० लाख रुपैयाँ लिएर एमाले उम्मेदवारलाई बदनाम गराउन सञ्चारमाध्यम र सामाजिक सञ्जाल फेसबुकलाई उपयोग गर्ने ‘प्लान’ बनेको हो । विभिन्न घटनामा विवादित भूमिका निभाएका र अदालतबाट समेत दोषी ठहर भइसकेका अगुवा व्यक्तिको नेतृत्वमा त्यो प्लान बनेको र त्यसकै आधारमा निर्वाचनमा मत प्रभावित गरेर आफ्नो पक्षका उम्मेदवारलाई जिताउने रणनीति तय भएको स्रोतले जनाएको छ ।
होटलमा बनेको प्लानको मुख्य निशानामा नेकपा एमालेबाट कञ्चनपुरको ३ नम्बर निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा सदस्य उम्मेदवार निरुदेवी पाल र प्रदेशसभा सदस्य उम्मेदवार सुरेन्द्र विष्ट रहेका बताइएको छ । रणनीतिअनुसार मंसिर ४ गते नजिकिँदै जाँदा झन् आक्रामक रूपमा प्रस्तुत हुने तय गरिएको छ ।
गोप्य रूपमा प्लान बनाएर शृंखलावद्ध रूपमा प्रस्तुत हुने योजना बनाइएपनि भेलामा सहभागी व्यक्तिहरूले त्यसलाई बाहिर खुलासा गरिदिएका छन् ।
निर्वाचनको बेला कुनै उम्मेदवारलाई लक्षित गरेर भ्रामक, मिथ्य, अप्रमाणित कुरालाई उछालेर बदनाम गर्न खोज्नु निर्वाचन आचारसंहिता विपरीत हुने अधिवक्ता भोजराज पाठकले बताए । ‘निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउन सबैले आचारसंहिता पालना गर्नुपर्छ । कुनै उम्मेदवारलाई लक्षित गरेर षड्यन्त्र गर्नु उचित होइन । यसतर्फ निर्वाचन आयोग र राज्यका निकायले पनि ध्यान दिनुपर्छ,’ उनले भने, ‘चुनावका बेला अनुपयुक्त कुरा उछालेको सहजै बुझ्न सकिने भएकाले मतदाताले पनि यस्ता भ्रामक कुराबाट सचेत रहनुपर्छ ।’











